गुन्जिए विदेशी भूमिमा पुष्पाका गीत 

२०७५ मङ्सिर २० बिहीबार १३:२१:०० मा प्रकाशित

कुपिओ (फिनल्याण्ड) । गीतकार पुष्पा खनालले आफ्ना दर्जन गीत तथा कविताहरू फिनल्याण्डको कुपिओमा वाचन गरिन् ।  

खनालले पहिलो पटक त्यसमा पनि स्वदेश बाहिर अङ्गे्रजी भाषामा यसरी एकल कविता वाचन गरेकी हुन् । यस क्रममा उनले चाहेर तिमीलाई पाउन सकिन, आउँदा जाँदा बाटो परे, दाग कति राम्रो, मैले पुज्ने देव, आमा, गुलाव र म, नारी, मेरो नियति, हे विषलगायतका दर्जन बढी गीत र कविता बाचन गरेकी थिइन् । 

खनालका अहिलेसम्म २०० भन्दा बढी गीत तथा कविता छन् । एउटा पुस्तक प्रकाशन गरिसकेकी खनालको अब चाँडै अर्र्को पनि गीतको किताब निस्कन लागेको उनले बताईन् । नेपालकी उदीयमान गीतकार खनालका गीतहरुमा अञ्जु पन्त, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सरोज कोइरालालगायतका गायक गायिकाले स्वर दिएका छन् । खनालका गीत तथा कवितामा ममता, स्नेह, जागरुकताका साथै विद्यमान संसारसँगको बिद्रोह भेटिन्छ । 

उनको गीत तथा कविता वाचनमा स्थानीय सङ्गीतकार टोनी लेतो र पेते रिसेनले सङ्गीत दिएर सहयोग पुर्याएका थिए । उपस्थित फिनिस नागरिकले कविता तथा गीतले नेपालको कला, संस्कृति र समाजलाई बुझ्न निकै सहयोग गरेको बताए । 

स्थानीय माउण्ट शेर्पा रेस्टुराँमा आयोजना गरिएको कविता तथा गीत वाचन कार्यक्रममा फिनल्याण्डका स्थानीय वासिन्दा र नेपालीहरुको उल्लेख्य संख्यामा उपस्थिति थियो ।

ताजा खबर