जेठो टेलरिङ्ग सेन्टरको कथा

२०७५ मङ्सिर २३ आइतबार १४:३७:०० मा प्रकाशित

यो हो काठमाडौंको श्रेष्ठ टेलरिङ्ग सेन्टरको कथा । काठमाडौंको बागबजारमा चलिरहेको श्रेष्ठ टेलरिङ्ग सेन्टर कपडाका पारखीका लागि नौलो नाम होईन ।

बाबुकाजी श्रेष्ठ यसका संस्थापक हुन् । उनको नाम प्रोप्राइटरका रुपमा दर्ता भएको छ श्रेष्ठ टेलरिङ्ग सेन्टर संचालन भएयता । उनी काठमाडौंकै चाबहिल निवासी हुन् तर अहिले बस्छन् मैतिदेवी क्षेत्रमा ।

श्रेष्ठ टेलरिङ्गको नाम पुरै काठमाडौंले जान्दछ । काठमाडौं बाहिरको नेपाल पनि यो नामसँग अपरिचित छैन भन्न सकिन्छ । यसको गुणस्तरीय सेवा र विश्वसनीयताले यो परिचय बनेको मान्छन् बाबुकाजी श्रेष्ठ । अर्थोपार्जन गर्ने उदेश्यले कुनै नयाँ काम गरौं भन्ने सोचमा डुव्दाडुव्दै बाबुकाजीले कपडा सिलाउने काम सुरु गर्ने निर्णय गरे आजभन्दा ४४ वर्ष अघि । त्यहींबाट अघि बड्दै जाँदा आजको श्रेष्ठ टेलरिङ्ग सेन्टर बनेको हो बाबुकाजीको अनुभव छ । उनले सरल पत्रिकासँग कुराकानी गर्दा व्यवसायिक यात्राका अनुभवहरु सुनाए । यस्तो छ उनको अनुभव बाबुरामै शब्दमा:
 

चार दशकको यात्रा

यो काम मैले २०३१ सालमा सुरु गरेको हुँ । त्यो बेलामा म जागिरे थिएँ । जागिरको कमाईले नपुग्ने भएकोले यसको विकल्पमा के गरौं भन्ने सोच्न  थालें । अरु धेरै किसिमका कामहरु नसोचेको पनि होईन । आखिरमा यही कपडा सिलाउने काम थालें । यसमै कमाई भयो,आनन्द पनि आयो ।
 

प्रेरणाको स्रोत 

प्रेरणाको स्रोत भने पनि जे भने पनि आवश्यकताले नै यो काममा जोड्यो । पैसा चाहियो, कसरी कमाउने होला भन्ने सोच्न थालियो अनि आफैंले यही काम गर्ने निर्णय गरियो । त्यसले गर्दा आफ्नै आवश्यकता नै प्रेरणाको स्रोत बन्यो भनौं न । १९/२० वर्षको ठिटो थिएँ, जवानीमा पैसाको चलखेल बढि गर्नुपर्ने अनि आफैंले कमाई त पैसा हातपर्ने कुरा भएन ।
  
नामको छनौट

श्रेष्ठ टेलरिङ्ग खोल्दाखेरी के भयो भने अब अरु अरु के नाउँ राख्ने भन्ने भयो । त्यसपछि त मेरो आफ्नै नामबाट खोलुँ भन्ने पनि सोचियो । तर पछि आफ्नो थरबाट पो नामा राखौं भन्ने निष्कर्षमा पुगियो नि श्रेष्ठ टेलरिङ्ग नाम जुर्यो । त्यही नामबाट चल्दै गएपछि अहिले त ट्रान्जिट ब्राण्डको रुपमा स्थापना भयो ।

नयाँ काम नयाँ अनुभव

पहिले मैले यो काम अँगाल्दा खेरी सिलाई मेसिन मात्र राख्ने कपडा चैं अरुबाट ल्याउने र आफूले सिलाउने मात्र काम गरियो । तर यो काम धेरै समय चलेन । अनि आफैं कपडा ल्याउने आफैं सिलाउने काम थालियो । २०३४/३५ साल देखि यसरी काम गरियो । नेपालमा कपडा र सिलाई एकै ठाउँमा राखेर विकास गर्ने म नेपालको पहिलो व्यक्ति हुँ । अहिले नेपालभरी मैले जस्तै काम गर्ने व्यवसायी जन्मिएका छन् । यसरी हेर्दा मलाई आफ्नो कामप्रति गौरव लाग्छ । मैले गरेको काम अरुले पनि सिके र व्यवसायिक रुपमा अगाडी बढेको देखेर मलाई खुशी लाग्छ ।  

 सबैको सिलाएँ

त्यो बेलामा जेन्स कपडामात्र सिलाएको होईन । मैले लेडिज बच्चा सबै गरेको कपडा सिलाएँ । त्यतिबेला ग्राहकहरु अलि धेरै सिकायत गर्थे । शुरुमा त सिक्ने क्रममा धेरै चुनौति आए । तर काम गर्दै जाँदा सफल पनि हुँदै गैयो अनि दिनदिनै खुशी पनि थपिँदै गयो । 

सिलाईमा नयाँ प्रविधि
 

 पहिला पुराना प्रविधिका मेसिन चलाईन्थ्यो । तर अहिले सबै औजार नयाँ प्रविधिका छन् । त्यसले समय र खर्चमा पनि सजिलो भएको छ । कपडा सिलाईमा फिनिसिङ्ग पनि ल्याउन सकिएको छ । ग्राहकलाई उनीहरुले रोजेजस्तो कपडा सिलाएर दिन पाउँदा आफूलाई पनि खुशी बनाएको छ । नयाँ प्रविधिको काममा मजा आउँछ नि । 
 

परिवार नै व्यस्त
 

 शहरमा अहिले हाम्रा ४ वटा शाखा छन् । यो बागबजारको त मुख्य अफिस भैहाल्यो । त्यसपछि चुच्चेपाटी टावरमा अर्को शाखा छ । मैतिदेवि र त्रिपुरेश्वको वल्र्ड ट्रेड सेन्टरमा पनि शाखा छ । 


सबै शाखा छोराछोरी कै लागि खोलिदिएको हो । यहाँ बागबजारमा मात्रै  ३६ जना कर्मचारी छन् । अव अरु ठाँउमा १०/१२ जना छन् । पहिला त ३ सय तलब थियो । अहिले त कम्तिमा पनि १४/१५ हजार देखि ४०/५० हजारसम्म पनि छ ।

ज्वारी कोट र स्टकोटको माग

हामीसँग सिपालु कालीगड छन् । उनीहरु अहिले निकै रुचाईने सुट प्यान्ट र ज्वारी कोट अनि स्टकोट पनि सिलाउन सक्छन् । हामीकहाँ सिलाउन नसकिने भन्ने त्यस्तो केही छैन । 

विज्ञापनको महत्व

 विज्ञापन भनेको तरकारीमा मसला हाले जस्तै हो । नून मसला नहाली तरकारी स्वादिलो हुँदैन । व्यापारलाई लोकप्रिय बनाउन पनि विज्ञापनको महत्वपूर्ण भूमिका हुन्छ । श्रेष्ठ टेलरिङ्गको विज्ञापन यसका ग्राहक मार्फत पनि भैरहेको हुन्छ । कहिलेकाहीँ मिडिया मार्फत पनि गर्नुपर्छ ।

देश विदेशका ग्राहक

कपडा सिलाउने नियमित ग्राहक हुँदैनन् । तर काम खाली पनि हुँदैन । किनभने मानिसले दिनैपिच्छे त कपडा सिलाउँदैन । कहिलकाहीँ सिलाउने हो । विवाह,ब्रतबन्ध र लगन जस्ता अवसरमा कपडा सिलाउने धेरै हुन्छन् । स्थानीय ग्राहक घुमीफिरी आई नै रहन्छन् । हाम्रोमा विदेशबाट पनि कपडा सिलाउने ग्राहक आउँछन् । यूरोपतिरका छन् केही ग्राहक ।

 सुटको सिजन

कार्तिक र जेठ बाहेकको अन्य सिजनमा सिलाई बढी हुन्छ । सुटले मानिसको पर्सनालिटी हाइलाइट गर्ने हो । पर्सानिलिटी देखाउने काम सुटले गर्दो रहेछ । झारझुरे लुगा लगाउँदा कसैले महत्व दिँदैन । सुट लगाएपछि त्यसको स्टाण्डर्ड नै अर्कै । सुट पहिरिएपछि जहाँ गएपनि अरुको हेराई नै अर्कै हुन्छ । मानिसहरु सुटमा ठाँटिएर हिँड्न रुचाउनुको कारण यही नै हो । मानिस राम्रो कपडामा किन लगानी गर्छ भने उ समाजमा आफ्नो भाउ बढाउन चाहन्छ । सबैले हेरुन् राम्रो देखिउँ भन्ने उदेश्यले नै मानिसहरु कपडामा खर्च गर्न तत्पर हुन्छन् । त्यही कारण समय बित्दै जाँदा वर्षैपिच्छे जस्तो कपडाको डिजाईन फेरिँदै पनि गएको छ ।

श्रेष्ठ टेलरिगंको विशेषता

अर्डर अनुसारको सामान समयमा दिन्छौं ।  गुणस्तरीय सेवा पहिलो उदेश्य छ । नेपालको सवैभन्दा जेठो कपडा र सिलाई सेन्टर भएकाले यसको नाम अझ राम्रो गर्दै लानु पर्छ भन्ने भावना पनि रहेको छ । ग्राहकले विश्वास गर्न छाडे भने यो इतिहास जोगाउन सकिँदैन । त्यसैले ग्राहकको मन प्रशन्न हुँदा हामी यत्तिकै खुशी हुन्छौं ।     
 

ताजा खबर