कृष्णको ‘पाञ्चाली’ सार्वजनिक

२०७५ मङ्सिर २१ शुक्रबार २२:२२:०० मा प्रकाशित

काठमाडौं । कृष्ण कँडेल फोकस भएनन् । फोकस आउट जीवन यात्राका अविराम यात्री चैं भए उनी । रंगमञ्च र सडक नाटकमा कलाकार,साहित्य र साहित्यमा पनि कविताका पारखी,चोटिला उद्घोषक अनि जीवनको मध्यान्तरपछि मानव अधिकार आन्दोलनका अभियन्ता । कृष्णको वैंश र वसन्तहरु यिनै क्षेत्रहरुले लिएका छन् । उनले व्यक्तिगत र पछि पारिवारिक जीवनमा आएका तमाम तगाराहरु एउटै कारण नाघ्दै अघि बढे । त्यो थियो–‘स्वतन्त्रता’ । स्वतन्त्रताप्रतिको उनको एकलव्य मोह र त्यसका लागि उत्तिकै समर्पणले कृष्ण सदा उर्जाशील भैरहे । अरु निराशा र हतासालाई यसैका बलमा पछारीरहे । यसरी अघि बढ्दै जाँदा कृष्ण जीवनको उपल्लो कान्लामा उक्लिसक्दा पनि ‘पाञ्चाली’सँग मोहित भए र उसलाई कविताको मंगलसूत्र पहिराएर बजारमा ल्याएका छन् एउटा रोचक लोकार्पण गरेर ।

शुक्रबार कृष्णकी ‘पाञ्चाली’ लाई सार्वजनिक गर्दा वैंशका कवि र निवन्धकार अनि त्यसपछिका दशकहरुमा अविश्रान्त पत्रकार किशोर नेपाल कविहरुलाई चुनौति दिँदै थिए –‘देश सिथिल भएको बेला कविताले क्रान्ति ल्याउँछ । अहिले देश सिथिल भएको छ । यही बेला उर्जा थप्न नेपाली काब्य जगतमा कृष्ण कँडेलको कविता सङ्ग्रह पाञ्चाली आएको हो ।’ 

  सर्वनाम थिएटरमा भेला भएका विभिन्न पृष्टभूमिका दर्शकवीच कविता संग्रह विमोचन पछि कृष्णले उनको मौलिक शैलीमा तीनवटा कतिा वाचन गरे र आफ्ना कवितालाई कम नआँक्न सन्देश पनि दिए । 

छरिता गजलमा नाम कमाएका गजलकार ज्ञानुवाकर पौडेलले निवन्धभन्दा लामो भाषणमा कृष्णको निकै चर्चा गरे । तर उनले कविताको वजन कम नभएको भनेर प्रशंषा पनि गरे । 

सडक नाटकका प्रथम प्रयोक्ता अशेष मल्ल त कृष्णका काठमाडौं प्रवाशकाल देखिकै अग्रज मित्र थिए । उनले प्रमुख अतिथिका हैसियतमा कविताको चर्चा कम तर कृष्णको जीवन यात्राका बारेमा ज्यादा चर्चा गरेर उनलाई धीर संघर्षशील व्यक्ति भनेर चिनाएका थिए । अशेष सर्बनामका संस्थापक हुन् ।

विमोचन समारोहमा प्राध्यापक सावित्री कक्षपती र मानव अधिकार तथा शान्ति समाजका निवर्तमा अध्यक्ष गंगाधर अधिकारी र समाजकै नवनिर्वाचित अध्यक्ष उत्तम पुडासैनीले पनि कृष्ण कँडेलका कवितामा विषय र शिल्पको सन्तुलन भएको बताएका थिए ।  
 

ताजा खबर