वैंशमा ‘म’ हराए पछि !

२०७५ पौष ५ बिहीबार ११:४३:०० मा प्रकाशित

जन्मेर १० वर्षको उमेर सम्ममा बालकको रुपमा मलाई भेटेका मानिसले बुझे होलान् । त्यतिबेला पनि म भन्ने हरायो एक सानो बालक भन्नेले त्यो स्थान लिईदियो ।

१०–१५वर्षमा थोरबहुत थाहा पाउने हुँदै गर्दा पढेर एसएसली पास गर्नुपर्छ भन्ने बुझियो । त्यतिवेला पनि म भन्ने हरायो पढाई भन्नेले त्यो स्थान लिईदियो ।

१५–२०वर्षमा कलेज भर्ना हुनुपर्छ पढेर आईए, विए सबै सक्नुपर्छ र जागिर खानुपर्छ भन्ने बुझियो तर त्यति बेलानै यौवन अवस्था (बैंस) ले छुन थालिसकेको थियो । अव यो बैंसलाई कसरी सम्हाल्ने भन्नेतिर लागियो । परीक्षाको बेलामा पनि बैंस, पढ्न कितावका पाना पल्टाउँदा पनि बैंस, दिनमा पनि बैंस र रातमा पनि बैंस सम्हाल्नतिर लागियो । त्यतिबेला पनि म भन्ने हरायो र यौवन अवस्थाले त्यो स्थान लिईदियो ।

२०–३० वर्षमा विदेशमा अध्ययन गर्ने वहानामा देश छाड्ने अवसर मिल्यो र शव्दमा वर्णन गर्न नसकिने दुःख पाईयो । सायद त्यो दुःख, कष्ट, पीडा भन्ने कुरालाई शव्दले पुष्टि गर्छ जस्तो मलाई लाग्दैन । त्यतिबेला पनि म भन्ने हरायो र दुःख, कष्ट, पीडाले त्यो स्थान लिईदियो ।

२५–४० वर्षकै अवधिमा विवाह गरियो र पारिवारिक जञ्जालमा सामेल भईयो । शुरुका ती कैयन वर्षहरु विना सोचाई, घमण्ड गर्दै परिवारको मूल्य मान्यतामा मतलव गरिएन । परिवारको महत्व पनि बुझिएन तर साथिभाईले जे भन्छन् त्योनै सबैभन्दा महत्वपूर्ण कुरा हो भन्ने सोचियो, पिउनु पर्छ भन्ने बुझियो र धेरै पिईयो । यस देशमा उत्पादित अस्वभाविक रुपले महँगा रक्सीको गतिलो ग्राहक बनियो । त्यतिबेला पनि म भन्ने हरायो र पिउने बानीले त्यो स्थान लिईदियो ।

४०–४५ वर्षमा रक्तसंचारले यथास्थान छोडेछ । अस्पतालका डा’साप र औषधिको बाँचुञ्जेलका लागि नियमित ग्राहक बनियो । उतातिर परिवारका सदस्यको यौवन अवस्थाले छोईसकेको अवस्था र छुने क्रममा रहेकाको अनुहार नियालेर हेर्दा खटिनु पर्ने दिनहरु त अझै धेरैनै भएको महशुस  भयो ।

अर्कोपट्टी फर्किएर हेर्दा श्रीमती ठुस्स परिरहेकी १५वर्ष जति पेलाईमा परेर त्यसको बदला नै लिउँकी जसरी कर्के आँखा लगाएको देख्दा थोरै डर लाग्न थाल्यो । परिवारका अन्य सदस्य पनि उनकै पार्टीमा प्रवेश गरिसकेको अवस्था र आफ्नो एकल जोड्बल नचल्ने अवस्थाको बारेमा ज्ञान भयो र अव पार्टीनै परिवर्तन गरौं भनेर श्रीमती अध्यक्ष रहेको पार्टी प्रवेश गर्ने निधो गरियो र हाल श्रीमतीले अव उठ्नुपर्छ भन्दा उठ्ने, अव हिँड्नु पर्छ भन्दा हिँड्ने, दाँयाँ लाग्नु पर्छ भन्दा दाँयाँतिर लाग्ने । बस्नु पर्छ भन्दा बस्ने, उताबाट हुकुम भए पश्चात सोहि अनुसार पालना गर्ने भईयो । त्यतिबेला पनि म भन्ने हरायो र त्यो स्थान श्रीमती भन्नेले लिईदियो ।

४५–५५वर्षमा परिवारको सदस्यको शिक्षाको लागि हालको अवस्थामा आउनका लागि सहयोग गर्ने बैंकहरुको साँवा र व्याज बुझाउँदै बित्ने छ । त्यतिबेला पनि म भन्ने हराउने छ सो स्थान बैंकहरुको साँवा र व्याजले लिने छ ।

५५–६५वर्षमा यहि हिसाबको खानपानलाई निरन्तरता दिएँ भने सायद अर्को कुनै रोगले बाटो कुरिरहेको हुनेछ । त्यतिवेला पनि म भन्ने हराउने छ सो स्थानमा कुनै एकले राज गर्ने छ ।

६५वर्ष उता पनि यसै धर्तीमा रहेमा अनी घर नजिकै चिया पसल भएमा तथा श्रीमतीले अनुमति दिएमा उता गएर चिया पसलमा गफ चुटिने छ । त्यतिबेला पनि म भन्ने हराउने छ र सो स्थान कसैले सुनिदिएमा मेरो गफले लिने छ ।

ताजा खबर