देउवा, पौडेल र सिटौलाको प्राइभेट कम्पनी हो काङ्ग्रेस ?

२०७५ पौष ५ बिहीबार २१:१८:०० मा प्रकाशित

 

देउवा , पौडेल र सिटौलाको मात्रै सेयर भएको प्राइभेट लिमिटेड कम्पनीको रूपमा मात्रै देखिएको हो काङ्ग्रेस ?

******
*****

दुई दुई जना उपसभापति,महामन्त्री र सह महामन्त्रीलाई महाधिवेशनले नै प्रतक्ष निर्वाचन गर्ने वा सभापतिको शिफारिशमा केन्द्रिय समितिले चयन गर्ने कुरामा काङ्ग्रेस भित्र चार दिन सम्म त्यत्रो ठूलो रडाको मच्चाउनु पर्ने कारण थियो ?

यस्मा पौडेलले जिते रे - के जिते छन् ?
अनि देउवा उदार भएरे ! के उदार भएरछन् !
*****
सभापतिले शिफारिश गर्ने र निर्वाचित केन्द्रिय समितिले अनुमोदन गर्ने भनेको पनि एक प्रकारको निर्वाचन नै होइन र ?
त्यसकै लागि मेची -महाकालीका महासमितिका सदस्यहरू यो जाडोमा कठ्यांग्रिन आएका रहेछन् ?

*****

विधान संसोधन भनेको सङ्गठनको एउटा प्राविधिक पक्ष मात्रै होइन र ?
त्यसले काङ्ग्रेसले , प्रजातन्त्रले, मुलुकले र जनताले वर्तमानमा सामना गरिरहेका समस्या र चुनौतीहरूको समाधानमा कुनै सहयोग पुर्याउने रहेछ ? 
मुलुकको एकता र अखण्डतामाथिको चुनौतीलाई सम्वोधन गर्ने रहेछ ?
आम काङ्ग्रेसी समर्थक, शुभेच्छुक र कार्यकर्तामा त्यसले उर्जा र उत्साह भर्ने रहेछ ?

*****
२०१६ सालको वीपीले बनाएको काङ्ग्रेसको विधानमा सभापति मात्र निर्वाचित हुन्थे र कार्यसमितिका सबै सदस्य र पदाधिकारी सभापतिले नै मनोनित गर्ने व्यवस्था थियो ! 
२०४६ साल पछाडि सम्म पनि त्यही व्यवस्था थियो - सभापतिले आफ्नो विवेक प्रयोग गरेर आवश्यकता अनुसार उपसभापति, महा मंत्री , सह महामन्त्री , कोषाध्यक्षहरू मनोनित गर्दथे I 
२०४६ पछि किसुनजीले पनि त्यसैगरी केन्द्रिय समिति गठन गर्नु भएको थियो I गिरिजाबाबु किसुनजीद्वारा मनोनित महामन्त्री हुनुहुन्थ्यो !
त्यसले काङ्ग्रेसलाई कमजोर बनाएको थियो ?
अहिले महामन्त्री, कोषाध्यक्ष लगायत अधिकांश सदस्यहरू निर्वाचित छन् , काङ्ग्रेस बलियो भएको छ ?

*****
अमेरिकामा राष्ट्रपति निर्वाचक मण्डलबाट छानिन्छन् , जनताले प्रतक्ष भोट हाल्दैनन् !
अमेरिका कमजोर छ ?
राष्ट्रपतिले आफूखुशी जो सुकैलाई मन्त्रीहरू मनोनित गर्न पाउँछन् , सांसद वा विधायक हुनुपर्दैन ! 
त्यहाँ त्यसैकारण सरकार कमजोर छ ? 
पार्टीले मंत्री चयनमा कुनै हस्तक्षेप गर्दैन, पार्टीलाई सोध्नु पर्दैन तर त्यसले अमेरिकामा पार्टी प्रणालीलाई कमजोर बनाएको छ ?

*****
"हामीलाई नेतृत्व सुम्पिनु पर्दछ भनेर दावी गर्ने युवा नेताहरू गएको चार दिन कता हराएछन ? 
देउवा र पौडेल तीन जना निर्वाचित कि मनोनित भनेर रडाको गरेर बसिरहँदा महासमितिका सदस्यहरूलाई हलमा बोलाएर उनीहरूले मुलुक, प्रजातन्त्र र पार्टीले भोगिरहेका समस्या र चुनौतीहरूबारे गहन छलफलको वातावरण निर्माण गरेर सैद्धान्तिक र वैचारिक दिशामा महासमितिलाई लैजान सकिन्नथ्यो ?

*****
१६१ सदस्यीय केन्द्रिय समिति रे !
त्यत्रो ठूलो संरचनापनि केन्द्रिय समिति हुन्छ ?

केन्द्रिय समिति भनेको जहिले पनि, जहाँ पनि बैठक बस्न सक्ने उपयुक्त सङ्ख्याको हुनुपर्दछ - बढीमा ३१-५१ वीचको !
केन्द्रिय समिति ठूलो अजंगको बनाइदियो अनि पार्टीका दुइ चार जना बसेर आफ्नो सुविधा अनुरूप लेनदेन गरेर जे मन लाग्यो त्यही गर्ने प्रयोजनको लागि मात्र हुन्छ त्यस्तो त !

*****

देउवा , पौडेल र सिटौलाको मात्रै सेयर भएको प्राइभेट लिमिटेड कम्पनीको रूपमा मात्रै देखिएको छ काङ्ग्रेस !
बाँकी सबै उनीहरूका भागमा नियुक्त कर्मचारी ! 
त्यसैले काङ्ग्रेस विधिहीन छ !
काङ्ग्रेस विचारहीन छ !
गतिहीन छ ! 
र भविष्यविहीन देखिन्छ !

(केशबप्रसाद भट्टराईको फेसबूक टिप्पणी)

ताजा खबर