अब आर्इएसबिएन नम्बर अनलाईनबाटै पाइने

२०७५ मङ्सिर १४ शुक्रबार १२:३१:०० मा प्रकाशित

काठमाडौँ, १४ मंसिर । अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर  (आर्इएसबिएन) लिन त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा पुग्न नपर्ने भएको छ ।

पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीले अनलाइनबाट नै फारम भरी नम्बर लिन सकिने ब्यवस्था गरिएको बताए । यसअघि लेखकले आर्इएसबिएन नम्बर लिन केन्द्रीय पुस्तकालय पुग्नु पर्थ्यो । अनलाइनबाट फारम भरेपछि आर्इएसबिएन प्राप्त गर्नका लागि लाग्ने शुल्क बैंकबाट पठाउनुपर्नेछ ।

सन् २००० बाट त्रिवि पुस्तकालयले बेलायतको आर्इएसबिएनको प्रतिनिधिका रुपमा नेपालका प्रकाशित पुस्तकलाई आर्इएसबिएन प्रदान गर्ने गरेको छ । उनका अनुसार अहिले त्रिविमा करीब ४० हजार पुस्तकले आर्इएसबिएन नम्बर लिइसकेका छन् ।

आर्इएसबिएनका लागि पुस्तकालयले तीन सय रुपैयाँ शुल्क लिने गरेको छ । पुस्तकालयले पुस्तक खोज्नका लागि ‘रेडियो फ्रिक्वेन्सी आर्इडिन्टिफिकेशन अटो सिस्टम’ प्रयोग गर्ने भएको छ । पुस्तकालय प्रमुख अधिकारीले धेरै पुस्तक हुँदा व्यक्तिले खोज्न समस्या भएकाले उपयुक्त प्रणालीका माध्यमबाट प्रयोग गरिने यन्त्रले पुस्तक खोज्ने बताए ।

पुस्तकालयका हरेक किताबमा डिजिटल चिप्स राखिएको हुन्छ र किताब खोज्नका लागि रेडियो सेन्सरशीप यन्त्र प्रयोग गरिन्छ । उक्त यन्त्रले कुन किताब कहाँ छ भनेर चिप्सका आधारमा खोज्ने पुस्तकालय प्रमुख अधिकारीले बताए ।

पुस्तकालयले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उक्त यन्त्रको प्रयोग गरी पुस्तक खोज्ने छ । त्रिविले यही वर्षदेखि उक्त यन्त्र प्रयोग गर्ने तयारी गरेको छ । अहिले पुस्तकालयमा करीब चार लाख पुस्तक रहेका छन् । रासस

ताजा खबर