निर्मलाको हत्यारा को हो ? सबै अनुसन्धान फेल !

२०७५ पौष ६ शुक्रबार ०८:३९:०० मा प्रकाशित


 काठमाडौं । प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा एकजना पनि दोषी पक्राउ गर्न असफल भएको छ । प्रधानमन्त्री,गृहमन्त्री,रक्षामन्त्री  र प्रहरी प्रमुखसम्मले घटनाका बारेमा अनेक विवादास्पद अभिव्यक्ति दिएर यो घटना झन् गञ्जागोल भएको छ । अब सरकार केही प्रहरी अधिकारीमाथि कार्बाही गरेर यसको बिट मार्ने तयारीमा रहेको देखिएको छ ।

सरकार पछिल्लो अनुसन्धान टोलीले पनि अपराधी पत्ता लाउन नसकेपछि घटना लगत्तै  अनुसन्धानमा त्रुटि गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित अनुसन्धानमा खटिएका १८ प्रहरीलाई विभागीय कारबाही गर्ने तयारीमा छ । अब यिनै प्रहरीमाथि कार्बाही गरेपछि निर्मला बलात्कार र हत्या प्रकरणमाथि पर्दा हालेर उम्कने सरकारको दाउ देखिएको छ ।

एआईजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान समितिले बुझाएको प्रतिवेदनको सिफारिसअनुसार प्रहरी प्रधान कार्यालयमातहतको कानुन विभागले उनीहरूमाथि कारबाही चलाउने तयारी गरेको छ ।

समितिले एसपी विष्ट, डीएसपीहरू अंगुर जीसी र ज्ञानबहादुर सेटठी, इन्स्पेक्टरहरू एकेन्द्र खडका, जगदीश भट्ट र गणेश सापकोटा, ४ सई, ३ हवल्दार र ५ कन्स्टेबलमाथि विभागीय कारबाही सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाइएको प्रतिवेदन कानुन शाखामा पठाइएको छ । प्रतिवेदनले दोषी ठहराएकालाई अब कानुन शाखाले विभागीय कारबाही गर्नेछ । त्यस्तै जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानमा खटिएका प्रहरीविरुद्ध परेको जाहेरी दरखास्त फौजदारी कसुरका रूपमा अघि बढ्ने र उक्त मुद्दाको सुनुवाइका क्रममा पनि यो प्रतिवेदन प्रयोग हुनेछ ।

घटनास्थलको सुरक्षा प्रबन्ध नगरिएको, प्रमाण संकलनको चेन अफ कस्टडी पूरा नगरिएको, अनुसन्धानमा कुकुर प्रयोग नगरिएको, मृतकका साथमा फेला परेको अम्बा बरामद नगरेको, मृतकको शरीरबाट सुरुवाल निकालेर धोएको जस्ता कैयौं गल्ती औंल्याइएका प्रतिवेदनमा उल्लेख छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १८, निम्बुखेडास्थित उखुबारीमा साउन १० गते निर्मलाको शव फेला परेको थियो ।

प्रतिवेदनमा घटनाको सूचना पाउनेबित्तिकै र शव फेला परेपछि पनि जिल्ला प्रहरी कार्यालयका प्रमुख घटनास्थलमा नपुगेको, जिप्रका प्रमुख दिल्लीराज विष्टले कार्यालय सञ्चालनमा समेत कैयौं त्रुटि गरेको उल्लेख छ । अपराध अनुसन्धानको तालिमै नलिएका इन्स्पेक्टर एकीन्द्र खडकालाई जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान तालिम शाखा प्रमुख बनाएको पाइएको छ ।

भदौ ४ मा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा घटनाका मुख्य अभियुक्तका रूपमा दिलीपसिंह विष्टलाई उभ्याउन हतार गरिएको प्रतिवेदनमा उल्लेख छ । पर्याप्त दसीप्रमाणबिना दिलीपसिंहलाई अभियोगी करार गर्न खोजिएको, जबर्जस्ती अपराध कबुल गराइएको, पर्याप्त प्रमाण र आधारबिनै अदालतबाट म्याद थपेर थुनामा राख्नेजस्ता कमजोरी प्रतिवेदनमा उल्लेख छ ।

भदौ ७ मा गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा गठन गरेको पाँच सदस्यीय छानबिन समितिको प्रतिवेदनमा पनि अनुसन्धानमा प्रहरीबाट अनगिन्ती गल्ती भएको औंल्याइएको थियो ।

 को हो त अभियुक्त ?

निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका एसपी र इन्स्पेक्टरको बर्खास्ती तथा १८ जनामाथि विभागीय कारबाही सिफारिसपछि पनि एउटा प्रश्न जीवितै छ– आखिर को हुन् घटनाका मुख्य अभियुक्त ? निर्मला पन्त प्रकरणको एउटा पाटो सकिए पनि दोषी पहिल्याउने र कानुनी कारबाहीको दायरामा ल्याउने पाटामा प्रहरीले सफलता हासिल गर्न सकेको छैन ।

अनुसन्धान क्रममा प्रहरीले घटनाको मुख्य अभियुक्त भन्दै स्थानीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । प्रहरीको भनाइप्रति आश्वस्त हुन नसकेका स्थानीयले निरन्तर आन्दोलन गरेपछि दिलीपसिंहको संलग्नताबारे थप अनुसन्धाको प्रक्रिया सुरु भयो । निर्मलाको भेजाइनल स्वाबबाट निकालिएको डीएनएसँग दिलीपसिंहको डीएनए नतिजा नमिलेपछि उनी निर्दोष साबित भए ।

त्यसलगत्तै प्रहरीले शंकाको घेरामा तानिएका कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण तथा भीमदत्तकै आयुष विष्टको डीएनए परीक्षण गरेको थियो तर यी तीनैको डीएनए प्रोफाइल म्याच भएन । प्रहरीका अनुसार अहिलेसम्म २४ जनाको डीएनए टेस्ट गरिए पनि दोषी पहिचान हुन सकेको छैन । मंसिर १८ मा काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरोले प्रदीप रावललाई पक्राउ गरेको थियो भने मंसिर २० मा कञ्चनपुरबाट पक्राउ परेका दुई जनालाई काठमाडौं ल्याएर बयान लिइएको थियो । यी तीनै जनाको संग्लनता पुष्टि हुन सकेको छैन ।
 

ताजा खबर