पुस पहिलो साता पर्यटन महोत्सव आयोजना गर्दै इलाम

२०७५ मङ्सिर २० बिहीबार १३:०६:०० मा प्रकाशित

काठमाडौं । कृषि उपज र पर्यटन व्यवसायमा प्रगति गर्दै आर्थिक उन्नति गरिरहेको इलामले आगामी महिना पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । पुस ५ गते देखि १६ गतेसम्म विभिन्न गतिविधि समावेश गरेर आयोजना हुन लागेको महोत्सवले आन्तरिक र छिमेकी देशशरुबाट पर्यटक आकर्षित गर्ने विश्वास आयोजकहरुको रहेको छ । यही उदेश्यले महोत्सवको प्रचार प्रशार सुरु गरिएको छ ।

 महोत्सवबारे प्रचार प्रशारकै उदेश्यले इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिले हालै काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको छ । आयोजकका अनुसार, महोत्सवकै समयमा ५० हजार पर्यटकले इलाम भ्रमण गर्ने उनीहरुको विश्वास छ । 

इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिकी कोषाध्यक्ष दिब्या भट्टराईले महोत्सवको तयारी र प्रचार नेपाल र भारतका विभिन्न शहरहरुमा पनि भइरहेकोले अपेक्षा अनुसार नै पर्यटक   इलाम भ्रमणमा आउने बताइन् । 

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले समृद्धीको आधार भनेकै पर्यटन रहेकाले महोत्सव साविक मेची अन्चलका पाँचथर, ताप्लेजुङ, झापामा पनि क्रमिक रुपमा आयोजना गरिने जानकारी दिए । उनले काठमाडौं नजिकका पोखरा, चितवनजस्तै मेची क्षेत्रभित्र पनि आकर्षक पर्यटन गन्तब्यहरु रहेकाले प्याकेजकै रुपमा पर्यटकहरुलाई घुम्न आउन निम्ता गरे ।

महोत्सवको प्रचार तथा प्रवद्र्धन भारतको सिक्किम, दार्जिलिङ साथै पश्चिम बंगाल क्षेत्र र नेपालमा विभिन्न स्थानहरुमा भइरहेकाले अपेक्षा गरेअनुरुपकै पर्यटक भित्रिने उनले बताए । महोत्सवको अन्तिम दिन अर्को वर्ष यस्तै महोत्सव आयोजना गर्ने जिल्लालाई महोत्सवको लोगो हस्तान्तरण गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए । महोत्सवको प्रचारका लागि मेची क्षेत्रका ५० बढी ब्यवसायी भारतको कलकत्ता जाने पनि उनले जानकारी दिए । 

 महोत्सवको अवसरमा इलाममा स्थानीय उत्पादन र व्यावसायिक संस्थाका उत्पादनको सयवटा स्टल राखिने आयोजकले जनाएको छ । सो अवसरमा साहित्यिक कार्यक्रम, खेलकुद, स्थानीय पर्यटकीय स्थलको भ्रमण, मेची क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गर्न सकिने प्रयासका बारेमा पनि बहसहरु संचालन गरिने आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 

करिब तीन करोड रुपैंयाँ बराबरको कारोबार हुने अनुमान गरिएको महोत्सवमा ५० लाख बढी खर्च हुने आयोजकको भनाई छ । महोत्सवको प्रवद्र्धकका रूपमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति छन् ।

मेची क्षेत्रमा झापा जिल्लाभित्र केचनकवल, अर्जुनधारा, सतासीधाम, जामुनखाडी सिमसार क्षेत्रलगायतका पर्यटकीय स्थल छन् भने इलाममा सानी पाथिभरा, कन्याम, अन्तुडाँडा, माइपोखरी, गजुरमुखी, लारूम्वा, सिद्धिथुम्का, सलकपुर, छिन्टापु, टोड्के झरनालगायतका पर्यटकीय गन्तब्यहरु चर्चामा छन् । 

त्यस्तैगरी पाँचथरमा जोरपोखरी, सिलौटी, हिलिहाँङ दरबार,  छिन्तापु, तिम्बुङ पोखरी, पौवा भञ्ज्याङलगायतका गन्तब्यहरु छन् । ताप्लेजुङमा भने प्रसिद्ध धार्मिकस्थल पाथिभरा देवी मन्दिर, कंचनजंघा हिमश्रृंखला, तिम्बुङपोखरी, मिल्के जलजले क्षेत्रलगायतका स्थानहरु पर्यटकीय गन्तब्यका रुपमा चर्चित छन् । 
 

ताजा खबर