अब शिक्षक बन्‍न ‘फस्ट डिभिजन’ चाहिने

२०७५ पौष ८ आइतबार १५:१०:०० मा प्रकाशित

काठमाडौं । अब मुस्किल पास भएका विद्यार्थीले शिक्षक बन्न पाउने छैनन् । माध्यमिक तहको शिक्षक बन्न कम्तिमा स्नातकोत्तर तहमा ‘फस्ट डिभिजन’ वा ‘बि प्ले ग्रेड’ हुनुन पर्ने छ ।

उच्चस्तरीय शिक्षा आयोगले सरकारलाई यस्तो सुझाव दिन लागेको छ । जसअनुसार, अब कमजोर विद्यार्थीले पनि माध्यमिक तहको शिक्षक हुन पाउने छैन ।

पाँच महिना अघि सरकारले आयोग गठन गरेको थियो । आयोगले मस्यौदा प्रतिवेदन तयार गरिसकेको छ । त्यसमाथि थप सुझाव लिन बिहीबार र शुक्रबार बुढानिलकण्ठ स्कुलमा कार्यक्रमको आयोजना गरेको थियो ।

त्यहाँ प्रस्तुत मस्यौदा अनुसार, तीक्ष्ण बुद्धि भएका विद्यार्थीलाई शिक्षण पेशामा आकर्षित गर्नु पर्ने उल्लेख छ । त्यसका लागि स्नातकोत्तर तहमा सबै भन्दा बढी अंक ल्याएका विद्यार्थीलाई एक महिने तालिम दिएर करारमा शिक्षक नियुक्त गर्नु पर्ने पनि जनाएको छ ।

शिक्षक छनोट गर्दा लिखिन र मौखिकसँगै कक्षा प्रदर्शनलाई पनि अनिवार्य बनाउनु पर्ने, शैक्षिक योग्यता र तालिम बढाउँदा शिक्षकको तलब स्वतः बढ्ने उल्लेख छ । त्यस्तै, स्थायी शिक्षक नियुक्तिका लागि लोकसेवा आयोगसरहको राष्ट्रिय शिक्षक सेवा आयोग गठन गर्न सझुाव दिएको छ ।

शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने व्यवस्था गर्न पनि मस्यौदामा सुझाएको छ । यसैगरी विश्वविद्यालयको उपप्राध्यापकमा एमफिल र सहप्राध्यापकमा पिएचडी गरेको हुनु पर्ने उल्लेख छ ।

यसअनुसार, सरकारी कोषबाट तलब सुविधा लिने कर्मचारी, सेना, प्रहरी, जनप्रतिनिधि तथा राजनीतिक दलका नेताले पनि सन्तानलाई सरकारी स्कुलमा पढाउनु पर्ने छ ।

ताजा खबर