अख्तियारको अनुसन्धानमा मन्त्रीको हस्तक्षेप

२०७५ मङ्सिर २५ मंगलबार ०८:०६:०० मा प्रकाशित

काठमाडौं । ओली मन्त्रीपरिषदका एकजना सदस्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानलाई प्रभावित पार्नेगरी भ्रष्टाचार मुद्दाका एकजना पात्रको पक्षपोषण गरेका छन् । भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले सिक्टा सिँचाई आयोजना निर्माणका क्रममा भ्रष्टाचारको आरोप लागेका पूर्व मन्त्री तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे निर्दोष भएको दावी गर्दै उनको बचाउ गरेका हुन् ।

अर्बौंको निर्माण कार्यमा विलम्व गरी देशलाई नोक्सान पुर्याएको विवादाष्पद पप्पु कन्स्ट्रक्सन कम्पनीको पनि बचाउ गर्दै आएका मन्त्री महासेठले कानूनी अनुसन्धान प्रक्रियामा अनुचित हस्तक्षेप गरेका छन् । उनले कालिका कन्स्ट्रक्सनका मालिक पाण्डेका पक्षमा भनेका छन्–“विक्रम पाण्डेविरुद्ध जसरी अख्तियार दुरुपयोग अनुसन्धानले मुद्धा चलाएको छ । त्यसमा उनको संलग्नता नहुन सक्छ । किनकी आयोजनाको नहर बनाउँदा भत्किनु स्वभाविक हो । अन्य देशका धेरै ठूला आयोजनामा पनि यस्तो समस्या आउन सक्छ ।”

कालिका कन्ट्रक्सनका मालिक पाण्डेमाथि अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरे पनि उनीमाथिको आरोप पुष्टी हुन नसक्ने महासेठको दावी छ । बाँकेको सिक्टा सिंचाई आयोजनामा अनियमितता भएको भन्दै पाण्डेसहित २१ जनाविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

कालिका कन्स्ट्रक्सले बनाएको सिक्टा सिंचाई आयोजना अन्तर्गतको नहर परीक्षणक्रममा भत्किएको थियो । मन्त्री पाण्डेविरुद्ध अख्तियारले दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ बिगो दाबी गरेको छ ।

 

 
 

ताजा खबर