धर्म र रिलिजन एकै होइन 

२०७५ मङ्सिर २२ शनिबार १७:४०:०० मा प्रकाशित

हामी कहिलेकाहीं गुटुमुटु भएर लत्रिएको डोरी देखेर झसङ्ग हुन्छौं, मुटु ढक्क फुल्छ डरले । किनभने हामी डोरीमा सर्पको मिथ्यानुभूति गछौं । यो मिथ्याभाषलाई वेदान्त दर्शनले विवर्ताभाष पनि भन्छ । तर आजभोलि डोरीमा सर्पाभाषको मात्रै समस्या रहेन । हामी सम्पूर्ण क्षेत्रमा विवर्त ज्ञान अथवा भ्रम–ज्ञानले ग्रस्त छौं । पाइला पाइलामा डोरीहरु सर्पबाट तर्साइ रहेका छन् । सबैभन्दा बढी त डोरीमा सर्प हैन सर्पलाई डोरी ठानेर हामी झुक्किइ रहेका छौं । डोरीले टोक्दैन, सर्पले टोक्छ । टोकाई पनि विषालु हुन्छ । त्यही भएर हामी एक निमेषको लागि डोरीमा सर्पाभाष हुँदा पनि डराउँछौं । तर हामीले डोरी ठानेर नाम्लो बनाएर शिरमा राखेको डोरी सर्प भएको थाहा पाउँदा हामीलाई कस्तो होला ? आज हामी राजनीतिको नाममा यही भोगीरहेका छौं ।

नेपाली सभ्यता सनातनी हो । सनातनदेखि चलिआएको परम्परा नै नेपाली धर्म हो । धर्मको नाममा सीमातीत राजनीति हुन थालेको छ । अंग्रेजी शब्दको ‘रिलिजन’ लाई धर्मसँग जोडिएको छ । ‘रिलिजन’ भनेको सम्प्रदाय मात्रै हो । ‘धर्म’ चाहि जीवन पद्धति हो । धर्मले समग्र मानवताको मात्र नभइ चराचर जगतको नै प्रतिनिधित्व गर्छ । ‘धर्म’ समग्र आध्यात्मिक सत्य हो । ‘रिलिजन’ परम्परागत विश्वास मात्र हो । धर्म सर्वव्यापी हुन्छ, अनि सर्वार्थकारी हुन्छ । 

“ॐ द्यौ शान्तिरन्तरिक्षः शान्तिः पृथ्वीशान्ति रापः शान्ति रोषधयः शान्तिः । वनस्पतय शान्तिर्विश्वेदेवाः शान्तिब्र्रम्ह शान्तिः सा मा शान्तिरेघि ।।”
अर्थात, देवलोक, अन्तरिक्ष, पृथ्वी, जल, औषधी, वनस्पति, सम्पूर्ण देवता, ब्रम्ह लगायत सर्वत्र शान्ति होस् र त्यो ब्रम्हस्थ शान्ति सहित मलाई पनि शान्ति प्राप्त होस् ।  यही हो धर्म । यहाँ कोेही प्रति विभेद गरिएको छैन । यस्तो उदात्त भावना प्रति किन यति धेरै घृणा अनि ईष्र्या प्रकट भइरहेको छ ? धर्म त अखण्ड सत्य हो, तर यसलाई बलजफति टुक्राउने कोशिस भइरहेको छ । नेपाल एउटा राष्ट्र मात्र हैन यो त एक आध्यात्मिक व्यक्तित्व पनि हो । जसले जतिसुकै ईष्र्या गरे पनि सत्यम शिवम सुन्दरमको इतिहास कसैले मेट्न सक्दैन । गौतम बुद्धको प्रज्ञानलाई कसैले नजर अन्दाज गर्न सक्दैन । शिवको तपःस्थली अनि किराँतेश्वरको पवित्र माटो भित्र केही लोभी पापीहरुको चलखेल हुँदैमा यहाँको आध्यात्मिक शक्ति समाप्त हुँदैन ।

राजनीतिमा अत्यन्त महत्वाकांक्षी पाखण्डीहरुको प्रवेशले यस्ता अवाञ्छित क्रियाकलापहरु भईरहेका छन् । अनियन्त्रित लोभ अनि तृष्णाग्रस्त व्यक्तिहरुको झुण्डले राजनीतिक क्षेत्र कब्जा गरेको छ । नैतिक आचरण नभएका सिद्धान्तहीन झुण्ड केवल आफ्नो निहित स्वार्थको लागि राष्ट्र नै बेच्न उद्यत भइरहेका छन् । हामी तिनैलाई आफ्नो भाग्य निर्माता मानिरहेका छौं । एउटै कुराबाट पटक पटक झुक्यार्इँदा पनि नेपाली जनता तिनै लोभ र तृष्णामा निर्लिप्त झुण्डहरुलाई नै आफ्नो विश्वास सुम्पिरहेका छौं । धर्मका नामबाट आएका सम्पूर्ण विवादहरु कथित नेताहरुको स्वार्थका लागि पैदा गरिएका हुन् । इशाइ मिशिनरीबाट पालित पोषित भृत्यवर्गहरुबाट नेपाल जस्तो अति सुन्दर आध्यात्मिक सरोवरमा ढुंगा हान्ने दुस्प्रयास भईरहेको छ । धर्म एवं अध्यात्मलाई कर्म गरी खान नसक्ने केही अकर्मण्य व्यक्तिहरुले आफ्नो क्षणिक स्वार्थको लागि सिंगो राष्ट्र एवं समाजमा दूरगामी असर पर्ने निकृष्ट कार्य गरिरहेका छन् ।

शरीर भोजन तथा व्यायामद्वारा तन्दुरुस्त रहन्छ । मन विज्ञान एवं आलोचनाबाट सज्ञान रहन्छ । आत्मा चाहिं कला, साहित्य दर्शन एवं धर्मबाट प्रबद्ध हुन्छ । तर धर्मलाई केही ठग, अयोग्य तथा धूर्तहरुको जमातले उनीहरुको शरीरलाई भरण–पोषण गर्नका लागि गलत व्याख्या गर्दै दुरुपयोग गरिरहेका छन् । हुनत नेपालमा इशाइ धर्म विस्तार गर्ने प्रयत्न धेरै पहिलादेखि भईरहेको छ । नेपालका दुई ठूला छिमेकी भएका कारण पनि नेपालले यो समस्या भोग्नु परेको कुरा बेला बेलामा आइरहेका छन् । यति खुलेआम, कुनै नैतिक सीमा नै हेक्का नगरी अर्काको धार्मिक सभ्यतामाथि यस्तो नाङ्गो आक्रमण गर्नु जङ्गली चिन्तनका पराकाष्ठा हो । यसमा कारणहरु विभिन्न छन् । दुई ठूला एवं शक्तिशाली राष्ट्रलाई निगरानी गर्नका लागि एउटा मुख्य कारण भएपनि बाहिरी शक्तिबाट पालित पोषित व्यक्तिहरुको हातमा राज्यको बाग्डोर पुग्नु अर्को प्रमुख कारण हो । त्यसैगरी हिन्दुसनातन धर्मकै नाममा पहेंलो वस्त्रधारण गरेर हिँड्ने कथित गुरु–पुरोहितहरुको पाखण्डी समूहका कारण पनि सनातन हिन्दु सभ्यता माथि आक्रमण गर्न सहज वातावरण निर्माण भएको छ ।

राजनीतिलाई कमाई खाने भाँडो बनाउनेहरु र धर्मलाई पनि कमाइ खाने साधन बनाउने प्रवृत्तिले गर्दा हाम्रो संस्कृति एवं सभ्यता नै बिक्री गरेर भौतिक साधन बटुल्ने प्रचलन ह्वात्तै बढ्यो । १० वर्षसम्म जन–युद्धको नाममा इशाइहरुको पैसा लिएर हिन्दु–सनातन सभ्यतामाथि निरन्तर आक्रमण भयो । खुलेआम आक्रमण माओवादीहरुको कथित जन–युद्धबाट शुरु भयो । त्यस्तो आत्मघाति कथित जनयुद्धलाई कतिपय मानिसहरु राजनीतिक आन्दोलन भनेर त्यही घातक अभियानमा सामेल भए । तत्कालीन राजा ज्ञानेन्द्रको मूर्खता एवं जडाग्रही शासनका कारण आजीत भएका गिरिजाप्रसाद कोइराला राजालाई तह लगाउने नाममा इशाइबाट सञ्चालित तत्कालिन माओवादीका राष्ट्रघाती एजेण्डालाई आत्मसात् गर्न पुगे । सिद्धान्त, आदर्श, निष्ठा एवं कल्याणकारी राजनीति गर्नुपर्नेमा प्रतिशोध, हिंसा, एवं लेनदेनको राजनीति फस्टाएका कारण नेपाली मौलिकता मेटिने अवस्थामा पुगेको छ । राजनीति उपकारी हुनुपर्नेमा सीमान्त पीडकका रुपमा ब्यवहृत भइनैरह्यो ।

धर्म जनताको व्यवहार हो । धर्म आस्था होइन, यो त जीवनवृत्तिको आयाम हो । अनेकौं आस्था एवं विश्वासहरुलाई जोडेर छहारी दिने काम गर्छ धर्मले । धर्म त सनातन सभ्यताको सर्वकल्याणकारी भावना हो । सम्पूर्ण जगतको हित नै धर्मको उद्देश्य हो । सनातन सभ्यता न त कदर हिन्दुभाव हो न त क्रिश्चियन भाव हो न त मुस्लिम । यो त यी सबै सम्प्रदायहरुलाई एकीकृत गर्ने दिव्य अभियान हो । यदि नेपालमा नेपालको सनातन सभ्यता कमजोर बनाइन्छ भने यहाँ अरु कुनै पनि ‘रिलिजियस’ सम्प्रदायहरु सुरक्षित हुँदैनन् । धर्म नै एउटा यस्तो साधन हो, जसले अनेकत्वमा एकताको छहारी प्रदान गर्न सक्छ । धर्म त जीवन भन्दा पनि माथि छ । जीवनको दिव्यतापूर्ण रुपान्तरण धर्मको काम हो । धर्म साधारण कर्मकाण्डीय प्रचलनमा मात्रै सीमित हुँदैन, सच्चा पूजा भनेको नै दुःखी आत्माको सेवा गर्नु हो ।

धर्मले प्रत्येक आत्माको अमीत मूल्यलाई आत्मासात् गर्छ । धर्मले सम्पूर्ण आत्माहरुको सचेत समानताबाट प्राप्त दिव्य आनन्दलाई सुःशान्त एवं आदर्श सामाजिक सभ्यता निर्माण गर्नका लागि प्रयोग गर्छ । धर्मले विखण्डन हैन अखण्ड सभ्यताको कल्याणकारी समान पैदा गर्छ । तर आज धर्मको नामबाट धर्मकै बदनाम गरिंदै छ । राजनीतिका नामबाट समाजमा प्रवेश गरेका खलनायकहरुको पहिचान गरी उनीहरुको हातबाट वागडोर खोस्नु पर्छ । विषालु सर्पलाई न्यानो मफलर सम्झिएर हामी रमाइरहेका छौं, त्यही कथित मफलर अब विषालु सर्पको रुपमा फँडा उठाइसकेको छ । अब यी कथित नायकहरुको नकाव खोलिदिनु पर्छ । नेपाली समाजको सर्वोत्कृष्ट सनातनी सभ्यताको संरक्षण गर्नैपर्छ । 

ताजा खबर