‘अहिलेको पत्रकार महासंघमा मेरो आवश्यक्ता छैन ’

अहिले के गर्दै हुनुहुन्छ ?

एउटा पत्रकारको जीवनमा के हुन्छ ? गज्जबको स्टोरीको खोजी, स्कूप र ब्रेकिङ न्यूजको तलास, यस्तै त हो नि, अरु के हुन्छ र ! अहिले साप्ताहिकमा छु, नारी पनि हेर्छु । दुई–दुईवटा पत्रिका छन्, त्यसमै व्यस्त छु ।

दुई–दुईवटा पत्रिकाको नेतृत्व गर्न गाह्रो छैन,समय कसरी मिलाउनुभएको छ ?

साप्ताहिक र नारीको दुईवटा अलग–अलग टिम छ । भ्याइन्छ, तर खट्नु चाहिँ पर्छ ।

यतिबेला आएर तपार्इं आफ्नो पत्रकारिताको प्रारंभिक दिनहरु कसरी सम्झनुहुन्छ?

मेरो पत्रकारिताको सुरुवात् ०३७ सालको जनमत संग्रहमा बहुदलले हारिसकेपछि प्रारम्भ भएको हो । त्यतिबेला धेरै कांग्रेस, एमाले अथवा नेविसंघ, अखिलमा लागेकाहरू जति पनि युवा–विद्यार्थी थिए, नेता–कार्यकर्ताहरू थिए ती सबै बेरोजगारजस्तै भएका थिए । एक किसिमको निराशा पनि थियो । जनमतमा हारिसकेपछि पार्टीहरूको गतिविधि पनि लगभग शून्यजस्तै भैसकेको थियो । त्यो समयमा के गर्ने,कसो गर्ने भन्दाभन्दै पत्रकारितामा आकर्षित हुनपुगें । म कहिलेकाहीं कविता पनि लेख्थें, विराटनगरको साहित्यिक गतिविधिहरूमा पनि सक्रिय थिएँ । त्यही क्रममा विराटनगरकै स्थानीय पत्रिकामा यसो केही लेखौं न त भनेर लेख–रचनाहरू लेख्दालेख्दै त्यहींकै स्थानीय पत्रिकामा समाचार समेत लेख्न थालियो । काठमाडौंका पत्रिकाहरूमा मेरा कविता पनि छापिन्थे । बिस्तारै–बिस्तारै काठमाडौंका पत्रिकाहरूसँग जोडिन थालें । त्यसपछि म किशोर नेपाल दाइको सम्पर्कमा पुगें। देशान्तर साप्ताहिक त्यतिबेला भर्खर–भर्खर सुरु मात्र भएको थियो । देशान्तरबाटै अखबारमा काम गर्न थालें ।

 देशान्तर नै पहिलो मिडिया हो ?

देखिने गरी, चिनिने गरी लेखेको मिडिया त देशान्तर नै हो, तर रिपोर्टरका रूपमा काम नगरे पनि छिटपुट समाचार त म लेखिरहेकै हुन्थें ।

 
देशान्तरमा समाचार छापिँदाको अनुभव सुनाउनुहोस् न

देशान्तर साप्ताहिक त्यतिबेलाको निकै प्रभावशाली मिडिया थियो । त्यतिबेला काम गर्ने पनि ठूलै जोस–जाँगर थियो । बहुदल हारेको एउटा रिस पनि थियो र हामी युवाहरूमा पञ्चायतले धाँधली गरेर जितेको भन्ने छाप परेको थियो । त्यसैले पञ्चायती व्यवस्था जसरी पनि अन्त्य हुनुपर्छ भन्ने एउटा मिसन थियो । त्यतिबेला एउटा प्रेरणाले काम गरिन्थ्यो । एउटा अप्रजातान्त्रिक व्यवस्था, तानाशाही व्यवस्था कुनै पनि हालतमा चल्नु हुँदैन भन्ने प्रेरणामै काम गरियो ।

तपाईं कसैको प्रेरणाले यो क्षेत्रमा लाग्नुभएको हो कि आफ्नै रुचिले ?

काम गर्दै गएपछि रस बस्दै गयो । मैले अघि पनि भनिसकें, बहुदल हार्दा म पढ्दै पनि थिएँ र नेविसंघको कार्यकर्ता पनि थिएँ । अरू खासै काम पनि थिएन । के गर्ने भन्ने थियो । कविता लेख्थें, लेखपढमा रुचि थियो । त्यही क्रममा पत्रकारितामा लागें । रस बस्दै गयो र पछि किशोर दाइको सम्पर्कमा आएपछि पूरै डुबेर लागियो । यी अहिलेसम्म यसले छोडेको छैन, आफू पनि यसलाई छोड्न सकिँदैन।

के फरक देख्नुहुन्छ पहिले र अहिलेको पत्रकारितामा ?

पत्रकारिता होस् वा अरू कुनै पनि क्षेत्र सबैले आफ्नै जमानालाई राम्रो भन्छन् । ‘ओल्ड इज गोल्ड’ भन्ने चलन नै छ । सबैले आप्mनै जमानालाई ‘गोल्डेन एरा’ मान्छन् । मेरो त अहिले पनि आफ्नै जमाना जस्तो छ तर तुलनात्मक रूपमा हेर्ने हो भने त्यतिबेला पत्रकार कम थिए। मिडिया पनि कम थिए । पञ्चायतकालमा बोल्न सक्ने स्थिति पनि थिएन । अहिले त्यो स्थितिमा धेरै परिवर्तन आएर पत्रकारिता व्यवसायिक समेत भएको छ । राम्रा–राम्रा पत्रकारहरू पनि आएका छन् । अहिले धेरै कुरा उपलब्ध छन् । प्राविधिक हिसाबले पनि धेरै राम्रो भएको छ । त्यतिबेला पढेर पत्रकार हुने जमाना पनि थिएन। अहिले पढेर, लेखेर आ–आप्mनो विषयमा दक्षता प्राप्त गरेर आएका पत्रकारहरू छन्, तर सँगसँगै जसरी पत्रकारिताको बिकास भएको छ, बिकृति त्यत्तिकै मौलाउँदै गैरहेको छ । उतिबेला बिकृति थिएन भन्ने चाहिँ होइन, बिकृति थियो तर पत्रकारिता क्षेत्र नै एकदमै सानो थियो । त्यही अनुसार बिकृति त्यति देखिंदैनथ्यो। अहिले यो क्षेत्र धेरै ठूलो पनि भएको छ । व्यवसायिक प्रतिस्पर्धा पनि बढेको छ । सँगसँगै समस्या पनि बढे्का छन्, बिकृतिहरू पनि बढेका छन्। साथै पत्रकारिताको गुणस्तर पनि बढेको छ ।

सम्पादकीय नेतृत्व गर्दाका आफ्ना अनुभव सुनाउनुहोस् न ?

साँच्चै भन्ने हो भने म सम्पादक नै भएको १७ – १८ वर्ष भयो । त्योभन्दा पहिले म विराटनगरमा देशान्तरको रिपोर्टर थिएँ । त्यसपछि पूर्वाञ्चल ब्यूरो चिफ भएँ, त्यसपछि म काठमाडांै आएँ । ०४६ सालको आन्दोलन सफल भएपछि ०४७ – ४८ सालतिर म काठमाडांै आएको हुँ । यहाँ आइसकेपछि साप्ताहिकको सुरुवाती दिनमा काम गरेर म त्यसको सम्पादक हुँदै अहिले प्रधान सम्पादक भएको छु । यस क्रममा दुई–दुईवटा टिमलाई लिड गर्न पाउनु खुशीकै कुरा हो। त्यसमा पनि देशको एउटा लिडिङ मिडिया हाउसको दुईवटा प्रकाशन एकसाथ संयोजन गरेको छु । यस्तो अवसर धेरै कमले मात्र पाउँछन् । त्यसमा पनि मसँग एकदमै राम्रो, ऊर्जावान्, सिर्जनशील तथा उदाहरणीय टिम छ । आफ्नो कामबाट राम्रै अनुभव बटुलिरहेको छु । अहिलेसम्म आफ्नो सिर्जनशीलता देखाउन पाइरहेको छु ।

दैनिक पत्रिकामा किन जानु भएन ? साप्ताहिकमा मात्र लाग्नुभयो त ?

अब न कम्पनीले अथवा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले मलाई छोड्न चाहनुभयो, न मैले नै गरिआएको काम छोड्न चाहें । हेर्दाहेर्दै दिन बित्दै गए र अहिले यो अवस्थासम्म आइयो । अहिले देखिएको मात्र साप्ताहिक हो, तर मैले साप्ताहिकभन्दा अघि नै १५–१८ वर्षभन्दा बढी सक्रिय पत्रकारिता गरिसकेको थिएँ । मलाई दैनिकमै जानुपर्छ भन्ने पनि कहिल्यै लागेन र त्यतातिर प्रयास पनि गरिएन ।

साप्ताहिक पत्रिकाको भविष्य कस्तो देख्नुहुन्छ ?

भविष्य भएकै हुनाले हामीले साप्ताहिक निकालेका हौं । त्यसको सफल प्रयोगपछि अहिले अरू पब्लिकेसनहरूले पनि हाम्रै डिजाइन, कन्सेप्ट अनि हामै्र स्टाइलमा विभिन्न नामका साप्ताहिक पत्रिका निकालिरहेका छन् । अरू थप निस्कँदै छन् भन्ने पनि सुनिरहेको छु । अब भविष्य त लगानीकर्ताले हेर्ने हो । यसबाट म लगानी उठाउँछु भन्ने उनीहरूलाई लागेको होला । फाइदा छ भन्ने देखेरै साप्ताहिक पत्रिका निकाल्ने होडबाजीमा लागेका होलान् । हामीले त काम गर्ने हो, नाफा–घाटा जोड्ने होइन । हामीहरूले एउटा स्टाइल, डिजाइन र फम्र्याट दिने हो । जुन फम्र्याट हामीले दिएका थियौं त्यो अत्यन्त सफल भएको छ । मलाई लाग्छ तपाईंले कस्तो काम गर्नुहुन्छ, त्यसैमा तपाईंको भविष्य निर्भर गर्छ । त्यसकारण मलाई यो चल्छ, त्यो चल्दैन भन्नुभन्दा पनि तपाईंले चिज कस्तो दिनुभएको छ त्यसमै सफलता वा असफलता निर्भर गर्छ जस्तो लाग्छ । एउटा साप्ताहिक सफल भैरहेको हुन्छ, अर्को नचलेको पनि हुनसक्छ । एउटा अनलाइन चल्छ, चालीसवटा अनलाइन चल्दैनन् । यो त आफूले दिने कन्टेन्टमा भरपर्ने कुरा हो, बाँकी त मेहनतमा भर पर्ने कुरा हो ।

अहिलेको पत्रकारिताको जनशक्तिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

जहाँ राम्रो हुन्छ त्यहाँ नराम्रो पनि हुन्छ । पढेलेखेका मानिसहरू बढी आएका छन् । प्रविधि पनि झन्–झन् बलियो हुँदै गएको छ, तर जति सोचिन्छ त्यस्तो पनि छैन । किनभने हामीकहाँ पत्रकारितामा त्यति लगानी नै छैन । अहिले बग्रेल्ती समस्या पनि छन् । पत्रकारितामा बिकृति पनि छ, नेपाल पत्रकार महासंघमै बिकृति छ । हाम्रो समाज र राजनीतिमा जसरी भ्रष्टाचार र अरू खराव चिजहरू व्यप्त छन्, त्यसबाट पत्रकारिता मात्र अछुतो छ भन्ने स्थिति पनि छैन । हामीहरूले के सोच्नुपर्छ भने हामी राम्रो गर्छौं अथवा म राम्रो गर्छु भने त्यसले राम्रो बाटोतिर लैजान्छ । फोहोरहरू चाहिँ किनारा लाग्दै जान्छन् । राम्रो र नराम्रो समान्तर नै चल्ने कुरा हुन् ।

कस्तो देख्नुहुन्छ त पत्रकारिताको भविष्य ?

पत्रकारिताको भविष्य त जहिले पनि राम्रो छ । पत्रकारिताको विधि र तरिकाहरू फरक होलान् । हिजो पत्रिका मात्र थियो, अहिले टिभी, रेडियो, एफएमहरू पनि छन् । अहिले अनलाइन तथा युट्युबहरू पनि थपिएका छन् । सामाजिक सञ्जालका कारण हरेक व्यक्ति पत्रकारसरह भएका   छन् । परिस्थिति परिवर्तन भएपनि समाचार दिने माध्यममा परिवर्तन आए पनि जति माध्यम बढे पनि पत्रकारिताको भविष्य त्यति नै राम्रो देख्छु । त्यति नै उज्यालो देख्छु । यसले कामको अवसर, सिर्जनाको अवसरको नयाँ ढोका खोलेको छ, पत्रकारिताको क्षेत्रलाई अझ विस्तार गरेको छ । नयाँ काम देखाउने थप अवसर सिर्जना गरेको छ । प्रतिस्पर्धासँगै पत्रकारिताको क्षेत्र अझ फैलँदो छ ।

तपाईंको सफलताको पछाडि कोही छ कि तपाईं आफैं मात्र हो ?

सफलता नै त नभनूँ, तर मेरो काममा धेरै मानिसहरूको योगदान छ, सहकर्मीहरूको, घरपरिवारको लगानी छ, सबैको साथ–सहयोगले नै म यहाँसम्म आएको हँु । मान्छे एक्लैले चमत्कार गर्न सक्ने कुरा हुँदैन । धेरै कुरा मिलेपछि मात्र एउटा मान्छेले केही चिजमा सफलता प्राप्त गर्छ । त्यसमा आफ्नो मेहनत, बुद्धि र अनुभवजस्ता कुराको पनि त्यत्तिकै ठूलो भूमिका हुन्छ । चिठ्ठा परेजस्तो अथवा जादुको छडी घुमाएजस्तो त कहीं पनि केही पनि हुँदैन ।

तपाईं सामाजिक सञ्जाल पनि चलाउनुहुन्छ ? पहिले त्यति धेरै नखुल्ने अहिले अलि खुल्न थाल्नुभएको हो ?

म शान्त स्वभावको मानिस हँु । अर्को कुरा, सामाजिक सञ्जालको म त्यति गम्भीर प्रयोगकर्ता पनि होइन । म अरूको स्टाटसहरू चाहिँ बढी नै हेर्छु तर म आफ्नो प्रोफाइल भने व्यक्तिगत मनोरञ्जनका लागि मात्र प्रयोग गर्छु । चुट्किलाहरू राख्छु, कहिलेकाहीं मन पर्यो भने आप्mना तस्बीरहरू पनि राख्छु । प्रोफाइल तस्बीरहरू परिवर्तन गर्छु । मैले यसको गम्भीर प्रयोग चाहिँ निकै कम गरेको छु । मलाई गम्भीर प्रयोगमा जानुपर्छ भन्ने पनि छैन, किनभने अहिले मेरो अखबार नै मेरो लागि सबैभन्दा ठूलो माध्यम हो । म पहिलेदेखि नै लो–प्रोफाइलमा बस्न रुचाउने मान्छे हुँ । म रिपोर्टर नै हुँदा पनि आफू धेरै बाहिर देखिएर यताउता गर्ने भन्दा पनि समाचारको सारतत्वमै बढी ध्यान दिन्थें । म आफू अगाडि आएर, आफू देखिएर काम गर्न रुचाउने मान्छे होइन । त्यसैले मैले नेपाल पत्रकार महासंघको चुनाव पनि हारें, सभापतिकै चुनाव हारें निकटतम प्रतिस्पर्धी भएर । चुनावी दाउपेच तथा उठापटक पटक्कै नजानेकाले पनि चुनाव हारें भन्ने लाग्छ अहिले ।

 पत्रकार महासंघको प्रसंग निकाल्नु भयो,फेरि चुनावमा उठ्ने सोच त छैन?

अहिलेको पत्रकार महासंघलाई मजस्तो मान्छेको आवश्यकता छ जस्तो मलाई लाग्दैन । अहिले पत्रकार महासंघमा कस्ता मानिसहरू छन् र कस्ता गतिविधि भैरहेका छन् अथवा के भैरहेको छ भन्ने कुरा त सबैलाई थाहै छ । पत्रकार महासंघमा कुनै प्रोफेसनल मानिसको खाँचो छ जस्तो मलाई लाग्दैन । लैबरी गाएरै चलिरहेको संस्थामा हाम्रो के काम ?


प्रस्तुति: सुकृत 

तस्बीर सौजन्य : महेश प्रधान
  

 

ताजा खबर