आज लेखा समितिमा स्पष्टीकरण दिँदै पर्यटनमन्त्री अधिकारी

२०७५ मङ्सिर १९ बुधबार ११:०२:०० मा प्रकाशित

काठमाडौं । सार्वजनिक लेखा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग वाईड बडी विमान खरिदमा भएको आर्थिक अनियमितता सम्बन्धमा आज स्पष्टीकरण लिने भएको छ । नेपाल बायुसेवा निगमले खरिद गरेको   वाईड बडी जहाज खरिद गर्दा ६ अर्ब ५९ करोड घोटाला भएको विवाद सार्वजनिक भएपछि समितिले अनुसन्धान सुरु गरेको छ । मन्त्री रवीन्द्र अधिकारी यसबारेमा स्पष्टीकारण दिन आज १२ बजे समितिको बैठकमा हाजिर हुने छन् ।

  मन्त्री अधिकारी वाईड बडी खरिदको विषयमा अनियमितता ढाकछोप गर्न अग्रसर भएको भन्दै आलोचनाको भागिदार बन्दै आएका छन् । उनले यति ठूलो आर्थिक अनियमितताको आफैंले अनुसन्धानको पहल गर्नुपर्नेमा उल्टै दोषी देखिनसक्ने पदाधिकारीहरुको पक्षपोषण गर्दै हिँडेको भनेर लेखासमितिकै बैठकहरुमा समेत आरोप लागेको छ । 

 समिति बैठकमा मन्त्री अधिकारीले वाईड बडी खरिदका सम्पूर्ण काम र रकम भुक्तानी आफूले मन्त्रालयको बागडोर सम्हाल्नु अगावै भैसकेको बताउँदै आएका छन् । तर सदस्यहरुले उनको जवाफप्रति अविश्वास जनाउँदै अनुसन्धानको माग गर्दै आएका छन् ।

बाईड बडीको विमान ल्याउने क्रममा ठूलो अनियमितता भएको र त्यसपछि निगमको आर्थिक अवस्था चौपट भएको तथ्य हालै सार्वजनिक भएको    छ । निगमको बेडामा आएका दुईवटा बाईड बडीका जहाजलाई उडाउने नयाँ गन्तव्यको व्यवस्था दुईवर्षभन्दा अगाडि देखि २४ अर्बका जहाज ल्याएको निगमको व्यवस्थापनले हालसम्म गर्न सकेको छैन । निरन्तर १२ देखि १३ घण्टा आकाशमा उड्न सक्ने यी वाईड बडीका जहाजलाई निगमले जम्मा ७० मिनेटको उडान समय रहने दिल्लीमा उडाईरहेको छ । दुवै जहाजहरु दैनिक औसत दैनिक ५ देखि ७ घण्टामात्र उडेका छन् । यी जहाजलाई उडाउने नाममा निगममा रहेका एअरका ३२० -२०० सेरिजका न्यारो बडीका दुई जहाज र एक बोइङ ७५७ का उडान समय काटिएका छन् ।

निगमलाई यूरोपेली यूनियनले उड्डयनको कालो सूचीमा राखेकोले निगमका जहाजहरु यूरोप उडनबाट बञ्चित रहदै आएका छन् भने निगमले आफ्नो विजनेश प्लानमा उल्लेख गरेको दक्षिण कोरियाको राजधानी सिओलस्थित इचोन विमानस्थल, जापानको ओशाका र साउदी अरेवियाको रियादमा पनि अनुमति पाउन सकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमले आन्तरिक र अन्तर्राष्टिय उडानको क्षेत्रमा रहेका आफ्ना विमानहरुको सुरक्षा लेखा परीक्षण नगराएको आरोप लगाएको छ । राष्टिय दायित्व नै पुरा नगरेकोले आफूहरु निगमको अन्तर्राष्टिय गन्तब्य बढाउन विदेशका नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीलाई निम्त्याएर निगमको उडान सुरक्षाको कमजोर लेखा प्रतिवेदन दिएर लज्जित हुनपर्ने भएकोले सहर्ष निम्त्याउन नसकिएको प्राधिकरणका जिम्मेवार पदाधिकारीहरुले बताएका छन् ।

ताजा खबर