‘ आकाशमा थरिथरिका यात्रु भेटिन्छन् ’

२०७४ श्रावण २० शुक्रबार ११:०२:०० मा प्रकाशित

 पहिलो शर्त पंक्चुआलिटी

बिहान ढिलोमा ५ बजे उठिसक्नुपर्छ । फ्लाइट समय साढे ६ देखि साढे ७ सम्म हुने भएकाले बेलैमा तयार भइसक्नुपर्छ । नत्र नियमित रुटिन बिथोलिन्छ । म एक बिबाहित महिला भएकाले घरको काम पनि हुन्छ नै । सातामा एकदिन पाइने विदामा घरकै काममा व्यस्त भइन्छ तर अरु दिन नियमित रुटिन अनुसार नचली हुँदैन ।

अप टू डेट

म संलग्न काममा मुख्य कुरा आफू कस्ती देखिएकी छु अनि दुरुस्त छु कि छुइन भन्ने हो । कामको प्रकृति नै यस्तै खालको छ । सधैं फिट रहनुपर्छ । विमानस्थल पुग्नासाथ केही औपचारिक प्रक्रिया पूरा गर्नुपर्छ । त्यसपछि आज उड्नुपर्ने जहाज कुन हो भन्ने जानकारी लिएर अत्यावश्यक जाँच गर्नुपर्छ । जहाजको अवस्था कस्तो छ, केही सामानहरु छुटेको छ कि, भन्ने बुझेर इन्जिनियर वा क्याप्टेनलाई खबर गर्नुपर्छ । उहाँहरुले हेरेर ठीक अवस्थामा छ भनेपछि मात्र उडाउने टुंगो हुन्छ ।

आकाशमा उडेको एक जुग

बुद्ध एयरमा काम गर्न थालेको १३ वर्ष भयो । त्यहाँ कर्मचारी माग भएको रहेछ । दरखास्त दिएँ तर छानिन्छु भन्ने टुंगो थिएन । भाग्यले जागिर पाइहालें । २००५ अप्रिल २ देखि म आकाशमा उड्न थालेकी हुँ । त्यसबेला हामीलाई एयर होस्टेज भनेर बोलाइन्थ्यो तर २०१४ देखि पर्सर भन्न थालियो ।

पहिलो उडान हिमालको

हिमालहरु चिन्नका लागि पहिला म माउन्टेन फ्लाइटमा उडें । पर्यटक र अरु यात्रुलाई जानकारी दिन यो कुरा आफैंले जान्नु आवश्यक थियो । मेरो पहिलो जागिर र पहिलो फ्लाइट माउन्टेन फ्लाइटबाटै शुरु भएको हो । काठमाडौंबाट हिमाल देखाउने भनेर सगरमाथासम्मको यात्रा नै मेरो पहिलो उडान थियो । २५ हजार फिटको उचाईमा क्रुट गर्छौ भनिएको थियो । त्यतिबेला एकजना सिनियर स्टाफ पनि बस्नुहुन्थ्यो हामीजस्ता नयाँलाई सिकाउन । कसरी काम गर्ने, के–के हेर्ने, यात्रुलाई कसरी देखाउने भनेर सिकाउनुहुन्थ्यो ।

पहिलो उडानको अनुभव

मलाई पहिलोपटक प्लेन चड्दा नौलो लागेको थियो । के होला कस्तो होला भन्ने खुल्दुली भएको थियो । पहिलो पल्ट जहाज टेक अफ गर्दा चाहिँ मलाई मुटु फुलेको जस्तो महसुस भएको थियो । अलि डर पनि लागेको थियो । तर आफ्नो रुचिको काम भएर होला बिस्तारै डर कम हुँदै गयो । आखिर डराएर पनि त भएन । १० दिन जति माउन्टेन फ्लाइटमा उडेपछि अलि अनुभव भयो । यात्रुलाई गाइड गर्न सक्ने भयौं ।

अनि  भद्रपुर

त्यसपछि हामीलाई सेक्टर अनुसार फ्लाइटमा उडाइयो । सेक्टर फ्लाइटमा म पहिला भद्रपुर उडें ।

यसरी दिन बित्दै जाँदा अनुभव हुँदै गयो । भद्रपुरपछि नेपालगञ्जका लागि उडें । म एक्लैले यात्रुहरुसँग डिल गर्नुपर्ने थियो । म एक्लैले क्याबिन सम्हालेको पहिलो यात्रा नेपालगञ्जकै फ्लाइटमा हो । नेपालगञ्ज उड्दा यात्रुहरुको रेखदेखका कुराहरु सिकाइएको थियो । हाम्रो पेसामा यात्रुको सेवा महत्वपूर्ण हुन्छ ।

चिसो बाँड्नै भुलेछु

यसमा एउटा रमाइलो खाले घटना भएको छ । मेरो जिम्मेवारी यात्रुहरुलाई चिसो पेय  बाँड्नु पर्ने थियो । म यात्रुहरुलाई चिसो बाँड्ने कतिखेर होला भनेर पर्खिरहेँ । केही समयपछि क्याप्टेनले बोलाएर सोध्नुभयो । चिसो पेय दिएको छैन भनेपछि उहाँले ल्यान्डिङ गर्ने बेला भइसक्यो देऊ सबैलाई भन्नुभयो । त्यसपछि फटाफट सबैलाई दिएँ । एकजना यात्रुले मैले हतार हतारमा चिसो दिएको देखेर तिमी नयाँ हो बहिनी भनेर सोध्नु पनि भयो ! 
हामी एउटा मात्र फ्लाइटमा पर्छाैं भन्ने हुँदैन । हाम्रो कुनै पनि जिल्लामा फ्लाइट पर्नसक्छ । एकै दिनमा बिभिन्न ठाउँ परिरहेको हुन्छ । कहिले बिराटनगर पर्छ त कहिले भद्रपुर त कहिले नेपालगञ्ज । अपरेशन डिपार्टमेन्टले हाम्रो उडानको कार्यक्रम बनाउँछ । त्यही चार्टसिट अनुसार हामीले उड्ने हो । म १३ वर्षको अवधिमा सबैजसो जिल्ला पुगिसकेकी छु ।

खाजा खाने समय हुँदैन

हाम्रो खाजा खाने समय हुँदैन भन्दा पनि हुन्छ । झन् सानो १८ सिटर प्लेनमा त  बाथरुम पनि छैन । फ्लाइटको समय १५ मिनेटको मात्र हुन्छ । एउटा फ्लाइटबाट अर्को फ्लाइटमा जानको लागि १५ मिनेटको समय हुन्छ । यात्रुहरु झार्यो र फ्लाइट सफा गर्दागर्दै अरु यात्रु चढ्न आइसकेका हुन्छन् । त्यसैले बीचको समयमा खान पनि मुश्किल हुन्छ ।

हाम्रो यात्रामा कति फिटको उडान हुन्छ भन्दा पनि सेक्टर अनुसारको उचाई हुन्छ । कहिलेकाँहि त्यस्तै मौसम छ भने २१ हजार फिट उचाईसम्म पनि हुन्छ जुन धनगढीको लागि हो । नत्र अधिकतम उड्ने भनेको १६ देखि १७ हजार फिट उचाई नै हो ।

थरीथरीका यात्रु

फ्लाइटमा यात्रुहरु अनेक थरिका बिचित्र बिचित्र खालका भेटिन्छन् । सबैको बानी एउटै हँुदैन । कोही एकदमै छिटो रिसाउने हुन्छन् । कोही हाम्रो कुरा बुझ्ने हामीलाई सुन्ने खालका हुन्छन् । मेरो अनुभवमा हालसम्म त्यस्तो आश्चर्यजनक घटना त भएको छैन ।

एकजना आकाश मै बिते

तर एकपटक भद्रपुरबाट काठमाडांै आउँदा एकजना मान्छे बिमारी लिएर चढ्नुभएको थियो । बुढो मान्छे हुनुहुन्थ्यो । उहाँलाई छोरीले सम्हालिराख्नु भएको थियो । यसो झट्ट हेर्दा बिमारीको होसै नभएको जस्तो थियो । मैले क्याप्टेनलाई खबर गरें ।

प्लेन ल्यान्ड गर्नै लागेको थियो । मलाई लाग्यो उहाँ बितिसक्नु भएको थियो । हामीले केही बोल्न पनि मिल्दैन थियो । केही भएको छैन मात्र भनेका थियौं । प्लेन ल्यान्ड गरिसकेपछि उहाँलाई एम्बुलेन्समा हालेर लगियो । प्लेनबाट झार्दा पनि उहाँको सास गइसकेको जस्तो महसुस भएको थियो । यो मेरोलागि केही अनौठो अनुभव थियो । मान्छे बिमारी हुने, प्लेन उड्ने र ल्यान्ड गर्ने बेला आत्तिने जस्ता घटनाहरु भने धेरै भएका छन् । 


प्रस्तुतिः सुकृत नेपाल

ताजा खबर