अब एसइई प्रदेश सरकारले सञ्चालन गर्ने

२०७५ पौष ५ बिहीबार १५:४८:०० मा प्रकाशित

काठमाडौं, ५ पुस । अब माध्यमिक शिक्षा परीक्षा (एसइई)को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ ।

यसवर्षदेखि प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए । उनका अनुसार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले परीक्षा सञ्चालन गर्ने छ ।

‘हामीले यहाँबाट प्रश्नपत्र मात्र पठाउँछौँ, उत्तरपुस्तिकाको छपाइदेखि परीक्षा केन्द्र तोक्ने, केन्द्राध्यक्ष तोक्नेजस्ता काम प्रदेश सरकारले गर्ने छ,’ उनले भने । परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको तोकिएको परीक्षा केन्द्र नबढाइ तोक्न निर्देशन दिइएको छ ।

यसअघि नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन गर्दै आएको थियो । प्रदेश सरकारले सञ्चालन गरेको उत्तरपुस्तिका भने नियन्त्रण कार्यालयमा आउने र समपरीक्षण तथा नतिजा प्रकाशन गर्ने छ ।

सरकारले यस वर्षदेखि एसइई प्रदेशस्तरमा नै गर्ने भने तापनि आवश्यक तयारी नपुगेकाले नियन्त्रण कार्यालयलाई जिम्मेवारी दिइएको हो । यस वर्षको एसइई परीक्षा चैत १० गतेबाट हुँदैछ ।

उनका अनुसार परीक्षामा करीब चार लाख ८० हजार विद्यार्थी सहभागी हुँदैछन् । अहिले प्रश्नपत्रको काम भइरहेको जनाएको छ ।

ताजा खबर