कांग्रेस मास्न सिटौला पर्याप्त

२०७५ पौष ६ शुक्रबार १२:०६:०० मा प्रकाशित

कुर्सी र धन–दौलतको निजी स्वार्थका लागि देशलाई विदेशी साम्राज्यवादी शक्तिहरुको ‘१२ बुँदे’ भित्रको रणनीतिक डिजाईनमा धकेल्ने तत्वहरू अब आफै त्यसको नराम्ररी शिकार हुन थालेका छन् । राज्य एउटा जीवन प्रणाली हो र त्यसभित्र दलहरू पनि पर्छन् । राज्य प्रणालीलाई गिजोल्दा दलहरू पनि गिजोलिन्छन् भन्ने कुरा स्वयंसिद्ध तथ्य हो । यति सामान्य तथ्यलाई स्वार्थको अन्धोपनाले नदेखेझैं गर्दा विदेशी मतियार दलहरू

समानान्तर अराजक ग्याङहरूको महासंघका रुपमा परिणत भएका छन् भन्ने यथार्थता कांग्रेस–एमालेका जारी बैठकहरुले स्पष्ट देखाईरहेका छन् ।
‘१२ बुँदे समझदारी’ पछि यिनीहरूका बीचमा अवशेषका रुपमा रहेको वैचारिक भेद अन्त्य भैसकेको थियो । सबैका साझा राजनीतिक विचारहरू थिए– संघीयता, धर्म–निरपेक्षता, गणतन्त्र, समानुपातिक प्रतिनिधित्व र जन्मका आधारको नागरिकता ऐन । कसैसंग विचार नरहेपछि र सबै विदेशी एजेन्डाहरुमा एउटै ठाउँमा आएपछि दलहरू भित्र उपभोक्तावादी समानान्तर ग्याङहरू जन्मनु स्वाभाविक थियो । आज यी झुण्डमा प्रजातान्त्रिक समाजवाद, बहुदलिय जनवाद वा नयाँ जनवादका विषयमा नभएर बहस भैरहेको छ कसले कुन पदबाट राजिनामा गर्ने भन्ने कुरामा ।

‘राज्यको पुनर्संरचना’ नामको साम्राज्यवादी जालका पछाडि मूलभूत रुपमा ३ वटा अभिष्टहरू थिए । पहिलो, नेपालको इतिहासको खण्डिकरण  गर्नु । दोश्रो, नेपालको भूगोलको खण्डिकरण गर्नु र तेश्रो अभिष्ट थियो– पद्धतिको विसर्जन गर्नु । पहिलो साम्राज्यवादी अभिष्ट अन्तर्गत् यिनीहरूले पृथ्वीनारायण शाहमाथि आक्रमण गरे र नेपालको सार्वभौम अस्तित्वलार्ई विखण्डन गर्न ‘बहु–राष्ट्रिय राज्य’को मुद्दालाई प्रश्रय दिए । साम्राज्यवादको दोश्रो अभिष्टलाई पूरा गर्न संघीयता थोपरे र तेश्रो अभिष्ट पूरा गर्न राज्य प्रणालीमा ग्याङहरू सिर्जना गरे ।

विदेशी डिजाईनमा राज्य प्रणालीलाई झोलेकरण गरेर यिनीहरुले पद्धतिको विसर्जन गरे । न्याय क्षेत्र, संवैधानिक निकाय र सुरक्षा क्षेत्र लगायत सबै निजामति, संसद, टे«ड यूनियन, पेशागत क्षेत्र सबैतिर दलको आडमा नियम कानूनहरू नमान्ने समानान्तर ग्याङहरू निर्माण गरेपछि यीनैहरूको सकिने पालो आएको छ । यिनीहरूको पतनको श्रृंखला भनेको पद्धति विसर्जन गर्ने साम्राज्यवादी डिजाईनकै एउटा कडि हो । दलीय सहमतिका नाममा विदेशी ईशारामा जनमत र विधिलाई कुल्चँदै आएका अराजकतावादीहरू अब भिन्नभिन्न विदेशी सेन्टरको मैदान बनेका छन् ।

सबैका पछाडि एउटा विदेशी तत्व छ । कसैका पछाडि दूताबास, कसैका पछाडि जासुस संस्था, कसैका पछाडि एजेन्सी, कसैका पछाडि एनजिओ-आईएनजिओ छन् । विचार र विचारमा आधारित उद्देश्य नरहेपछि बाँकी रहन्छ कुर्सी र पैसाको मात । कुर्सी र पैसाका लागि देशका विरुद्ध घात गर्ने कुकर्म सिकाएपछि देख्नेहरू त्यहि आकांक्षाका पछाडि दौडन थाल्छन् । त्यहि कुआकांक्षा जगाएर विदेशीले एक अर्कालाई लडाउनका लागि पिठ्युँमा धाप मार्छ । भोगवादी मातमा विदेशीले धाप हानेपछि कसले कसलाई टेर्ने ? किन टेर्ने ? कसको के उद्देश्य छ र टेर्ने ?

मानिस कि त आत्मानुसासनमा, कि त विचारमा, कि त ठूलो व्यक्तित्वको छायाँमा संगठित भएको हुन्छ । पहिला दुईवटा विशेषताहरू कुनै पनि दलमा छैनन् । सुशील कोईरालाको मृत्यूपछि कांग्रेसमा र केपी ओलीको दोश्रो प्रधानमन्त्री कार्यकाल सुरु भएपछि एमालेमा ‘माननीय’ व्यक्तित्वको खडेरी परेको छ । पुष्पकमल र बाबुरामहरू जोकर पात्र भन्दा बढी रहेनन् । बीरगञ्जको इण्डियन महावाणिज्य दूतले खटनपटन गर्ने बिहारी ग्याङहरूको अस्तित्वको कुरै नगर्दा हुन्छ । एक÷एक महिनाको अन्तरालमा फुट्ने-जुट्ने गर्ने पञ्च र मण्डले चरित्र पनि हटेको छैन ।

कांग्रेस र एमालेभित्र संगठनात्मक एकरुपता आउन अब असंभव छ । १२ बुँदे वृत्तभित्रका अन्य झुण्डहरूले कांग्रेस र एमालेको सून्यतालाई भर्न पनि असंभव छ । यसको एउटा अर्थ हो, दलहरू आफ्नो विनास र विसर्जनको संघारमा छन् । यसको अर्को अर्थ हो, सून्यतालाई भर्नका लागि कुनै कोणबाट हुने अप्रत्यासित विद्रोह सन्निकट छ । यसको सबैभन्दा दूरगामी अर्थ हो, दलाल शक्तिहरूको पतनको गर्भबाट देशभक्ति विचारधारा र शक्तिको उदय अवश्यंभावि छ । यो समाज विकासको प्रकृया हो, उपयोगिताहिन चिजलाई नयाँले निषेध गर्ने नियम हो ।

जग चर्मराईसकेको संरचनालाई सानो झड्काले पनि धुजाधुजा बनाउँछ । संसदवादलाई आत्मसात गरेपछि माओवादी आन्दोलनलाई मास्न पुष्पकमल र बाबुराम २ जना काफी भए । कांग्रेस मास्न कृष्णप्रसाद सिटौला पर्याप्त छन् । केपी ओलीको पार्टी बहुमतका लागि बामदेव निकै ठूलो भारी भैसकेका छन् । संस्थाका रुपमा कुनै पनि दलहरु रहेनन् । प्रत्येक व्यक्ति संस्थाहरू बनिसकेका छन् । साम्राज्यवादी शक्तिले यहि गराउन खोजेका थिए । जो–जो विदेशी डिजाईनमा ‘राज्य पुनर्संरचना’ को अपराध कर्ममा लागे ती सबैको विदेशीले पुनर्संरचना गर्दैछन् ।

विचारशून्य कसैलाई यो कुरा विरोध मात्र जस्तो लाग्न सक्छ । जसले यस्तो कुरा सोंच्दथे, तिनीहरू उत्तानो परिसकेका छन् , तिनीहरू पूरै बकबास गर्ने मात्र हुन् भन्ने तथ्य साबित भैसकेको छ । दुईतिहाई बहुमतको सरकार पाएर पनि ‘राष्ट्रिय सहमतिको सरकार नबनेसम्म काम हुँदैन’ भन्नेहरू जस्तो निम्नस्तरको बेकम्मा अरु को हुन्छ ? यो त यिनीहरूको चाकमा हावा भर्ने विधाताहरूको सिठ्ठी हो । विधाताहरूबाट पहिले नै ‘भाग्य’ निर्धारण गरिएका यस्ता बुख्याँचाबाट ‘देश बन्छ’ भन्ने सपना देख्नु नै नेपालीहरूको ‘भाग्य’मा परेको बिडम्बनापूर्ण दूर्भाग्य हो ।

सच्चाई जति तितो भए पनि सामना गर्ने पर्छ । नेपालको विघटन गर्ने विदेशी योजनामा काम गर्नेहरू सग्लो रहन सक्दैनन् । यिनीहरू सग्लो रहँदासम्म पद्धति पूर्ण रुपमा विसर्जन हुँदैन । पद्धति पूर्ण रुपमा विसर्जन नभएसम्म गृहयुद्ध हुँदैन । गृहयुद्ध नभएसम्म नेपाललाई असफल राज्य घोषित गर्न सकिंदैन र असफल राज्य नबनाईंदासम्म नेपालमा बहु–राष्ट्रिय सेना ल्याउने वातावरण बन्दैन । प्रकाश खबर (prakashkhabar.com) मा भरत दाहालले विश्लेषण गर्दै लेखेका छन्- असफल राज्यको मिशनमा काम गर्नेहरू चाहिं सफल रहने ? यो मतिभ्रष्टहरूको सपना हो । कांग्रेस र एमालेको बैठकमा देखापरेको प्रहसन यसै रणनीतिको परिणाम हो । 

ताजा खबर