नाना पाटेकरमाथि प्रहरी अनुसन्धान शुरु

२०७५ मङ्सिर १२ बुधबार १४:४७:०० मा प्रकाशित

काठमाडौं । ‘मि टू’मा मुछिएका बलिउड अभिनेता नाना पाटेकरमाथि भारतको मुम्बई प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

नाना पाटेकरमाथि अभिनेत्री तनुश्री दत्ताले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । दश वर्ष अघि फिल्म ‘हर्न ओके प्लिज’को एउटा गीत सुटिङका क्रममा नाना पाटेकरले आफूमाथि दुर्व्यवहार गरेको तनुश्री दत्ताको आरोप थियो ।

उनले मिडियामा बोलेपछि भारतमा यौन दुर्व्यवहार विरुद्धको अभियान ‘मि टू’ शुरु भएको थियो । त्यसयता भारतीय केन्द्रीय मन्त्री एमके अकबरले राजीनामा दिएका छन भने कयौं नेता, अभिनेता, लेखक, पत्रकार तथा सम्पादकले पद गुमाउनु परेको छ ।

तनुश्री दत्ताले नाना पाटेकरसँगै फिल्मका कोरियोग्राफर गणेश आचार्य, निर्माता सामी सिद्दीकी र निर्देशक राकेश सारंगविरुद्ध प्रहरीमा उजुरी पनि दिएकी थिइन् । त्यही उजुरीका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

त्यही क्रममा त्यतिबेला फिल्मको सेटमै रहेकी डेजी शाहलाई सोधपुछका लागि बोलाएको छ । उनले तनुश्री दत्ताको समर्थन गर्दै त्यतिबेला भएको घटनाका बारेमा लेखेकी थिइन् ।

यस घटनासँग सम्बन्धित अन्य व्यक्तिहरुसँग पनि सोधपुछ शुरु गरिएको भारतीय प्रहरीले जनाएको छ ।

ताजा खबर