लोकप्रिय बन्दै क्यानडामा गुरुकुल पाठशाला

२०७५ मङ्सिर १७ सोमबार १२:४६:०० मा प्रकाशित


प्रविधिको कारण विश्व मानचित्र साँघुरिंदै गएको छ । नेपालीहरु विश्वभरी फैलिएका छन् । अध्ययन, भ्रमण, पेशा, व्यवसाय एवं विवाह तथा सम्बन्धका कारणले नेपालीहरु विश्वका कुनाकुनामा पुगेका छन् ।

नेपालीहरुले आफ्नो भाषा एवं संस्कृति जुनसुकै स्थानमा पुगेपनि यथेष्ट मात्रामा उपयोग गरिरहेका छन् । सन् २००७÷०८ देखि नेपालीहरुका लागि क्यानडा पनि एक आकर्षक गन्तव्य बन्न थाल्यो । उच्च शैक्षिक योग्यता, उच्च प्राविधिक सीप एवं अनुभव भएका उच्च क्षमता एवं योग्यताका जन–शक्तिलाई क्यानडाले स्थायी बसोबास नै गराउने गरी ‘माइग्रेसन’ योजना ल्याएपछि क्यानडा आकर्षक गन्तव्य बन्न थालेको थियो ।

सोही योजना अनुसार १० वर्षको अवधिमा करिब २५ हजार उच्च दक्ष–जनशक्ति नेपालबाट क्यानडा पुगिसकेको छ । अहिले क्यानडामा नेपालीहरुको संख्या ४० हजार नाघेको अनुमान छ ।

नेपालबाट गएका दक्ष जनशक्तिको बाक्लो बस्ती भएको शहर मध्ये एक अल्बर्टा राज्यको राजधानी एडमण्टन र अर्को शहर क्लाल्गरी हो । एडमण्टन शहरमा मात्रै करिब ६ हजार भन्दा बढी नेपालीहरु बसोबास गर्छन् ।
क्यानडामा बस्ने नेपालीहरुले आफ्नो भाषा, संस्कृति एवं सभ्यताको जगेर्ना गर्ने उद्देश्यले ६ वर्ष अघिदेखि नेपाली बालबालिकाको लागि गुरुकूल पाठशालाको संचालन गरिरहेका छन् ।

गुरुकुलको सुरुवात ६ जना विद्यार्थीहरुबाट गरिएको संस्थापक दीपक लामाले जानकारी दिए । पाठशालामा अहिले ५० जना भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्दैछन् । पढ्न चाहने त झण्डै सय जना जति छन् तर ठाउँ एवं श्रोतसाधनको अभावले गर्दा माग अनुसारको व्यवस्थापन गर्न नसकिएको कुरा पाठशालाकी प्राचार्य रजिता शर्मा बताइन् ।

हरेक शनिवार सञ्चालन हुने गुरुकूल पाठशालामा नेपाली भाषा, नेपाली संगीत, नृत्य, चित्रकला वैदिक मन्त्र तथा स्तुति बन्दनाहरु पढाउनुका साथै अभ्यास पनि गराइने गरेको छ ।

गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुलाई स्थानीय मन्दिर एवं नेपाली सांस्कृतिक स्थलहरुमा प्रत्यक्ष भ्रमण गराइ व्यवहारिक ज्ञान समेत दिलाउने गरिएको छ । हरेक नेपाली चाड–पर्वहरुको महत्व दर्शाउने र कक्षा भित्र नै चाड–पर्वहरु सांस्कृतिक रुपमा मनाउने प्रचलन छ ।

प्राचार्य शर्माका अनुसार दशैंमा दुर्गा पूजा विधि पूर्वक गराउने तिहारमा देउसी–भैलो खेलाउने तथा लक्ष्मीपूजा गराउने, माघे संक्रान्ति, शिवरात्री, फागू–पूर्णिमा, ल्होसार, कुमारी पूजा, बुद्ध पूर्णिमा, कृष्ण जन्माष्टमी, तीज–पञ्चमी, अक्षय तृतीया, असार १५ जस्ता पर्वको दिन त्यस पर्वको महत्व बुझाइ त्यस पर्वमा खाइने विशेष परिकार खुवाउने समेत गरिन्छ ।

विगत ६ वर्षदेखि निरन्तर आफ्नो व्यक्तिगत समय गुरुकूल पाठशालामा समर्पण गर्ने रजिता शर्मा, लीला बाँस्तोला, तथा विभिन्न समय देखि निरन्तर रुपमा अध्यापन गराउने सुनिता न्यौपाने, शाम्भवी नेपाल, कादम्बिनी न्यौपाने, सृजना बस्नेत, गीता न्यूरे, भगवती अधिकारी, कमला महत, सीता डाँगी, रितु श्रेष्ठ, उषा काफ्ले, कृष्ण उप्रेती, सुवास गिरी लगायतका शिक्षिका÷शिक्षकहरु छन् ।

दशैंमा दुर्गा पूजा गर्दा चण्डी पाठ गर्नेदेखि लिएर देउसी–भैलो खेल्दा भट्याउने सम्मको काम ६ वर्षदेखिका साना बालबालिकाहरु आफै गर्छन् । नेपाली संस्कृति अनुसारका कुमारी नृत्य, मारुनी, चरिया, तामाङ्ग सेलो, धान नृत्य, लोक नृत्य, सोरठी नृत्य लगायतका समृद्ध कला सौन्दर्यसँग नेपालीमूलका बालबालिकाहरु रमाउन थालेका छन् ।

यसले गर्दा हामीलाई स्वयंसेवा गर्ने जाँगर अझै बढ्दै गएको कुरा आध्यात्मिक एवं सांस्कृतिक विभागकी शिक्षिका शाम्भवी नेपाल बताउँछिन् । बालबालिकाहरुलाई नाता सम्बन्ध सिकाउन सजिलो होस् भन्ने हेतुले हालसालै एक बाल गीत रचना गरेको समेत शिक्षिका नेपाल बताउँछिन् ।

गुरुकुल पाठशालासँग नेपालका सम्पूर्ण जातजातीका सांस्कृतिक पहिरनहरु तथा नौमति बाजा लगायत सबैजसो नेपाली सांगीतिक बाजाहरु उपलब्ध छन् । यसका साथै, गुरुकूल पाठशालाका लागि निर्धारण गरिएको नीलो साडीमा सजिएका शिक्षिकाहरु र सुन्तला रंगको टि–सर्ट लगाएका विद्यार्थीहरुलाई देख्दा, आफूहरुले शुरु गरेको कामलाई गर्व लाग्ने पूर्व–प्राचार्य विजया ढकाल बताउछिन् ।

एडमण्टन नगरमा हुने विभिन्न प्रकारका बहु–सांस्कृतिक मेला एवं कार्यक्रमहरुमा नेपाली मौलिक बाजाहरु बजाउनुका साथै विभिन्न सांस्कृतिक नृत्य प्रदर्शन गर्ने प्रचलन छ । क्यानडाका विभिन्न सांस्कृतिक समूहहरुबाट हाम्रो सांस्कृतिक प्रस्तुतिका लागि निमन्त्रणा आउने गरेको छ – पूर्व शिक्षिका सुमा आचार्य बताउँछिन् ।

नेपाली गीत संगीतको उत्थान एवं प्रवद्र्धनकै लागि भनेर केही नेपाली संगीत पारखीहरुले ‘संगीत मझेरी’ नामक सांगीतिक फोरमको निर्माण समेत गरेका छन् । ‘संगीत मझेरी’ कै आयोजनामा भर्खरै एउमण्टनमा भक्तराज आचार्य सम्मान साँझको आयोजना पनि गरियो । लोकप्रिय कलाकार “सत्य–स्वरुपराज आचार्य संगीत साँझ” को नामबाट सो कार्यक्रम सम्पन्न भएको थियो ।

‘अरु सबै कुरा बोक्दा भारी हुने, तर आफ्नो संस्कृति एवं सभ्यता बोक्दा झनै मन हलुका हुने रहेछ’ आफ्नो अनुभव सुनाउँदै नेपाली मौलिक सभ्यताको प्रकाश विश्वभर फैलाउन हामी सक्रिय रहेको बताउँछन् संस्थाका सांस्कृतिक विभागका निर्देशक शालिग्राम अधिकारी । गुरुकुल पाठशालामा शनिवार जम्मा भई आफ्ना पछिल्लो पुस्ताले नेपाली विरासत सम्हाल्न अग्रसर भएको देख्दा हप्ताभरीको सम्पूर्ण थकान मेटिने गरेको अनुभव सुनाउँछन् पाठशालाका पूर्व शिक्षिकाद्वय भमरा अर्याल र अञ्जु सत्याल । नृत्य प्रशिक्षिका कादम्बिनी न्यौपाने, रितु श्रेष्ठ तथा सुरक्षा शर्मा र संगीत प्रशिक्षक सुवास गिरी बालबालिकाहरुको रुचि एवं जाँगर देखेर आफूहरु निकै उत्साहित भएको बताउँछन् ।

 

ताजा खबर