को को छन् चलचित्र बिकास बोर्डका आकांक्षी 

२०७४ श्रावण १९ बिहीबार ११:२९:०० मा प्रकाशित

काठमाडौं, १९ साउन । चलचित्र बिकास बोर्डको नेतृत्वमा कसको भाग्य चम्किने हो भन्ने निश्चित भैनसकेको भएपनि नेपाली कांग्रेसका शक्ति केन्द्रहरुमा धाउनेहरुको भिडभाड बढ्न थालेको छ।

कांग्रेसकै पालामा बोर्डको अध्यक्ष बनेका राजकुमार राईको गत जेठ २२ गते दुई वर्षे कार्यकाल सकिएपछि बोर्डको अध्यक्षको कुर्सी खाली छ । त्यसमा कसको भाग्य चम्किने हो त्यो अहिले सबैको चासोको बिषय बनेको छ । चलचित्र बिकास बोर्डमा अध्यक्ष बन्नको लागि बिभिन्न निर्माता तथा निर्देशक बीच खिचातानी चल्न थालेको छ । सरकारी नियुक्ती हुने बोर्डमा अध्यक्ष पदका लागि अहिले धेरैको दाबी रहेको जानकार सूत्रले बताएको छ।

बोर्डको अध्यक्ष बन्न प्रभु शमशेर जबरा, रोज राणा, सुचित्रा श्रेष्ठ, तीर्थ थापा, सन्दीप सापकोटा, हेमन्त बुढाथोकी, सुष्मा कार्की, दिनेश डिसी, आकाश अधिकारी, मनोज केसी, जर्नादन आचार्य, रामकेशर बोगटी लगायतको नाम सञ्चार मन्त्रालयको पुगिसकेको सूत्रले सरल पत्रिकालाई बताएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिन अघि सञ्चारमन्त्रीको जिम्मेवारी मोहन बहादुर बस्नेतलाई दिएसँगै दर्जनौं चलचित्रकर्मीहरु उनको आँगनमा पुगिसकेका छन् । चर्चामा रहेका प्रभु शम्शेर राणाले सरल पत्रिकासँग भने,– ‘हल्ला हुुनु ठूलो कुरा होइन, हल्ला त भइ नै हाल्छ । सरकारी नियुक्तिमा जान कसलाई इच्छा हुँदैन र । नियुक्ति नभएसम्म केही भन्न सकिन्न ।’

प्रभूलाई खुमबहादुरको आशिर्वाद

यता अर्को समाचार सूत्रले प्रभु राणालाई कांगे्रस नेता खुमबहादुर खड्काको आशिर्वाद प्राप्त भएको बताएको छ। एकजना बहालवाला न्यायाधीशका नातेदार राणालाई चलचित्र  बिकास बोर्डमा नियुक्त गराउनु नेता खड्काको  लागि अत्यावश्यक बिषय भएको थाहा भएको छ। उनले प्रधानमन्त्री देउवासँग यसबारेमा निर्णायक परामर्श गरिसकेका छन्।

कांग्रेसको भ्रातृ संगठनका अध्यक्ष तीर्थ थापाको नेतृत्वमा भेट्न गएको दवाव टोलीलाई  खड्काले बिकास बोर्डमा राणाको नियुक्तिबारे प्रष्ट जवाफ दिएर फर्काएका चलचित्र कलाकार संघका एक पदाधिकारीले बताए।

यस्तै चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी भन्छन्,–‘नेपाली सिनेमालाई चिनेको र बुझेको व्यक्ति जो गए पनि हुन्छ । यहाँ त चाकरी नगरी केही कुरा पनि हुँदैन । ’ आफू सुटिङमा व्यस्त रहेकोले अहिले त्यतातिर खासै मन नडुलाएको अधिकारी बताउँछन् । उनले भने– यहाँ सोर्सफोर्स बिना केही हुँदैन र त्यो आफुसँग छैन ।

विकास बोर्डका निर्वतमान अध्यक्ष राजकुमार राई आफैं पनि फेरि अध्यक्षको दौडमा रहेको चर्चा छ। तर राईले यो कुरा गलत भएको बताए। 

ताजा खबर