सारस लुम्बिनीको नगरपंक्षी घोषणा

२०७५ मङ्सिर १० सोमबार २०:४९:०० मा प्रकाशित

रुपन्देही । लोपोन्मुख सारसलाई बुद्ध जन्मस्थल लुम्बिनीको नगरपन्छी घोषणा गरिएको छ । 

लुम्बिनीमा आजदेखि शुरु भएको पन्छी महोत्सवका अवसरमा गौतम बुद्धको जीवनसँग जोडिएको सारसलाई नगरपन्छी घोषणा गरिएको हो । ‘शान्तिका लागि सारस संरक्षण’ भन्ने नारासहित लुम्बिनी विकास कोषले पहिलो पटक आयोजना गरेको महोत्सवमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले सारसलाई नगरपन्छी घोषणा गरेका हुन् ।

कार्यक्रममा सारस संरक्षणका लागि कार्यरत संस्था क्रेन फाउण्डेशन अमेरिकाका अध्यक्ष जर्ज आरचीबोल्डले लुम्बिनी सारसका लागि उत्तम बासस्थान भएकाले सोको संरक्षण जरुरी भएको बताए। कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले शान्ति र प्रेमको प्रतीक सारस नेपालमै सबैभन्दा धेरै लुम्बिनीमा पाइने र यसको बासस्थान जोगाउन सबैले हातेमालो गर्न जरुरी रहेको बताए। 

प्रदेश नं ५ प्रदेशसभा सदस्य फकरुद्दिन खानले पर्यावरण मानिसको जीवनसँग जोडिएको विषय भएकाले यसको दिगो विकास र संरक्षण जरुरी रहेको बताए। महोत्सवअन्तर्गत आज चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा २० विद्यालयका ३५ जना विद्यार्थी सहभागी रहेकामा मेत्ता गुरुकुलका सुनिल हरिजन प्रथम, मधुवनी माविका राकेशकुमार रायदास द्वितीय र मेत्ता गुरुकुलका शिवसागर कोहार तृतीय भएका छन् । 

महोत्सवमा सारस संरक्षणमा योगदान पु¥याउने तीन स्थानीयवासीलाई सम्मान गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका लम्किहवाका रामबकस लोध, विजयलक्ष्मी मिश्रा र महिलवारकी शोभावती पाललाई सम्मान गरिएको हो । रासस

ताजा खबर