अन्नपूर्ण हिमालको आधार शिविरमा आश्रयस्थल

२०७५ मङ्सिर १५ शनिबार ०७:३९:०० मा प्रकाशित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण पहिलो हिमालको आधार शिविरमा आश्रयस्थल निर्माण भएको छ । 

आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि जाने पर्यटक, पर्यटक मजदुर र पदयात्रीलाई सुरक्षित बसोबासको सुविधा उपलब्ध गराउन नारच्याङका बासिन्दाले आश्रयस्थल निर्माण गरेका हुन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को आर्थिक सहयोग र स्थानीयवासीको श्रमदान गरी रु १२ लाखको लागतमा आश्रयस्थल निर्माण गरिएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिए। 

समुन्द्री सतहदेखि चार हजार ११० मिटरको उचाइमा अवस्थित आधार शिविरमा ३० मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको विश्रामस्थलमा एक पटकमा करीब ६० जनाले आश्रय लिनसक्ने अध्यक्ष गुरुङले बताए। 

चार वर्ष लगाएर नारच्याङदेखि अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग निर्माण गरेका स्थानीयवासीले पदमार्गमा पर्ने विभिन्न स्थानमा झोलुङ्गे पुल, आश्रयस्थल निर्माण र प्रचारप्रसारमा जोड दिएका छन् । 

हाल नारच्याङदेखि दुई दिन पैदल हिँडेर पुगिने आधार शिविर नजीकै निलगिरिखोला जलविद्युत् आयोजनाले निर्माण गरिरहेको सडक पुगेमा यात्रा अवधि र दूरी अझै छोटिने स्थानीयवासी मनबहादुर पुर्जाले बताए। 

पदमार्ग निर्माण गरेपछि आरोही र पर्यटक हेलिकप्टरबाट जानुपर्ने समस्या हटेको छ । यो अन्नपूर्ण आधार शिविर पुग्ने सबैभन्दा छोटो पदमार्ग भएको अध्यक्ष गुरुङले बताए। सूर्योदयले चम्केका सेताम्मे हिमाललाई आँखाले चौफेरो लगाउन पाउनु अन्नपूर्ण आधार शिविरको प्रमुख विशेषता हो । अग्ला पहाड हुँदै झर्ने झरना, जङ्गली जनावर, चराचुरुङ्गी, वनस्पती, जडीबुटी र मनमोहक हिमाल यो पदमार्गको थप आकर्षण हो । 

सामुदायिक भवन निर्माण 

म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेँसीका बासिन्दाले स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर सामुदायिक भवन निर्माण गरेका छन् । दुखुबेँसीमा रहेको जनहित आमा समूहको अगुवाइमा सभाहलसहितको एकतले दुईकोठे भवन निर्माण भएको हो । स्थानीयवासीबाट करीब रु १८ लाख चन्दा सङ्कलन गरेर सरकारी निकायको सहयोगबिनै भवन निर्माण गरिएको आमा समूहकी अध्यक्ष डिलमाया पुनले बताए। 

भवन निर्माणका लागि स्थानीय टेकबहादुर रोकाले करीब डेढ रोपनी जग्गा सहयोग गरेका थिए। भवन निर्माण भएपछि भेला, बैठक, तालीम, गोष्ठी र सांस्कृतिक कार्यक्रम आयोजना गर्न सहज भएको छ । व्यक्तिको आँगन र चौरमा बैठक बस्नुपर्ने समस्या हटेको छ । 

समुदाय परिचालनमार्फत सामुदायिक भवन निर्माण गरेर दुखुबँेसीवासीले विकासमा जनसहभागिताको नमूना प्रस्तुत गरेका स्थानीयवासीसमेत रहेका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए। रासस

ताजा खबर