कृषि र वनका निजी क्याम्पसको भर्ना रोक्का

२०७५ मङ्सिर १२ बुधबार ११:४४:०० मा प्रकाशित

चितवन, १२ मंसिर । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी आन्दोलित बनेपछि निजीका लागि भर्ना प्रक्रिया रोक्का गरिएको छ ।

विश्वविद्यालयले डिनको कार्यालयलाई हालका लागि निजी सम्बन्धनको भर्ना प्रक्रिया रोक्का गर्न निर्देशन दिएको थियो ।

विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तका अनुसार मंगलबार बसेको भर्ना समितिले विश्वविद्यालयको निर्देशनअनुसार भर्नाको सूचना संशोधन गरी हाललाई निजी सम्बन्धनको भर्ना प्रक्रिया रोक्का गर्ने निर्णय गरिएको बताए । यससँगै वन सङ्कायको पनि निजीको भर्ना प्रक्रिया रोक्का हुने बताइएको छ ।

दत्तका अनुसार विश्वविद्यालयको रामपुरमा रहेको क्याम्पस र आङ्गिक क्याम्पसका लागि भने यही भर्नाको सूचनाबाट आवेदन दिएकाले प्रवेश परीक्षा दिन पाउनेछन् ।

निजीलाई सम्बन्धन दिने÷नदिने विषयमा सर्वोच्च अदालतले पुस २६ गते सुनुवाइका लागि पेशी तोकेको छ । सो पश्चात निजीको भर्ना प्रक्रिया अघि बढ्ने वा नबढ्ने निर्णय गरिने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए । त्यही दबाबमा मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गर्ने निर्णय गरेको थियो । सो पश्चात् सम्बन्धन पाएका निजी क्याम्पस सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चबाट मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु÷नगराउनु भन्ने अन्तरिम आदेश जारी भएसँगै विश्वविद्यालयलाई भर्ना खोल्ने बाटो खुलेको विश्वविद्यालयले जनाएको थियो ।

 

ताजा खबर