जुँगाको लडाइले काष्ठमण्डप पुनःनिर्माण अलपत्र

२०७४ श्रावण १९ बिहीबार ०७:११:०० मा प्रकाशित

काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको काष्ठमण्डप पुनःनिर्माण गर्ने विषयमा स्थानीय वासिन्दा र महानगपालिकाबीच जुँगाको लडाइँ सुरु भएको छ । दुई वर्षअघि भूकम्पमा पूर्ण रूपमा क्षति भएको काष्ठमण्डप कसले र कसरी बनाउने भन्ने विषयमा महिनौंदेखिको विवाद टुङ्गिनुको साटो झन् जटिल बन्दै गएको छ ।

पुनःनिर्माणको कार्य अगाडि बढ्न नसकेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुधबार सरोकारवाला निकायसँग गरेको छलफल पनि निष्कर्षमा पुग्न नसकेपछि यसले काष्ठमण्डप पुनःनिर्माणको विषयममा अन्योल थपेको छ । यसअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, काष्ठमण्डप पुनःनिर्माण अभियान र काठमाडौँ महानगरपालिकाबीच सार्वजनिक निजी साझेदारीको अवधारणाअनुसार काष्ठमण्डप निर्माण गर्ने समझदारी भएकोे थियो ।

त्यसमा पुरातत्व विभागले काष्ठमण्डपको डिजाइन नक्सा तयार गरिदिने र आवश्यक प्रविधिक सहयोग र अनुगमन गर्ने, आवश्यक काठ महानगरपालिकाले खरिद गरिदिने र स्थानीय वासिन्दाको समेत सहयोगमा अमानत प्रक्रियाबाट निर्माण गर्ने भनिएको थियो । सोहीअनुसार काष्ठमण्डप पुनःनिर्माण लागि अभियानले पुनःनिर्माण थाल्ने भन्दै जीवित देवी कुमारीलाई साक्षी राखेर स्थानीय वासिन्दाबाट काष्ठमण्डप बनाउन आर्थिक सहयोगको प्रतिबद्धता जुटाएको छ ।

स्थानीय वासिन्दाले गरेको प्रतिबद्धताबाट करिब नौ करोड रुपियाँसम्म जम्मा हुने अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले बताए । अभियानले हाल भइरहेको जग संरक्षणका लागि ट्रस हाल्न सुरु गर्दा महानगरपालिकाका सुरक्षाकर्मीले त्यसलाई भत्काइदिएका थिए । त्यसपछि महानगरपालिकाले जग संरक्षणको लागि भनेर ट्रस हालेको छ । गोरखापत्र दैनिकबाट ।

ताजा खबर