हलेसीमा निशुल्क प्रवेश व्यवस्था मिलाउन नगरको निर्देशन

२०७४ श्रावण १९ बिहीबार ०९:०४:०० मा प्रकाशित

खोटाङ, १९ साउन । खोटाङको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी प्रवेशमा शुल्क नलिन  हलेसी तुवाचुङ नगरपालिकाले निर्देशन दिएको छ । 

यसअघि मन्दिर व्यवस्थापन समिति र हलेसी विकास समितिले लिएको शुल्क व्यवस्थित र पारदर्शी नभएको भन्दै नगरपालिकाले शुल्क नलिन निर्देशन दिएको हो । 

नगरपालिकाले दिएको निर्देशनलगत्तै शुल्क लिन छाडिएको विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए । “दर्शनार्थीको भीडलाई व्यवस्थापन गर्न सामान्य शुल्क लिने व्यवस्था गरिएको थियो ।” उनले भने,  “नगरपालिकाको निर्देशनपछि तत्कालै शुल्क लिन छाडिएको छ ।” 

हलेसीबाट सीमित व्यक्तिले फाइदा उठाइरहेकाले तत्काललाई शुल्क नलिन निर्देशन दिइएको नगरपालिकाका प्रमुख ईवन राईले बताए । “हलेसीको समग्र विकासका लागि हामीले पहल थालेका छौँ ।” उनले भने, “व्यवस्थित नभएसम्मका लागि सबै किसिमको शुल्क नलिन निर्देशन दिइएको हो ।” 

मन्दिर व्यवस्थापन समिति र विकास समितिले यसअघि महादेवथानमा अघोषितरुपमा मोटो रकम र बसाहाथानमा घोषितरुपमै प्रतिव्यक्ति रु १० लिने गरेको थियो । यससँगै हलेसीका स्थानीयले यसअघि त्यहाँ आउने भक्तजन तथा पर्यटकबाट विभिन्न बहानामा चर्को शुल्क लिने गरेको गुनासो आउने गरेको थियो । रासस 

ताजा खबर