लोप हुँदै मौलीक   ‘बालन’ नाच

२०७४ श्रावण २० शुक्रबार ११:११:०० मा प्रकाशित

पथरी २० साउन । झण्डै एक दशकअघिसम्म गाउँघरमा नाचिने मौलीक बालन नाच आजभोली नाचिन छाडिएको छ । एक दशक अघिसम्म शुभकार्यमा दिनभर पूजापाठ गर्ने र राति बालन नाच्ने परम्परा थियो ।  तर पछिल्लो पुस्ताको बेवास्ताका कारण यो नाच ओझेलमा परेको छ । मोरङ राजघाटका पशुपति भट्टराई हिजोआज ‘बालन’ नाचको संस्कृति हराउँदै गएको बताउछन् ।   बालन नाँच्ने मानिसको समेत अभाव खड्किएको उनको  भनाइ छ । संस्कृति संवद्र्धन गर्ने युवा नै विदेशिएका छन् । उनले भने, “यहाँ भएकाहरू पनि खासै चासो राख्दैनन् । भट्टराई बालन नाचका पारखी हुन् । उनी नाच्न पनि उत्तिकै सिपालु छन् । “सिक्छु भनेर कोही आउँदैनन्, कतै नाच भयो भने हेर्ने दर्शकको समेत अभाव हुन थालेको छ,” उनले भने । 

हिन्दू ग्रन्थहरू गीता, रामायण, देवी भगवतबाट कथा झिकेर रामजीकी जय, सीताजीकी जय, कृष्णजीकी जयबाट शुरु गर्दै रातभर बालन नाच्ने गरिन्छ । चारदेखि सात जोडी समूह बनाएर झ्याली, झयाम्टा र मजुरा बजाउँदै ४२७ चरणमा नाच सकिने गर्दछ । नाचिने घरका आँगन बीचमा एक खाँबो गाडिएको हुन्छ । उक्त खाँबोलाई मालिका भनिन्छ । मालिका वरिपरि घुम्दै रामायण, गीता, देवी भागवतका श्लोकका लयमा बाजागाजासँगै नाचिन्छ । 

पप, ¥याप र रकगीतमा युवायुवतीको मोह बढ्दै गएपछि पूर्वीय शास्त्रमा आधारित धार्मिक महत्वका शुभकार्यमा नाचिने बालन नाच गुमनाम हुँदै गएको छ, जसका कारण परम्परागत नाच तथा बाजागाजा किनारा लाग्दै गएका छन् । 

खासगरी खस र आर्य सम्प्रदायमा नाचिने बालनलाई सूचना प्रविधिसँगै भित्रिएको पश्चिमा संस्कृतिले विस्थापित गराएको हो । पुराण, ग्रहशान्ति, रूद्री–चण्डी पाठजस्ता शुभकार्यमा बालन नाचिने गरिन्थ्यो । 

केही दशकअघि सम्म व्रतपूजा, जात्रामात्रा, मेलापर्वमा अत्यन्त उत्साहका साथ गाउने नाच्ने गरिने मौलिक नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा रहँदै आएको बालन हाल लोप हुन लागेको छ । 

पछिल्लो समयमा उत्सव, महोत्सव तथा विशेष समारोहमा बालनका झलक देखाइने गरे पनि पुरानो पुस्ता नरहनु र नयाँ पुस्ताले सिक्न नखोजेको वा नसिकेकाले पनि बालन लोप हुने अवस्थामा पुगेको हो ।  रासस  

ताजा खबर