श्वेतालाई सहयोग गर्न कुमार सानु आउँदै

२०७४ जेठ ३० मंगलबार ०८:४१:०० मा प्रकाशित

काठमाडौ,३० जेठ । बलिउड गायक कुमार सानुले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन् । मुभेज इन्टरनेशनलको आयोजनामा होटल याक एन्ड यतीमा आयोजना हुन लागेको कार्यक्रममा कुमार सानुले आफ्नो ब्याण्डका साथ लाइभ प्रस्तुती दिने भएका छन् ।
सानुले आफ्ना चर्चित नेपाली र हिन्दी गीत गाउनेछन् । ‘कुमार सानु लाइभ इन कन्सर्ट’ नाम दिइएको कन्र्सटमा नेपालका रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका वन्दना, स्मिता घिमिरेले गाउने छन् ।
नायिका श्वेता खड्काको ‘श्वेता श्री फाउन्डेशन’ को सहयोगार्थ यो कार्यक्रम हुन लागेको आयोजकले बताएका छन् ।
२७ बर्ष लामो करिअरमा कुमार सानुले १७ हजारभन्दा बढी गीत गाएका छन् । सानुले ‘म त अब रिसाउँछु, फूल भए जिन्दगी, साँची राँखु जस्तो लाग्छ, सपना सपना, यो कथा हो तृष्णा मेरो, यो दुई थोपा आँशु’ लगायतका ५ सय भन्दा बढी नेपाली गीत गाइसकेका छन् ।

ताजा खबर