देउवाको राजीनामा आउने आश थियो, माफी पनि मागेनन् !

२०७५ पौष ४ बुधबार १३:४४:०० मा प्रकाशित

कांग्रेस महासमितिको मञ्चबाट नेताहरुले माफी मागेको दृश्य देखिने आश थियो । चुनावमा पराजय र पार्टीको अधोगतिको जिम्मेवारी मेरो पनि हो भनी उद्घोष गरेको सुन्न पाइने आश थियो । आइन्दा गुटभन्दा माथि उठेर पार्टी भन्छु, पार्टीकै लागि समर्पित हुन्छु भन्ने सङकल्प गरेको देख्न पाइने आश थियो । आश गरेको केही पूरा भएन । 

‘अर्ली महाधिवेशन हुनुपर्छ’ भन्ने आवाज आमचुनावको परिणाम आएपछि व्यापक भएको थियो । अर्ली महाधिवेशनको माग केकसरी उठ्यो र तुहियो भन्ने आफ्नै ठाउँमा छ । चुनावमा पार्टीको पक्षमा अपेक्षित परिणाम नआएपछि सभापति शेरबहादुर देउवाको राजीनामा आउने आश थियो तर आएन । देउवाले राजीनामा दिएनन् नै, चुनावमा टिकट बाँड्ने संसदीय वोर्डका सदस्यहरुले पनि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने आश थियो । त्यो पनि पूरा भएन । 

निराशाको प्रशारण केन्द्रबाट त्यसबेलैदेखि सुरु भएको हो । 

नैतिकताको आधारमा राजीनामा दिने भन्ने अवधारणा कुन चरीको नाम हो भन्ने अवस्थामा छ कांग्रेस । र, त्यसबीचमा महासमिति वैठकको माग भयो । हरेक वर्ष बस्नुपर्ने महासमिति वैठक हुनुपर्छ भनेर अरुले माग गर्नुपर्ने नै होइन, नेतृत्व आफैंले वैठकको पहल गर्नुपर्ने हो । तर, लगभग कठालोमा समातेर वैठक राख्न लगाउनुपर्ने अवस्था आयो । महासमिति वैठक नै नराख्ने, सकभर भाग्ने काम भयो । 

महासमिति वैठकले पार्टीलाई ठूलो उर्जा दिन्छ भन्ने अपेक्षा थियो । तिब्र गति दिन्छ भन्ने अपेक्षा थियो । त्यसो हुन सकेन । जसरी महाधिवेशनलाई नेतृत्व चयनको चुनावले ओझेलमा पार्ने गरेको छ, लगभग त्यही शैलीमा विधानले महासमितिलाई ओझेल पारिदियो । महासमितिमा कांग्रेसको वर्तमान र भविष्यकाबारे विशद मन्थन हुनुपथर््यो । तर, महासमितिमा गुटहरुको शक्ति र आकार परीक्षण मात्र भयो, खासखास नेताहरुको अहंकार तुष्टि र खासखास नेताहरुको निजी आत्मविज्ञापनको काम मात्र भयो । 

विधान संशोधन प्राविधिक विषय हो । कुनै पनि दलको विधान लोकतान्त्रिक हुन्छ । किनभने संविधानले नै लोकतान्त्रिक विधान हुनुपर्ने अनिवार्यता गरेको छ । महासमितिमा विधान उपर खासखास गुटका खासखास नेताहरुको द्वन्द भयो, त्यही द्वन्दलाई विधान उपरको छलफल मान्न विवश हुनुपर्ने अवस्था छ । कांग्रेसको समस्या विधान होइन, विधानलाई आफू अनुकूल बनाउने खासखास नेताहरु र खासखास गुटहरुको चाहना नै समस्या हो । यही भयो । 

विधानलाई कसरी प्रभावकारी ढंगले पालना गराउने ? कसरी लागू गराउने ? महासमितिको मूल प्रश्न यो थियो । विधान संशोधन राजनीतिक रुपमा सहायक विषय मात्र थियो । 

महासमितिको मेलामा रमाइलो कुरा के देखियो भने देशभरीका महासमिति सदस्यहरु यो महासमिति वैठकले गुट र नेताहरुको गोरखधन्दाभन्दा माथि उठेर पार्टीलाई ठोस उर्जा दिनुपर्छ भनिरहेका थिए । तर, आफैं चाहिँ गुट र नेताहरुको स्वार्थको माखेसाङलोमा परेर विवश बनिरहेका देखिन्थे । ९५ प्रतिशत महासमिति सदस्यहरु गुट र खासखास नेताहरुको स्वार्थको खेतिभन्दा माथि उठेर पार्टीका लागि केही गरौं भन्ने भावनाका देखिए । तर, उनीहरुको चाहना र भावना पार्टीभित्रको स्वार्थी समूहहरुको शिकार बन्न पुग्यो । 

महासमिति मेलामा प्रत्यक्ष महशुस गर्न पाइएको रोचक विषय के भने कांग्रेसभित्र गुट हावी छैन । गुटभित्रको स्वार्थ समूह हावी छ । गुटभित्र पनि थुप्रै उपगुट हुने र उपगुटभित्र पनि स्वार्थ समूह हुने अनि त्यो स्वार्थ समूहले हाइहुकूम चलाउन खोज्ने अवस्था पहिलेदेखिकै हो, महासमितिमा पनि त्यही देखियो । 

विधान संशोधन जस्तो नितान्त प्राविधिक विषयलाई महासमितिको उपलव्धी मान्नुपर्ने अवस्था आएको छ । हुनत राजनीतिक प्रतिवेदनका शब्द र वाक्यलाई देखाएर यही हो महासमितिको उपलब्धी भनेर देखाउन सकिएला । तर, कांग्रेसले आज खोजेको उपलव्धी कुनै कागजमा लेखिएको शब्द या वाक्य हो त ? 

कांग्रेसजनको मनमनमा के वाक्य लेखिन्छ त्यसले नै पार्टीको भविष्य निर्धारण गर्ने हो । कांग्रेसजनको मनमा आशा र उत्साह जाग्यो त ? अहँ   जागेन । हो गुटहरुमा उर्जा र सक्रियता थपियो होला, खासखास नेताहरुमा आत्मविज्ञापन सहित सक्रिय बन्ने जाँगर थपियो होला तर पार्टीपंक्तिको समग्र मनोविज्ञानमा यो महासमितिले सकारात्मक छाप पार्न सकेको मान्न सकिन्न । 

तर, अनौठो छ नेपाली कांग्रेस । यसका कार्यकर्ताले निराशाकै बीच आशा खोज्न जानेका छन् । नेतृत्वको आलोचना गर्न सक्ने, नेतृत्वलाई खबरदारी गर्न सक्ने, नेतृत्वको बाटो र प्रवृत्तिलाई गलत भन्न सक्ने कार्यकर्ता नेपालमा कुनै पार्टीमा छन् भने नेपाली कांग्रेसमा मात्र छन् । कार्यकर्ता महासमिति वैठक कुरेर बसेका थिए । महासमितिमा नजर लगाएर बसेका थिए । महासमितिबाट पार्टीमा एकता र उत्साह प्रशारण हुन्छ भन्ने विश्वाशमा थिए । महासमितिपछि पार्टीले गति लिन्छ, उर्जा पाउँछ भन्ने ठानेका थिए । त्यसो भएन । 

त्यसो भएन भन्दैमा कांग्रेसलाई यो गतिहिन अवस्थामा बस्न कार्यकर्ताले दिँदैनन् । नेताहरुले बाटो विराए भन्दैमा चुप लागेर बस्दैनन् । अब कार्यकर्ता जागृत हुन्छन् । पार्टीलाई उर्जा र गति दिन, पार्टीलाई नयाँ क्षितिज देखाउन गाउँशहरका कार्यकर्ताले सङकल्प लिनेछन् । अब कार्यकर्ता पंक्तिले पार्टीलाई नयाँ गति र उर्जा दिन सङकल्प लिनेछ । औपचारिकता र मेलामा सीमित भएको महासमिति वैठकले कार्यकर्तालाई सङकल्पयुक्त बनाउने ढोका खोलेको छ । 

केन्द्रका नेताहरुको मुख नताकौं, आफैं जागौं– महासमितिको मुख्य सन्देश यही हो ।

ताजा खबर