म महिलावादी होइन, मानवतावादी हूँ

२०७५ मङ्सिर २१ शुक्रबार १२:२३:०० मा प्रकाशित

म आफूलाई महिलावादी भन्दिन । महिलावाद र पुरुषवादमा मलाई विश्वास पनि छैन । म मानवतावादी हूँ । मानिसलाई महिला या पुरुषका रुपमा नहेरेर मानवका रुपमा हेर्नुपर्छ भन्ने विश्वास राख्छु । समानता र न्यायमा विश्वास राख्छु । तर, समाजमा महिलामाथि अलि बढि नै थिचोमिचो र विभेद भएकोले त्यो रोकिनुपर्छ, न्याय हुनुपर्छ भन्ने बिचार राख्छु र त्यसै अनुसार आफूलाई समर्पित पनि गर्दै आएकी छु । 

यता केही समयदेखि नेपालमा महिलाको अवस्थालाई लिएर बढाई चढाई र अतिरंजना गर्ने काम भइरहेको छ । यसको एउटा उदाहरण हो निर्मला पन्तको हत्या प्रकरणमा गरिन खोजिएको राजनीतिकरण । निर्मला पन्तको फोटो बोकेर जो हिँड्दैन, जसले फेसबुक ट्वीटरमा निर्मला पन्तको फोटो हाल्दैन उ अपराधी हो, हत्याको मतियार हो भने जसरी प्रचार गरिँदैछ । निर्मला पन्तको हत्यालाई देखाएर नेपालमा महिलाको अवस्था तालिवान कालको अफगानिस्तानको जस्तै छ भनेर प्रचार गर्न खोजिँदैछ ।

हरेक हत्या तथा अपराध संवेदनशील हुन्छ । हरेक अपराधका अपराधी पत्ता लगाउने काम राज्य संयन्त्रको हो । निर्मलाका हत्यारा अहिलेसम्म फेला परेको छैन । तत्काल फेला पर्नुपथ्र्यो तर परेन । निर्मलाका हत्यारा अवश्य फेला पर्नेछ,फेला पारेर कार्वाही गर्न सरकारले कुनै पनि बहानामा विलम्व गर्नु हुँदैन ।

कुनै पनि घटनाका अपराधी तत्काल पक्राउ परोस् भन्ने जनचाहना जायज हो । तर सबै घटनामा यसो हुन सम्भव हुँदैन । कुनै अपराधी तत्कालै पक्राउ पर्छ, कुनैलाई समय लाग्छ । बीसौं वर्षपछि पनि अपराधी पक्राउ परेका सयौं उदाहरण छन् । नेपालमा मात्र होइन विश्वका कुनै पनि मुलुकमा अपराधी तत्काल पक्राउ पर्छन् भन्ने छैन । अपराधी तत्काल पक्राउ पर्न सम्भव भएन भन्दैमा अपराधीले उन्मुक्ति पाउँछ भन्ने कल्पना गर्न हुँदैन ।  

महिला हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा आयोजित विभिन्न कार्यक्रममा यो कुरा मैले बोलिरहेकी छु । 

निर्मलाको हत्या सरकार आफैंले गरेको हो, मन्त्रिममण्डलकै सदस्यहरु यसमा संलग्न छन् भने जसरी प्रचार गरिएको छ । कुनै घटनाका अपराधी तत्काल पक्राउ पर्न सम्भव भएन भने समग्र सरकार दोषी हो भन्न मिल्दैन । अपराधी तत्काल पक्राउ परेन भन्दैमा समग्र प्रहरी संगठन काम नलाग्ने भयो भन्न मिल्दैन । तर, निर्मलाका हत्यारा पत्ता नलागेको हुनाले यही बहानामा आन्दोलन गरेर देशलाई अस्थिर बनाउनुपर्छ भनेर कतिपय शक्ति लागेको देखियो । निर्मलाको हत्यारा पत्ता नलागेको बहानामा नेपाल सरकारलाई नै बदनाम बनाउने प्रयास भइरहेको देखिन्छ । अपराध हिजो पनि थियो, भोली पनि हुनेछ । अपराध निमिट्यान्न हुन सक्दैन । अपराध निमिट्यान्न हुने आदर्श अवस्थाको कल्पना गर्न सकिन्छ तर त्यो व्यवहारिक रुपमा सम्भव हुँदैन । समाजमा हुने अपराधका घटनामा राजनीति गर्ने, कुनै घटनालाई टिपेर त्यसलाई मार्केटिङ गर्ने, त्यस्तो घटनालाई उछालेर समाजमा त्राश फैलाउने काम गर्न हुँदैन । निर्मला हत्या प्रकरणमा यसै गर्न खोजिएको छ । 

निर्मलाका हत्यारा पक्राउ पर्न नसकिरहेको अवस्थालाई यसरी प्रचार गरिएको छ कि नेपालमा महिला पुरै असुरक्षित छन् । नेपालमा महिला बाटोमा हिँड्नै हुँदैन, पूरै असुरक्षा छ, घरभित्रै लुकेर बस्नुपर्ने अवस्था छ, कुनै पनि बेला हत्या र बलात्कार हुनसक्छ भने जसरी प्रचार गरिएको छ । यसरी अतिरंजित र हुँदै नभएको अवस्थाको अन्तर्राष्टिय प्रचारले देशलाई फाइदा गर्छ र ? महिला हिंसा विरुद्धको १६ दिने अभियानको दौरानमा कतिपय महिलाहरुले नै अतिरंजित प्रचार गरिरहेको देख्दा दुःख लाग्छ । समस्या जे हो त्यही रुपमा बुझिनुपर्छ । समस्यालाई अतिरंजित र बढाईचढाई गर्न हुँदैन । 

नेपालमा महिला हिंसा छ, घरेलु हिँसा छ, विभेद र शोषण छ । यो सबै वर्तमान सरकारको पालामा भएको हो भने जसरी शतप्रतिशत झुठो र भ्रमपूर्ण कुरा गर्नेहरु पनि देख्न पाइएको छ । यस्ता भुठा कुरा नगरौं । केपी ओली नेतृत्वको सरकार थिएन र अरु कसैको सरकार थियो भने देशमा हत्या बलात्कार केही हुँदैनथ्यो, यदी भइहालेको अवस्थामा पनि घटना स्थलमै अपराधी पक्राउ पर्थे भने जसरी दुष्प्रचार गरिँदैछ । हत्या, अपराध तथा अन्य अपराधहरु कुनै पनि सरकारको पालामा हुन हुँदैन । त्यस्ता घटना भइहालेको अवस्थामा अपराधी तत्काल पक्राउ पर्नुपर्छ । वर्तमान सरकारले जानाजान अपराधी पक्रिएन भनेर प्रचार गरिँदैछ । यस्तो प्रचारको पछाडि के स्वार्थ लुकेको छ ? किन अवस्थालाई बढाईचढाई गरिँदैछ ? सबैले बुझ्न जरुरी छ । सरकारलाई विरोध गर्ने नाममा समाजलाई त्रशित पार्ने काम भइरहेको तथ्य सबैले बुझ्न जरुरी छ । बलात्कार र हत्या जस्तो संवेदनशील पीडादायी घटनाको आडमा राजनीति गर्नु आफैंमा अपराध हो । झुठो प्रचार गर्नु अपराध हो । हाम्रो समाजमा झुठो प्रचारको अपराध भइरहेको छ, अवस्था जे हो त्यसलाई बढाईचढाई प्रचार गर्ने अपराध भइरहेको छ । 

सत्य के हो भने नेपालमा महिलाको अवस्था विगतको तुलनामा राम्रो छ । हुनुपर्ने जस्तो अवस्था भएको छैन तर विगतमा भन्दा धेरै सुधार भएको   छ । राज्यका विभिन्न क्षेत्रमा गत केही दशकमा भएको सुधारलाई नियाल्यौं भने महिलाको अवस्थामा भएको सुधारलाई गर्वसाथ लिन सकिन्छ । हुनत यसो भन्दा कतिपयले निर्मलाको फोटो तेर्साएर महिलाको अवस्था सुधार भएको हो भने निर्मलाको हत्यारा खोई भन्न सक्छन् । कुनै विपन्न तथा विजोग भएकी महिलाको अवस्था देखाएर महिलाको अवस्था यस्तो छ, सुधार भयो भन्न कसरी मिल्छ भन्न सक्छन् । मैले माथि पनि उल्लेख गरिसकेकी छु, महिलामाथि विभेद र अन्याय छ, महिलामाथि शोषण र उत्पीडन छ । यी सबैको वावजुद अवस्थामा सुधार हुँदै गएको छ । केही पात्र या घटनालाई देखाएर सबैको अवस्था यस्तै छ भन्नु वदनियत हो । सामाजिक संजालमा यस्तो वदनियत व्यापक रुपमा देखिने गरेको छ । 

महिला हिंसा विरुद्धको १६ दिने अभियानमा महिलाको वास्तविक अवस्था उजागर गर्दै समाधान पहिल्याउन सबैको योगदान हुन आवश्यक छ । स्थितिलाई बढाइचढाई गरेर तथा कुनै घटनालाई तेर्साएर समग्र परिस्थितिको मूल्यांकन गर्न हुँदैन । प्रचार तथा दुष्प्रचारलाई केलाउँदै सत्य पहिचान गर्नु आज हरेक नागरिकको कर्तव्य हुन आएको छ ।

(चौधरी प्रतिनिधि सभामा नेकपाकी सचेतक हुन् ।)
 

ताजा खबर