तनुश्री दत्ता ‘मी टू’ चलाएर न्यू जर्सी फर्किदै

२०७५ पौष १ आइतबार १२:५१:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री तनुश्री दत्ता भारतमा ‘मी टू’ अभियान चलाएर न्यू जर्सी फर्किन लागेकी छन् ।

उनी लामो समयदेखि न्यू जर्सीमा बस्दै आएकी छन् । पाँच महिना अघि भारत पुगेकी तनुश्रीले नाना पाटेकरविरुद्ध बोलेर यौन दुर्व्यवहार विरुद्धको अभियान ‘मी टू’ शुरु गरेकी थिइन् । जसले भारतमा कयौं नेता, कलाकार, लेखक र पत्रकारलाई पद छोड्न बाध्य पारेको छ ।

उनले मिड डेसँगको कुराकानीमा भनेकी छन्, ‘मेरो भविष्य उतै छ । तर, अर्को वर्ष फेरी आउँने छु ।’ उनले मुम्बई आउँदा एक महिनाको लागि मात्रै आएको बताएकी छन् । मी टू अभियानले मात्रै पाँच महिनासम्म बसेको उनको भनाइ छ ।

दश वर्ष अघि नाना पाटेकरले गरेको यौन दुर्व्यवहारविरुद्ध बोलेर तहल्लका मच्चाएकी हुन् । नाना पाटेकरले ‘हर्न ओक प्लीज’को सुटिङका क्रमा उनलाई दुर्व्यवहार गरेका थिए ।

उनले फिल्मका निर्देशक विवेक अग्निहोत्रीलाई पनि दुर्व्यवहारको आरोप लगाएकी थिइन् । तनुश्रीले भनेकी छन्, ‘मी टूसँग जोडिएका समाचार हरेक दिन प्रथम पृष्ठका समाचार नबने पनि यो क्रान्ति भएको हो । यसको प्रभाव भविष्यमा देखिने छ । अब यौन शोषण गर्नेहरुले सोच्नु पर्नेछ कि उनीहरु छुटकारा पाउँने छैनन् ।’

उनले प्रहरीमा उजुरी पनि दिएकी छन् । न्याय पाउनेमा उनी आशावादी छन् । आफूले मुम्बई छोडेर गएपनि कानुनी प्रक्रियालाई सहयोग गर्ने उनको भनाइ छ ।

ताजा खबर