डा केसीले दिए तत्कालै अनसन थाल्ने चेतावनी

२०७५ पौष ९ सोमबार ०८:५७:०० मा प्रकाशित

चिकित्सा शिक्षामा सुधारको माग राखेर पन्ध्र पटक अनसन बसिसकेका डाक्टर गोविन्द केसीले अब आफू पुन: त्यसो गर्न तत्कालै बाध्य हुन लागेको बीबीसीलाई बताएका छन्।

आइतवार संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिमा शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) लाई चिकित्सा शिक्षा आयोगबाट बाहिर राख्ने वा नराख्ने भन्ने विषयमा छलफल चलेको थियो।

त्यहाँ शिक्षा मन्त्रालयले सीटीइभीटीलाई अलग राख्नुपर्ने धारणा राख्यो भने त्यसो गर्नु सरकार र डा गोविन्द केसीबीच भएको विगतको सहमति विपरीत हुने अन्य सदस्यहरूले बताए।

डा केसीले भने सीटीइभीटीलाई छुट्याउन खोजे आफू कुनै पनि बेला अनसन बस्न सक्ने चेतावनी दिएका छन्।

 

 के भयो छलफलमा?

आइतवार बसेको उपसमितिको बैठकमा अधिकांश विषयमा सरकार र डा गोविन्द केसीबीच भएको सम्झौता अनुरूप नै चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन सहमति जुटेको बताइएको छ।

तर प्राविधिक शिक्षा सञ्चालन गर्ने शैक्षिक निकाय शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) लाई भने अब बन्ने चिकित्सा शिक्षा आयोगबाट अलग राख्नुपर्ने धारणा शिक्षा मन्त्रालयले राखेको उपसमितिका संयोजक भैरवबहादुर सिंहले बताए।

डा केसीका अनुसार पाँच वर्ष भित्र सीटीइभीटीलाई बन्द गर्ने कुरा छ। तर विश्वविद्यालय भनेको माथिल्लो स्तर हो, अनमी जस्ता साना तालिमका कुरालाई समेट्ने सीटीइभीटीलाई छुट्याउने कि भन्ने शिक्षा मन्त्रालयको कुरा छ।

भैरवबहादुर सिंह, उपसमितिका संयोजक, शिक्षा मन्त्रालय

उनले भने, "डा केसीका अनुसार पाँच वर्ष भित्र सीटीइभीटीलाई बन्द गर्ने कुरा छ। तर विश्वविद्यालय भनेको माथिल्लो स्तर हो, अनमी जस्ता साना तालिमका कुरालाई समेट्ने सीटीइभीटीलाई छुट्याउने कि भन्ने शिक्षा मन्त्रालयको कुरा छ।"

सरकार र डा केसीबीच भएको सहमति बमोजिम चिकित्सा शिक्षाको महत्त्वपूर्ण अंगका रुपमा रहेको सीटीइभीटीलाई आयोगभित्र नै राख्नुपर्नेछ।

माथेमा प्रतिवेदनमा पनि सीटीइभीटीलाई पाँच वर्षभित्र बन्द गर्ने र आयोग अन्तर्गत ल्याइने उल्लेख छ।

डा केसीलाई लाग्यो आर्थिक चलखेलको आशंका

देशभरिका झन्डै १७ सय मेडिकल कलेजहरू सीटीइभीटी सम्बन्धनको पर्खाइमा रहेको र त्यहाँनिर, उनकै शब्दमा, ठूलो आर्थिक चलखेल गर्न खोजिएको भन्दै डा. केसीले भने यसलाई नस्वीकार्ने बताए।

सीटीइभीटी पनि आयोग भित्र हुनुपर्छ। यदि त्यसो भएन भने म १७ गते कुर्दिन तुरुन्तै सत्याग्रह सुरु गर्छु।

डाक्टर गोविन्द केसी

उनले भने, "चिकित्साको गुणस्तरीय शिक्षा हुनलाई डाक्टर मात्र भएर हुँदैन। नर्स, रेडियोग्राफर, ल्याव टेष्ट गर्नेहरू, अनमी जस्ता सबै पक्षको शिक्षा गुणस्तरीय हुनु पर्छ। त्यसनिम्ति सीटीइभीटी पनि आयोग भित्र हुनुपर्छ। यदि त्यसो भएन भने म १७ गते कुर्दिन तुरुन्तै सत्याग्रह सुरु गर्छु।"

उपसमितिले सोमवार अन्तिम बैठक बोलाइ प्रतिवेदन तयार पार्ने र सोमवार नै पूर्ण समितिमा पठाउने जनाएको छ।

समयमै चिकित्सा शिक्षा विधेयक पारित नभए पुस १७ गतेबाट फेरि अनसन थाल्ने डा केसीले बताइसकेका छन्। (बीबीसी नेपाली सेवाबाट)

ताजा खबर