मनिषाको ‘पेनफुल एक्सपिरियन्स’ आउँदै

२०७५ पौष २ सोमबार १७:३६:०० मा प्रकाशित

काठमाडौं । ‘क्यान्सरले मलाई जीवनको महत्व अझ गहिरो किसिमले बुझ्न झस्कायो । मान्छेले अत्यन्त कठिन परिस्थितिको साक्षात्कार गरेपछि जीवनको महत्व अझ बढी बुझ्दोरहेछ’ क्यान्सर जस्तो असाध्य रोगबाट बचेकी मनिषा कोइरालाको भनाई हो यो । 

मनिषा क्यान्सरको अन्तिम खुड्किलोबाट बचेकी हुन् । उनले समयमै उपयुक्त उपचार पाएकी थिईन् । चिरपरिचित कलाकार मनिषाले क्यान्सरबाट मुक्त भएपछि त्यसबाट गुज्रँदाको अनुभव समेटेर पुस्तक लेखेकी छन् सहकार्यमा । तर यो उनको अटोवायग्राफी होईन । ‘यो अटोवायग्राफी होईन, क्यान्सर रोग लागेदेखि उपचार भैसक्दासम्मका अनुभवको सँगालो मात्र हो’ मनिषाले सोमबार संचारकर्मीहरु माझ स्पष्ट पारिन् ।  

उनको अनुभवको सँगालो ‘हिल्ड’ नामको पुस्तकको नेपाली अनुवाद चाँडै सार्वजनिक हुने भएको छ । मूल कपी अंग्रेजी भने भारतको पेनगुइनले प्रकाशन गरेको हो । 

मनिषाले भनिन्– ‘भर्खर क्यान्सरबाट रिकभर भएको थिएँ । त्यो समयमा साना–साना कुराहरु पनि सम्झनुपर्ने भएकाले मलाई निकै कठिन भयो । एउटा त्यस्तो समय पनि आयो, मबाट यो काम हुँदैन भनेर छोड्ने मनस्थितिमा पनि पुगेकी थिएँ । तर मलाई लेख्न प्रेरित गर्नुभयो, त्यसैले निरन्तरता  दिएँ ।’ 

मनिषाको भनाईमा यो पुस्तक उनको ‘पेनफुल एक्सपिरियन्स’  हो ।

‘हिल्ड’मा क्यान्सर अगाडिको जीवन संघर्ष र उपलब्धीलाई समावेश नगरेको जानकारी दिँदै उनले भनिन्, “सायद क्यान्सरभन्दा अगाडिको जीवन समेटिएको भए अहिले समेटिएको विषय हलुका हुन्थ्यो भनेर नसमेटेकी हुँ । क्यान्सर अगाडिको विषय पनि तयार छ । सायद केही वर्षपछि त्यो आउँछ ।”

  नेपाली अनुवाद गरिने पुस्तक बिक्रीबाट प्राप्त हुने रकम क्यान्सर पीडितलाई दिने भन्दै उनले अग्रिम ५ लाख रुपैयाँ पनि उपलब्ध गराएकी छन् । 

पाठेघरको क्यान्सरविरुद्ध मनिषाको संघर्ष समेटिएको पुस्तकको नेपाली संस्करण फाइन प्रिन्टले प्रकाशन गर्न लागेको फाइन प्रिन्टका संस्थापक निरज भारीले बताए । 


             (तस्बिर सौजन्य: सदृश्य डटकम- http://www.sadrishya.com)

ताजा खबर