जानकी मन्दिरबाट मुख्यमन्त्री स्वच्छता अभियान शुरु

२०७५ मङ्सिर १३ बिहीबार १५:०४:०० मा प्रकाशित

जनकपुरधाम, १३ मंसिर । प्रदेश २ सरकारले जानकी मन्दिर परिसरको सौन्दर्यीकरण कार्यक्रमबाट विकास निर्माण कार्यको शुभारम्भ गरेको छ ।

मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जानकी मन्दिर सौन्दर्यीकरण योजनाको शिलान्यास गरी प्रदेशको विकास निर्माण शुभारम्भ गरिएको हो । सो योजनाअन्तर्गत सात करोड २१ लाखको लागतमा जानकी मन्दिर परिसरमा मार्वल, ढल, चरण गङ्गा निर्माण गरिने जनाइएको छ ।

फेरा आरजे कन्सट्रक्सन कम्पनीले सो निर्माण कार्य चालू आर्थिक वर्षमै पूरा गर्ने बताइएको छ । मुख्यमन्त्री लालबाबु राउतले यसको शुभारम्भ गर्दै जानकी मन्दिर सौन्दर्य अभिवृद्धि कार्यले करोडौँ पर्यटक आकर्षित हुने र त्यसबाट आर्थिक समृद्धिको दिशामा नयाँ आयाम थपिने धारणा राखे ।

उनले जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराई विश्वभरिका पर्यटकको गन्तव्य बनाउनु सबैको दायित्व भएको पनि बताए ।

मुख्यमन्त्री राउतले जानकी मन्दिरमा प्रदेशकै पहिलो विकास निर्माण प्रारम्भ गरी विकासको गतिलाई तीव्रता दिने सङ्कल्पसमेत व्यक्त गरेका छन् ।

जानकी मन्दिरका सहायक महन्त रोशन दासले सरकारबाट सधैँ उपेक्षित रहेको यस मन्दिरप्रति प्रदेश सरकारको ध्यान जानु सकारात्मक सन्देश भएको बताए ।

ताजा खबर