कांग्रेस महासमिति ! पिठो पिँध्ने परम्परा तोड

२०७५ मङ्सिर २८ शुक्रबार ०९:१७:०० मा प्रकाशित

पिठो पिँधेर के निस्कन्छ ? यसको सहज उत्तर छ– पिठो नै निस्कन्छ । नेपाली कांग्रेसको हरेकवर्ष हुनुपर्ने महासमिति बैठक तीनवर्षपछि अहिले बस्दैछ । यही बैठक पनि छल्न खोज्दा खोज्दै नसकेपछि बाध्यतावश हुन लागेको छ । यो बैठकले केही नयाँ कुरा ल्याउँछ भन्ने आशा त छैन तर पनि कहिलेकाहीँ कर्मकाण्डी कामबाट पनि अनपेक्षित परिणाम आइदिन पनि सक्छ । झिनो आशा यति मात्र हो ।

अहिले कयौं वर्षदेखि दुलाबाट फँडा देखाउँदै गरेको सर्प बाहिर नै निस्किएको छ । नेपाली सभ्यतामाथि भित्रभित्रै डसिरहेको थियो तर बाहिर नै फुत्त आउन नसकेको विषालु सर्प अहिले वर्तमान सरकार र यसका पृष्ठपोषकहरुको सहाराबाट बाहिर डुलिरहेको छ । नेपाली सभ्यताको पोखरीमा निर्वाध जहर मिसाइरहेको छ । यस्तो डरलाग्दो कार्यमा सरकार आफैं कर्ता भएको छ भने प्रतिपक्षी नेपाली कांग्रेस छेउमा बसेर ताली बजाउँदै तमासे बनेको छ । देशभर लाखौं जनता जहरिलो सर्पको विषले छटपटाइरहेका छन् तर सरकार त्यही विषालु सर्पको प्रतिरुप बनीरहेको छ, प्रतिपक्ष जनताको पीडाजन्य आवाजलाई संगीत सुने झैं लठ्ठीएर बसी रहेको छ । नेपालको मौलिकता, राष्ट्रियता, सभ्यता एवं स्वाभिमानको भयंकर बलात्कार भइरहेको बेलामा नेपाली कांग्रेसको महासमिति बैठक हँुदैछ । यस्तो समयमा कांग्रेसले राष्ट्रिय स्वार्थको पक्षमा केही दर्विलो कदम उठाउँछ कि भन्ने अपेक्षा सर्वत्र गरिएको छ ।

राजनीतिक दल जीवन्त रहने उसको एजेण्डाले हो । हरेक दलका वीच एजेण्डाकै आधारमा भिन्नता हुने हो । बिचार, आदर्श एवं सिद्धान्त भएन भने त्यो राजनीतिक दल नभएर एक अवसरवादी लोभी पापीहरुको झुण्ड मात्रै बन्न पुग्छ । नेपालका दलहरु अहिले राजनीतिक भन्दा पनि लोभी–पापीहरुको झुण्डका रुपमा प्रस्तुत भइरहेका छन् । राजनीतिले कल्याण एवं समृद्धिको बिषयलाई आफ्नो मुख्य एजेण्डा बनाउने हो, तर अहिले सर्वकल्याण एवं जनताको समृद्धि केवल घोषणा पत्रमा, भाषणमा, पोल–पोलमा, भित्तामा, मिडियाहरुमा एवं गफमा मात्रै सीमित भएको छ । हरेक देशको समृद्धि त्यो देशको भूगोल, सांस्कृतिक सभ्यता, जन–सहभागिता एवं राष्ट्रिय स्वाभिमानबाट मात्र संभव छ, तर हामी कहाँ समृद्धिका यिनै साधनहरुलाई बिक्रीमा राखेर राजनीति गर्नेहरुले आफ्नो निजी समृद्धिकालागि मात्र काम गरिरहेका छन् । राजनीति भष्मासुरहरुको कब्जामा पुगेको छ । यही मौकामा बाहिरी शक्तिहरुले नाङ्गो हस्तक्षेप गर्न थालेका छन् । राष्ट्रियताको प्रश्न चुनावको बेलामा स–शक्त बन्छ, तर त्यही नाराबाट चुनाव जितेर सत्तासीन हुनेहरु नै सर्वाधिक ‘राष्ट्रघात’ मा संलग्न भएका हुन्छन् । नेपाली राजनीतिमा विगत केही दशकदेखि यो दुर्भाग्यपूर्ण परिस्थिति भोग्नु परिरहेको छ । विश्वमा स्वाभिमानी नेपाली र स्वतन्त्र नेपालको छवि विस्तारै धुमिल हुँदै गइरहेको छ । यस्तै भइरहेमा नेपाल दासहरुको झुण्ड बस्ने ठाउँका रुपमा परिचित हुने डरलाग्दो संभावना बढीरहेको छ ।

यस्तो प्रतिकूल अवस्थामा कांग्रेस महासमिति बैठकमा उपस्थित सहभागीहरु चिया–पसल र मदिरा पसलहरुमा मात्रै देशको चिन्ता गर्छन्, कि वास्तवमै आफ्नो पार्टीले छोडेको वा बिक्री गरेको अथवा आत्मसमर्पण गरेको कालजयी एजेण्डालाई सबलिकरण गर्ने तर्फ मनैदेखि लाग्छन् यो महासमिति बैठकले प्रष्ट पार्छ । हुनत यो भनाइले राजसंस्था, धर्म सापेक्षता एवं एकात्मक राज्य प्रणालीकै समर्थनमा ‘लविङ्ग’ गर्न खोजेको अर्थबोध हुन पनि सक्छ । तर यो लेखको आशय त्यस्तो मात्रै पनि होइन, धर्मलाई अतिरञ्जनापूर्ण व्याख्या गरेर नेपाली सभ्यतामाथि भएको आक्रमणका विरुद्ध बोल्दा जेसुकै लाञ्छना लागे पनि लागोस्, तर नेपाल सनातन सभ्यताकै मूल बाटोबाट समृद्ध हुन सक्छ । सनातन सभ्यताभन्दा अर्को बाटो भनेको विनाशको मात्रै बाटो हो । हामीले हाम्रो समृद्धि धार्मिक तथा सांस्कृतिक पर्यटनका माध्यमबाट सबैभन्दा बढी प्राप्त गर्न सक्छौं । त्यो धार्मिक
तथा सांस्कृतिक पर्यटनको विषय भनेको नै सनातन हिन्दु–बौद्ध–किराँत परम्परा हो । भगवान गौतम बुद्धको नामबाट हामी हाम्रो सभ्यतालाई चिनाउन सक्छौं, शिवको तपस्थलीका नामबाट अथवा पाशुपत् क्षेत्रका नामबाट हामी विश्वभरका मानिसहरुलाई नेपालमा घुम्न अथवा धार्मिक पर्यटनका लागि आकर्षित गर्न सक्छौं । गोरखालाई योगी गोरखनाथको जीवन्त तन्त्र साधनाका गाथाले विश्व माझ चिनाउन सक्छौं भने तनहँुलाई वेद–व्यासको नामबाट आलोकित गर्न सक्छौं ।  जनकपुरलाई राजा जनक र सीताको जन्मस्थलबाट हामी दुनियाँलाई आकर्षित गर्न सक्छौं,लुम्बिनी विश्वकैलागि शान्तिधाम बन्न सक्छ । देशभर रहेका शक्तिपीठहरु पर्यटकहरुका लागि आश्चर्यजनक आनन्दको विषय बन्न सक्छ । यस्ता ऐतिहासिक स्थलहरु सर्वत्र छन् । वेद–उपनिषद–पुराणका विषयहरुबाट विश्वभरीका शोधार्थी एवं विद्यार्थीहरुलाई तान्न सकिन्छ । अहिले विश्वव्यापीरुपमा योग तथा तन्त्र साधनाको आनन्द लिनेहरुको संख्या ह्वात्तै बढेको छ ।

नेपाललाई योग साधना एवं ध्यान केन्द्रको रुपमा पनि विकास गर्न सकिन्छ । वैदिक ज्ञान र चेतनाका संवाहक अनेकौं ऋषि महर्षिहरुको साधनास्थल पूर्वीय ज्ञान सभ्यताको रुपमा विकास गरेर विश्वका मानिसहरुलाई सृष्टिकालदेखिको आदिम सभ्यता हेर्ने तृष्णा जगाउन सकिन्छ । आदिमकालदेखि विकसित हुँदै आएको सभ्यतालाई विश्व मानव चेतनाको आकाशमा जोड्न सक्ने हो भने वैदिक ज्ञानधारामा भएको सघन बौद्धिकताबाट यथेष्ट लाभ लिन सकिन्छ । तर भइरहेको सभ्यतालाई भत्काएर यो धर्ती एवं माटोमा नमिल्ने सभ्यता स्थापित गर्ने दुःस्प्रयास भइरहेको छ । पाशुपत् क्षेत्रको नामबाट जति नेपाललाई चिनाउन सकिन्छ, त्यसरी न त नेपाल ठूला ठूला गिर्जाघरको इतिहास भजाएर चिनाउन सकिन्छ, न त ठूला ठूला चर्च बनाएर विश्वका मानिसहरुलाई आकर्षित गर्न सकिन्छ । बौद्ध एवं स्वयम्भुमा गुञ्जने  'ओम मणि पद्मे हुँ' को मन्त्र धूनले जसरी दुनियाँलाई तान्न सकिन्छ, त्यसरी पादरीको प्रार्थनाले नेपालको आकर्षण बढाउन सक्दैन । वास्तवमा हाम्रो राजनीतिले सुन्तलाघारीमा नरिवल टिप्ने कोशिस गरिरहेको छ । नेपाली कांग्रेसको महासमिति बैठकमा सदस्यहरुले यस्तो महत्वपूर्ण विषयमा ध्यान दिन्छन् कि दिँदैनन् भन्ने विषयलाई सबैले हेरिरहेका छन् ।

अहिले नेपाली कांग्रेस इतिहासमै सबैभन्दा कमजोर अवस्थामा छ । निर्वाचनको परिणामको आकारले पनि कमजोर देखिन्छ भने नेतृत्वको अदूरदर्शिता, पदलोलुपता, लुब्ध एवं संकीर्ण झुण्डहरुका गुट–उपगुट, आफ्नो विचार एवं एजेण्डाको विसर्जन जस्ता संगीन विषयहरुबाट कांग्रेस विदीर्ण बनेको छ । यस्तो अवस्थामा पनि आफ्नो पार्टीलाई सबल बनाउने ढंगबाट कार्यकर्ताले सोचेनन् भने त्यस्तो समूहलाई कार्यकर्ता भन्न सकिँदैन । आसेपासेहरुको झुण्डका रुपमा मात्र परिभाषित गर्नपर्ने हन्छ ।  कार्यकर्तासँग त दृष्टिकोण, विचार, सिद्धान्त, स्वाभिमान एवं आफ्नो आदर्शकालागि त्याग गर्न सक्ने निर्लोभ भाव हुनुपर्छ । यसअघि जस्तै आ–आफ्नै स्वार्थको साँघुरो घेरा बनाएर गुट–उपगुटको विष–कुण्डमा रमाइरहने हो भने नेपाली कांग्रेसको इतिहासलाई मात्रै सम्झिएर यसलाई ऐतिहासिक प्रजातान्त्रिक पार्टी भनिरहने दिन समाप्त हुन्छ । राष्ट्रको मौलिक गरिमा, इतिहास एवं राष्ट्रिय स्वाभिमानको रक्षा गर्न नसक्ने हो भने कांग्रेसले आफ्नो छवि, जोगाउन सक्दैन । नेपालका सम्पूर्ण जात–जाति, भाषा, संस्कृति एवं रितिरिवाजलाई राष्ट्रिय पुँजीका रुपमा संरक्षण गर्न अहिले भइरहेको अशोभनीय, नग्न एवं जंगली सांस्कृतिक आक्रमण एवं सांस्कृतिक साम्राज्यवादी अतिवादको विरुद्ध निर्णायक प्रतिकारको प्रत्याभूति हुनेगरी आवाज उठाउनु पर्छ र नेपालका सांस्कृतिक विविधताको बगैंचालाई जोगाउनु पर्छ ।

अब पनि नयाँ उर्जा, नयाँ विचार, निष्ठा एवं संकल्पका साथ अगाडि नबढ्ने हो र त्यही कर्मकाण्डीय शैलीबाट पिठो मात्रै पिँध्ने काम गरिरहने हो भने नयाँ सृजना कहिल्यै पनि हुन सक्दैन र समयले नेपाली कांग्रेस पार्टीलाई नै असान्दर्भिक बनाइदिनेछ । त्यसैले अब पिठो पिँध्न छोडेर वास्तविक एवं जीवन्त प्रजातान्त्रिक व्यवहार र आदर्शको अनुशरण गर्नुपर्छ । राष्ट्रिय  सभ्यताको चीरहरण रोक्नुपर्छ । लोकतान्त्रिक पार्टिले जनताको भावना बुझेर आफूलाई समय अनुकूल परिमार्जन गर्दै अघि बढ्न साहस गर्न सक्नुपर्छ । कांग्रेसका लागि महासमिति बैठक एउटा अग्नी परीक्षा पनि हो ।


 

ताजा खबर