‘बाउ, दमाई भनेको के हो ?’

२०७५ मङ्सिर १४ शुक्रबार १२:२७:०० मा प्रकाशित

तामाङ्नी फुपू बोलिरहँदा मैले मेरी आमालाई सम्झें । अदृश्य आमालाई, जसको हुन त मलाई रूपसम्म थाहा थिएन । सम्झनामा पनि काल्पनिक अनुहारमात्रै सम्झन्छु आमाको । 

पानी भरें र फर्कें । आज तामाङ्नी फुपूले मेरी अदृश्य आमाको काल्पनिक अनुहारको याद दिलाइन् । आमालाई सम्झँदै स्कुल हिँडें । स्कुलको चौरमा केटाकेटीहरू झुण्डझुण्ड भएर बसेका थिए । म एकछिन अलमलिएँ ।

अनि म पनि त्यही एउटा झुण्डमा गएर मिसिएँ । कविताले मलाई देखिछे । कुदेर म बसेकै झुण्डमा आई । 

‘रोमा खोइ त ?’ मैले सोधँे । ‘सरले नाच्न लगेका छन् ।’

‘रोमा पनि नाच्न जान्दछे ?’ मैले त पत्याएकै थिइनँ । ‘नाच्छे होला नि मोटी ! नाचेको देखेको त छैन,’ कविताले यसो भन्दै गर्दा सर हाम्रै छेउमा आइपुगे ।  मैले सरलाई जिज्ञासा राखें– ‘सर, आज केको नाचगान हो ? पढाइ हुँदैन ?’ 

सरले शालीनतापूर्वक जबाफ दिए– ‘ल ! तँलाई थाहा छैन, आज गुरुपूर्णिमा हो भन्ने ?’  सरले गुरुपूर्णिमा हो भन्दा पो म झसङ्ग भएँ । ‘ए हो त, कस्तो बिर्सेकी है मैले ।

‘पढाइ हुँदैन तर दिनभरि स्कुलमै बस्नुपर्छ,’ सर भन्दै थिए । 

एकैछिनमा गीत बज्न थाल्यो– ‘हिमालको काखमा छ, सानो हाम्रो भुटान देश... !’ गोमा राई नाच्न पनि थाली । सबैले थपडी मार्दै थिए । बेलाबेला म पनि थपडी बजाउथें । चिटिक्क परेर सजिएकी थिई गोमा । दुई चुल्ठी कपाल बाटेर गुन्यूचोलीमा ऊ छमछम नाच्दा मलाई पनि नाचूँनाचूँ लाग्यो । 
कवितालाई हेरँे, आँखा झिमिक्क नगरी गोमाको नाँच हेर्नमै मस्त थिई ऊ पनि । 

रोमा कस्तो नाच्छे होला ! म मनमनै सोच्दै थिएँ । ऊ नाचेको हेर्न आतुर छु । धेरैबेर पर्खनुपरेन । रोमालाई नाच्न बोलाइ पनि हाले । रोमा चिरिच्याँट्ट परेर आइपुगी । मलाई रोमा देख्नेबित्तिकै खुसी लाग्यो । मोटी छे तर साहै्र राम्रो नाच्न जान्ने रहिछे । उसको नाच देखेर ईष्र्या पनि लाग्यो । 
सर मेरो नजिकै उभिइरहेका थिए । म छेउमा गएँ, र भनें– ‘सर !’ सरले मलाई पुलुक्क हेरे– ‘अँ, भन् ।’
‘सर ! आज मेरो रासन थाप्न जानु छ... ।’

मेरो बोली नसकिँदै सरले सोधे– ‘तेरो घरमा अरू कोही छैन ?’ 

मैले टाउको निहुराएँ र भनें– ‘बाउ बिरामी छन् ।’ 

‘अरू कोही छैनन् घरमा ?’

‘अहँ कोही छैन, सर । भएका बाउ त हुन् तर बिरामी छन् आज ।’ 

‘ल, ल ! जा ! भोलि आउँदा म्याथको होमवर्क लिएर आउनू,’ सरले निर्देशनसहित अनुमति दिए ।

साथीहरू कसैलाई थाहै नदिई सरासर घर हिँडें ।

घरमा आउँदा बाउ थिएनन् । कहाँ गए होलान् भन्दै यताउता हेरें । दैलामा आएर बाहिर चारैतिर आँखा डुलाएँ । चामलको बोरा बोकेर सुवेदी माल्दाइ आउँदै थिए ।

मैले सोधिहालँे– ‘माल्दाइ ! मेरा बाउ देखेनौ ?’

माल्दाइ रोकिएनन् । हिँड्दा–हिँड्दै परैबाट जबाफ फर्काए– ‘रासन थाप्ने ठाउँमा देखेको थिएँ ।’

माल्दाइ सरासर गइहाले । सायद ढिलो भएछ क्यारे ! बिरामी बाउ आफैं गएछन् ! म सरासर रासन बाँड्ने ठाउँमा गएँ । चामल थाप्ने रित्तो बोरा बोकेर बाउ लाइनमा पर्खिरहेका रहेछन् । 

‘बाउ ! तिमी बिरामी छौ । किन आएको ? म आइहाल्थें नि ।’ यसो भन्दै म बाउकै छेउमा भित्तातिर अडेस लागेर बसँे । 
 अब हाम्रो पालो कहिले आउँछ भनेर बाउलाई सोधें । बाउले भने– ‘भर्खर सुकमान भुजेलको पालो आएको छ । बीच लाइनको अन्तिम छाप्रा हँुदै हाम्रो लाइनतिर आउँदै छ ।’

आधा घण्टा बस्दा प्रतिनिधिले नाम बोलाए– ‘काजी दमाई !’ आङ तनक्क तन्काउँदै बाउले ‘हजुर’ भने । अनि फेरि ख्वाङख्वाङ खोके । 
‘तँलाई सन्चो छैन कि क्या हो ?’ प्रतिनिधिले सोधे । 

‘रातिदेखि अलिक खोकी बढ्दै छ,’ बाउले भने ।

‘यस्तै हो, अब बूढो भइयो । रोगले च्याप्ने बेला पनि त हो,’ यति भन्दै प्रतिनिधिले रासन कार्डमा ल्याप्चे लाउन लगाए । मैले चामलको बोरा झिक्दै

गर्दा सुवेदी आमैले चर्को स्वरमा हकार्दै भनिन्– ‘छुन्छेस् है !’ फेरि रिसाउँदै थपिन्– ‘अलिक तर्केर बस् ।’ 

बाउ पछाडि सरे । मलाई सोध्न मन लाग्यो– ‘यो दमाई भनेको कस्तो जात हो बाउ ? के मान्छेको जात होइन ?’ तर सोधिनँ ।

मैले बोरा थापें । दुई टोकरी चामल ह्वारह्वारर्ती बोरामा हालिदिए । बाउ नुन र तेल थाप्नतिर लागे । चामलको बोरा मैले बोकें र अरू बाउले । 

घरभित्र पस्नेबित्तिकै बाउ थचक्क भुइँमा बसे । खुइ..य... गरी लामो सुस्केरा छाडे ।

‘के भो बाउ ?’ एक लोटा पानी दिँदै सोधँे– ‘गाह्रो भयो भने अस्पताल जाऊँ ?’ 

चिसो पानी घटघट पिउँदै भने– ‘पर्दैन अस्पताल जान ! थकाइ लागेको मात्रै हो ।’

बेलुका भात खाँदै गर्दा बाउलाई दिउँसोदेखि सोधौं कि नसोधौं लागिरहेको कुरा सोधें– ‘बाउ, दमाई भनेको के हो ?’

बाउ मेरा प्रश्नले भात मुखमा हाल्दै गर्दा ट्वाल्ल परे । ढिब्रीको उज्यालोमा मलाई टुलुटुलु एकटक हेरे । उनको गाँस मुखमा जान मानेन । यता मेरा

आँखा डम्म भए, आँसुले । मेरो रुन्चे हालत देखेर बाउले भने– ‘नरो, हामी सानो जातका हौं ।’ 

बल्ल थाहा भयो, दमाई भनेको सानो जात रहेछ । हामीले छोएको पानी ठूला जातका मान्छेलाई चल्दैन रे । यो सानो र ठूलो जात कसले बनाएको ?

बाउलाई सोध्न सकिनँ ।

म म्याथको होमवर्क गर्न बसें । पटक्कै जानिनँ । त्यत्तिकैै छोडिदिएँ । भोलि रोमालाई सिकाइमाग्छु भनेर सोचँे । 

भोलिपल्ट स्कुल छिट्टै गएँ । रोमालाई पर्खिबसें । रोमा ढिलो आइपुगी । खुसी लाग्यो, अब म्याथको होमवर्क सिकाइदिन्छे । रोमा बस्नेबित्तिकै

बोलाइहालें– ‘रोमा ! ओई रोमा ! मलाई म्याथको होमवार्क सिकाइदे न ?’

रोमा सुनेर पनि नसुनेझैं गरी । पालेदाइले टिनिनी ट्याङ–ट्याङ गर्दै घण्टी बजाए । 

मैले फेरि बोलाएँ– ‘ओई रोमा ! म्याथको होमवर्क सिकाइदे न यार !’ 

रोमा जुरुक्क उठेर पछाडि गएर बसी । म छक्क परें । कविता आइपुगी । रोमाले ठूलठूला आँखा पारेर मलाई हेरी । पालेदाइको घण्टीसँगै गौतम

सर आइपुगे । कविताले सुटुक्क मेरो होमवर्क गरिदिई । मैले कवितालाई सोधँे– ‘रोमा किन मसँग रिसाएकी होला ?’ 

कविताले सानो स्वरमा भनी– ‘दमाईसँग साथी नहुनु भनेका छन् रे, रोमाका बाआमाले । अझ नबोल्न पनि भनेका छन् अरे !’ 

सरले अगाडिबाट होमवर्क जाँच गर्न थाले । सरको प्रवेशसँगै कक्षा चकमन्न भएको थियो । होमर्वक जाँचिसकेपछि सर पढाउन थाले । मेरो मनमा

लागेका कुरा सरलाई सोध्ने आँट आएन । म चुपचाप बसँे । बेलाबेला रोमालाई हेर्थें । ऊ ठुस्स परेर उँभो हेर्थी । ऊ आफँै टाढा हुँदै गई । यस्तै हो

यहाँ । धेरै छन् साथी बनेर रुवाउनेहरू । आफ्नो सम्झी विश्वास दिलाउनेहरूको पनि कमी छैन । आफ्नो मनको पीरव्यथा आफूसँगै रहन्छ । जति नै

भाग्न खोजे पनि मनभित्रको पीडा निस्केर कहिले जाँदैन । 

मेरो मनमा पीडा भइरह्यो । सोचें, गरिबीले धुरी नाघेपछि सहयोगी मनहरू हराउँदा रहेछन् । लुकीलुकी बस्ता रहेछन् या त तर्की हिँड्दा रहेछन् ।

आफ्नै भनाउँदाहरूले नचिन्दा रहेछन् । हामी खोज्छौं भगवान् ढुङ्गाको मूर्तिमा तर खोज्दैनौं मान्छेको हृदयभित्रको भगवान्लाई । विडम्बना यही नै छ ।
(मञ्जरी पब्लिकेसनले हालै बजारमा ल्याएको रमेश दियालीले रचेको उपन्यास छाप्रो नं. ५५ को अंश)

 

ताजा खबर