‘हन्बेर्नो’ मा शरणार्थीहरुको संघर्ष–गाथा

२०७४ जेठ ३१ बुधबार २१:४७:०० मा प्रकाशित

काठमाण्डौ, २८ जेठ । दिनेशकुमार कार्कीद्वारा लिखित उपन्यास ‘हन्बेर्नो’ हिजो शनिवार राजधानीमा विमोचन गरिएको छ ।
भुटानी शरणार्थीहरुको जीवन–संघर्षमा आधारित उपन्यासको पत्रकार तथा लेखक किशोर नेपाल, आख्यानकारद्वय कृष्ण धरावासी, उमा सुवेदी र कवि केशव आचार्यले संयुक्त रुपमा विमोचन गरे ।
पुस्तकमाथि टिप्पणी गर्दै लेखक किशोर नेपालले भुटान र नेपालकै लागि घाँडो भएका भुटानी शरणार्थीहरुको जीवन मिहिन रुपमा उपन्यासमा आएको बताए । ‘परित्यक्त बनेका शरणार्थीहरुको बिजोगको कथा उपन्यासमा सजीव भएर आएको छ,’ उनले भने, ‘भाषाशैली सरल बनेकाले उपन्यास सबैका लागि पठनीय बनेको छ ।’
आख्यानकार धरावासीले इतिहास, समाज, सूचना र तथ्यको एकमुष्ट प्याकेजका रुपमा उपन्यास आएको भनाइ राखे । आफ्नो उपन्यास ‘शरणार्थी’को प्रसंग जोड्दै उनले भने, ‘मैले त शरणार्थीहरुको झलकमात्र दिएको छु, हन्बेर्नोमा सबै कुरा आएका छन् । भुटानी शरणार्थीमाथि अब पुस्तक नलेखे पनि हुन्छ ।’
लीला लेखनको प्रभाव देखिएको बताउँदै धरावासीले हरेक पात्रमा नायकत्व देखिएको भनाइ राखे । ‘यहाँ धेरै यथार्थ पात्रहरु आएका छन्,’ उनले थपे, ‘उनीहरुको भोगाइ र कहानी त छ नै, समग्रमा शरणार्थीहरुको औपन्यासिक दस्तावेजको रुपमा नेपाली साहित्यले महत्त्वपूर्ण किताब पाएको छ ।’
उपन्यासको भाषाले आफूलाई तानेको बताउँदै अर्की वक्ता उमा सुवेदीले लेखकको पहिलो उपन्यास नै परिष्कृत रुपमा आएको बताइन् । पात्रको जीवन्त चित्रण र कारुणिक कथाले आफ्नो आँखा रसाएको भन्दै उनले थपिन्, ‘म थोरै रुने महिलामध्ये एक हुँ । उपन्यास छिचोल्न गाह्रो भयो, धेरैपटक मेरा आँखाका कोस रसाए ।’ आफू शरणार्थी नभए पनि शरणार्थीको यथार्थ चित्र पुस्तकमा ल्याउन सक्नु लेखकको सबल पक्ष रहेको उनले चर्चा गरिन् ।
झापाली स्रष्टा कवि केशव आचार्यले भुटानी शरणार्थीको तथ्यपरक सूचना बुझ्नका लागि पनि उपन्यासले मद्दत पु¥याउने भनाइ राखे ।
यस्तै, लेखक कार्कीले पुस्तक लेखनको पृष्ठभूमि जोड्दै झापाको शरणार्थी शिविरमा रहेका भुटानीहरुसँगको सम्पर्कले उपन्यास तयार भएको जानकारी दिए । ‘२०५४ सालतिर फुपाजूलाई खोज्न मेघालयतिर गएको थिएँ,’ उनले रचनागर्भ जोड्दै भने, ‘त्यहाँ काम गर्ने भुटानीहरुको पीडालाई नजिकबाट नियाल्ने मौका पाएँ र त्यही कथालाई जोडेर हन्बेर्नो तयार भएको हो ।’
भुटानबाट लखेटिएका र तेस्रो देश पुनर्वासको नाममा नेपाल छोड्न बाध्य शरणार्थीहरुको संघर्ष–कथा बोकेको उपन्यास इन्डिगो इन्कले प्रकाशन गरेको हो । पुस्तकको मूल्य २९९ रुपैयाँ राखिएको छ ।

ताजा खबर