सरल साता डायरी: सातदिनमा के के भएछन् ?

२०७५ मङ्सिर २८ शुक्रबार १६:३७:०० मा प्रकाशित

महंगो गाडी किन्ने राष्ट्रपति विद्यादेवी भण्डारीको महत्वाकांक्षाको विरोधस्वरुप युवाहरुले एक/एक रुपैयाँ उठाएर प्रतीकात्मक रुपमा बनाएको गाडी राष्ट्रपति कार्यालयमा बुझाउने तयारीका साथ युवाहरुको समूह शीतलनिवास बाहिर पुगेको थियो। उक्त घटनाको तस्बिर खिच्न देशसञ्चारकी फोटो पत्रकार बर्षा शाह त्यहाँ पुगेकी थिइन्।

चारजनाको समूहले राष्ट्रपति कार्यालयअघि प्रदर्शन गरेको तस्बिर खिच्ने क्रममा उपस्थित सुरक्षाकर्मीले पत्रकार शाहमाथि दुर्व्यवहार गरेका थिए। उनले प्रेस पास देखाउँदा पनि प्रहरीले उनीमाथि दुर्व्यवहार गरेको थियो।

आईतबार, २३ मंसिर

काठमाडौं । सातै प्रदेशमा सरकार गठनपछि पहिलो पटक अन्तरप्रदेश परिषद्को बैठक बसेको थियो । २३ भदौमै बैठक बस्ने तय भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले पछि सारेका थिए । 

प्रधानमन्त्रीको अध्यक्षतामा शुरु भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहेको थियो । प्रदेश सरकारले भोग्नु परिरहेका समस्या र समाधानका विषयमा छलफल शुरु भएको थियो । 

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको पक्षको बैठक बसेको थियो । बैठकले १४औं महाधिवेशन प्रक्रिया सुरु गर्न सभापति शेरबहादुर देउवालाई दवाव दिने निष्कर्ष निकालेको थियो । यसलाई कांग्रेस महासमिति बैठकमा जोडतोड उठाउने उनीहरुले तय गरेका थिए । 

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो संकल्पलाई सूक्ष्मरुपले हेर्न मिल्ने चस्मा लगाउन नागरिक समाजलाई आग्रह गरेका थिए । भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजका तर्फबाट भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता व्यवहारमा कार्यान्वयनका लागि सिंहदरबारमा ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले त्यस्तो भनेका थिए । जसको व्यापक चर्चा भएको थियो । 

बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका हत्या पत्ता लगाउन नसकेको भन्दै नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजिनामा मागेको थियो । पत्रकार सम्मेलन गरेर संघकी महासचिव तथा राष्ट्रिय सभाकी सदस्य धना खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मला पन्तका वास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खाजेको आरोप लगाएकी थिइन् । 


सोमबार, २४ मंसिर

अन्तरप्रदेश परिषद् बैठकले मुख्यमन्त्रीहरूले उठाएका विषयलाई सम्बोधन गर्ने गरी गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा उच्च स्तरीय कार्यदल गठन गरेको थियो । जसमा अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सदस्इ रहेका थिए । मुख्यसचिव लोकदर्शन रेग्मीलाई कार्दलको सदस्यसचिव तोकिएको थियो । 

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकमा पेश हुने आर्थिक प्रस्ताव पारित गरेको थियो । सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वमा गठित समितिले आर्थिक प्रस्ताव तयार गरेको थियो । 

निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा अनुसन्धान साँघुरिदै गएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका थिए । राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै महानिरीक्षक खनालले भनेका थिए, ‘हाम्रो सामर्थ्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो तर यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन, प्रमुखका रुपमा कुनै कमजोरी देखिए संसद्मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ ।’


मंगलबार, २५ मंसिर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश भएको थियो । उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा १७ सस्यीय उपसमितिले प्रतिवेदन तयार गरेको थियो । 

निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै प्रदेश ७ का मुख्यमन्त्रीको कार्यालय अगाडी प्रदर्शन गरिएको थियो । नेविसंघ र महिला संघको अगुवाइमा प्रदर्शन हुँदा केहीबेर झडप पनि भएको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पुत्ला जलाएका थिए । 


बुधबार, २६ मंसिर

विवाह पञ्चमी महोत्सवमा भाग लिन उत्तरप्रदशका मुख्यमन्त्री योगी आदित्यनाथ निजी विमानमा जनकपुर आएका थिए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मिञ्जवसिंह पुरीले स्वागत गरेका थिए भने उनी दिउँसो रंगभूमि मैदानमा आयोजना भएको सीतारामको विवाह स्वयंबरमा सहभागी भएका थिए । उनी साँझ भारत फर्किएका थिए । 

नेपाल वायु सेवा निगमले वाइडबडी जहाज खरिद गर्दा अनियमितता गरेको आरोप लगेपछि सार्वजनिक लेखा समितिले छानविन गर्न राजन केसीको संयोजकत्वमा सात सदस्यीय छानविन उपसमिति गठन गरेको थियो । उपसमितिमा सांसदहरू प्रेम आले, मिना घर्ति, धर्मशीला चापागाईं, कृष्णलाल महर्जन, प्रदीप यादव र चन्दा चौधरी सदस्य छन् । उपसमितिलाई १५ दिनको म्याद दिइएको थियो । 

प्रदेश ३ को राजधानी हेटौंडा नै रहने र नामाकरण पुस महिनाभित्र हुने मुख्यमन्त्री डोरमणि पौडेलले बताएका थिए । हेटौंडामा पत्रकार सम्मेलन गरेर राजधानी सार्दा भौतिक संरचना निर्माण र व्यवस्थापनमा फेरी एकवर्ष खर्च हुने उनको भनाइ थियो । 


बिहीबार, २७ मंसिर

महंगो गाडी किन्ने राष्ट्रपति विद्यादेवी भण्डारीको महत्वाकांक्षाको विरोधस्वरुप युवाहरुले एक/एक रुपैयाँ उठाएर प्रतीकात्मक रुपमा बनाएको गाडी राष्ट्रपति कार्यालयमा बुझाउने तयारीका साथ युवाहरुको समूह शीतलनिवास बाहिर पुगेको थियो। उक्त घटनाको तस्बिर खिच्न देशसञ्चारकी फोटो पत्रकार बर्षा शाह त्यहाँ पुगेकी थिइन्।

चारजनाको समूहले राष्ट्रपति कार्यालयअघि प्रदर्शन गरेको तस्बिर खिच्ने क्रममा उपस्थित सुरक्षाकर्मीले पत्रकार शाहमाथि दुर्व्यवहार गरेका थिए। उनले प्रेस पास देखाउँदा पनि प्रहरीले उनीमाथि दुर्व्यवहार गरेको थियो।

महाराजगञ्ज प्रहरी वृत्तका डिएसपी फणिन्द्र प्रसाईले घटनास्थलमा फोटो खिच्ने सबैलाई पक्राउ गर्न आदेश दिए। घटनास्थलमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरु तितरबितर भइसकेका थिए। फोटो पत्रकार बर्षा शाहलाई प्रहरी समात्यो र महाराजगञ्ज प्रहरी वृत्त पुर्‍यायो। करिब तीन घन्टा उनलाई हिरासतमा राखिसकेपछि वरिष्ठ प्रहरी अधिकारीहरुको दबाब र पत्रकारहरुको आक्रोश तथा विरोधका कारणमात्र उनलाई प्रहरीले छाडेको छ। छाड्ने क्रममा डिएसपी फणिन्द्र प्रसाईले हात जोडेर माफी माग्दै पत्रकारमाथि दुर्व्यवहार भएको बताएका थिए।

संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको थियो । न्याय परिषदले चोलेन्द्र सहित दीपकराज जोशीको नाम संवैधानिक परिषद्मा पठाएको थियो । यसअघि तीन पटक बैठक स्थगित भएको थियो । 

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले १४औं महाधिवेशनमा  सभापति पदमा उठ्ने घोषणा गरे । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुराकानी गर्दै महामन्त्री डा.कोइरालाले भनेका थिए, ‘साथीहरुले तपाईं सभापति हुनुपर्छ भन्नुभएको छ ।’ कांग्रेस संस्थापक विपि कोइरालाको सपना पूरा गर्न कांग्रेस सभापतिमा उठ्ने उनको भनाइ थियो । 

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेको बताएका थिए । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवाद’ को विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले कांग्रेसको विचार र सिद्धान्तअनुसारको संविधान जारी भएको उल्लेख गर्दै संविधान कार्यान्वयनमा कांग्रेस नै बढी जिम्मेवार हुनुपर्ने बताएका थिए । 


शुक्रबार, २८ मंसिर

औपचारिक रुपमा २९ मंसिरमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएपनि नेपाली कांग्रेसको महासमिति बैठकको प्रारम्भ भएको थियो । दिउँसो २ बजेदेखि कांग्रेस केन्द्रय कार्यालयमा रजिष्ट्रेसन शुरु गरिएको थियो । महासमिति बैठक ३ पुसम्म चल्ने छ । 

पाल्पाको जल्पाबाट बहादुरपुर जादैँ गरेको लु.१ च २६५३ नम्बरको जिप दुर्घटना हुँदा सुत्केरी महिलासहित पाँच जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । माथागढी गाउँपालिका–८ की ३३ बर्षीय यानिसर गाँहा, बुमा कुमारी दर्लामी, रेवतबहादुर जि.सी., कुनिसरा रुचाल र जिप चालक २० वर्षीय विरेन्द्र रानाको मृत्यु भएको थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । राष्ट्रपति भवन शीतल निवासमा प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले परम्परागत सुरक्षाका साथै नवीनतम सुरक्षा चुनौतीलाई सामना गर्दै मुलुकको समग्र सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका लागि नीति निर्माणलगायत सबै व्यवस्थापनका काम गर्न परिषद्का पदाधिकारीलाई सुझाव दिएकी थिइन् । 

दाङको बंगलाचुली गाउँपालिका–८ गुराँसेका नवराज पुनको घरमा आगो लाग्दा उनका ७ बर्षीय छोरा कृष्णबहादुर पुन, ५ बर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको जलेर मृत्यु भएको छ । प्रहरीका अनुसार, सोलारको ब्याट्री पड्किएर आगलागी हुँदा घर जलेको हो । 
 

ताजा खबर