‘न्याय किनबेचको बिषय होइन’ 

२०७५ पौष ६ शुक्रबार ११:१८:०० मा प्रकाशित

 काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले आज बिहान न्यायालयको वर्तमान अवस्थाबारे फेसबूकमा चोटिलो टिप्पणी गरेका छन् । न्यायालयको स्वतन्त्रता र विधिको शासनका पक्षमा निर्भिकतापूर्वक बोल्दै लेख्दै आएका आचार्यको यो संक्षिप्त टिप्पणी पनि आजको न्यायालयमा कार्यरत व्यक्तित्वहरु र कानून व्यवसायीका लागि मननीय देखिन्छ । 

आचार्यले लेखेका टिप्पणी जस्ताको तस्तै– ‘आज पनि अखबारमा न्यायलयका बारेमा समाचारहरु छन् । सन्दर्भ प्रधानन्यायाधीशको नियुक्तिको पनि छ। कुरा उठे जस्तै न्यायालय अति नै समस्याग्रस्त भई सकेको छ । आचारसंहितामा बस्न चाहने कानून ब्यवसायीलाई इजलासमा बहस गर्न, अझै पनि इमानमा अडेका न्यायाधीशलाई अर्को सहकर्मीसँग इजलासमा सँगै बस्न र राजनीतिक शक्ति वा कुनै पहुँच नहुने सेवाग्राहीले सहज रुपमा न्याय पाउन मुस्किल हुने अवस्था सिर्जना भइसकेको छ । विशेष अदालतदेखि मुलुकका सबै तहका अदालतहरुको यो साझा चरित्र हो ।

बिचौलियाहरुले जस्तोसुकै कसरत गरे पनि सम्बन्धित न्यायाधीशको इच्छा बिपरित र अदालतको मुख्य ब्यक्ति एवम् न्याय परिषदका पदाधिकारीको सम्लनताबिना अदालतभित्र कुनै पनि प्रकारको  malpractice  संभब छैन । तर, बिडम्बना न्यायालय सम्पूर्ण रूपमा बेथितिले गाँजिएको छ । अत्यन्त गौरवमय इतिहास बोकेको नेपाली न्यायालयको आजको हालत कल्पनासम्म पनि गर्न नसकिने कुरा हो । मुलुकको न्यायालय, लोकतन्त्र, विधिको शासन र आफ्नै सन्ततिको भविष्यप्रति हामीलाई अलिकति पनि हेक्का र माया छ भने यसबारेमा खुलेर बहस गर्न अब ढिला गर्नु हुँदैन । न्याय किनबेचको बिषय होइन र हुनै सक्दैन । न्याय न्यायाधीशको सनक वा निगाहको बिषय पनि होइन, यो ब्यक्तिको संविधान प्रदत्त अधिकार र हक हो । निष्पक्ष सुनुवाइ उसको प्राकृतिक हक हो ।’
 

ताजा खबर