प्रियंकाको विवाह विवादमा, यस्तो छ कारण

२०७५ मङ्सिर १८ मंगलबार १३:१२:०० मा प्रकाशित

काठमाडौं । अमेरिकी गायक निक जोनस र बलिवुड अभिनेत्री प्रियंका चोपडाको विवाहको खबरले सोसल मिडिया भरिएको छ । आफ्नो विवाह भव्य बनाउने धुनमा रहेपनि विवाहको क्रममा गरिएका कामहरुले यी जोडीमाथी एकपछि अर्को आरोप लाग्दै आएका छन् ।

पिपल फर इथिकल ट्रिटमेन्ट अफ एनिमल (पेटा) ले निक–प्रियंकाको विवाहमा घोडा र हात्तीको प्रयोग गरेको विषयमा चिंता व्यक्त गरेको छ । पेटाको भारतस्थित कार्यालयले हात्ती र घोडा तह लगाएर पालिएको जनावर भएको भन्दै ट्वीट मार्फत् भनेको छ, ‘बधाई छ, तर दुखका साथ भन्छु, यो जनावरको लागि खुशीको दिन होइन ।’

हिन्दु परम्परा अनुसार विवाह गर्ने क्रममा निकले घोडा चढ्दै दुलहीको घर आएका थिए । पेटाले उक्त ट्वीटमा घोडाहरुले विवाहको क्रममा पाउने दुख सम्बन्धी भिडियोको ‘ब्याण्ड, बाजा र ब्रुटालिटी (निर्दयीपन)’ पनि सार्वजनिक गरेको थियो ।

पेटा भारतका सिईओ मनिलाल वल्लीयातले विज्ञप्ती मार्फत् भनेका छन्, ‘सेवा गर्नुको विकल्प नरहेको जनावर प्रति हुने क्रुरता गर्दैमा त्यो व्यक्ति ठुलो वा आकर्षक हुन सक्दैन । यसले झन् तिनलाई सानो बनाउँछ । पछिल्ला समय धेरै सेलिब्रेटीहरु पुर्ण भावका साथ जनावरको संरक्षणमा लागेका छन्, त्यसमा पेटा अत्यन्तै खुशी छ । ’

केहि समयअघि निक–प्रियंका विवाहमा पटाका पड्काएको भन्दै सोसल मिडियामा तिब्र विरोध भएको थियो । गत डिसेम्बर १ मा लगातार तीन मिनेट सम्मको पटाका पड्काइको थियो । उक्त रमाइलोको भिडियो सुन्दर देखिएपनि सोसल मिडियामा यि हाइप्रोफाइलहरुले ढोंग धेरै भएको भन्दै खिल्ली उडाएका थिए ।

उनिहरुले अरुको लागि उदाहरणीय काम गर्नु पर्नेमा जोधपुर बासीलाई सहन बाध्य पारिएको भन्दै ट्वीट र ट्रोलहरु बनाएका थिए ।

त्यस्तै गएको तिहारमा विज्ञापन मार्फत् ‘कम प्रदुषण, बढि लड्डु’ भन्ने नारा नगाएकी प्रियंकाले आफ्नो विवाहमा पटाका पड्काउँदै द्वैध चरित्र देखाएको भन्दै सर्वसाधारणहरु खनिएका छन् ।

विरोधहरुका बावजुद विवाहको क्रम जारी नै छ । आज साँझ निक–प्रियंकाको विवाहको पार्टी रहेको र यसमा नजिकका साथी र आफन्तहरु समावेश हुने बताइएको छ । (एजेन्सीको सहयोगमा)

ताजा खबर