अनमोलको ‘क्याप्टेन’लाई चुनौती, शिवरात्रिको अवसरमा ‘जात्रै जात्रा’...

२०७५ मङ्सिर १० सोमबार ०८:४९:०० मा प्रकाशित

काठमाडौ,१० मंसिर । दुई वर्ष अगाडिको हिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ र अनमोल केसी स्टारर चलचित्र क्याप्टेन एकसाथ प्रदर्शनमा आउने भएका छन् । नेपालीहरुको प्रमुखमध्येको एक पर्व शिवरात्रिलाई लक्षित गरी यी दुई चलचित्र प्रदर्शनमा ल्याउन लागिएको हो । त्यसो त अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’सँग जात्रै जात्रा भिड्ने पक्का भएपछि फागुन १७ को डेटलाई धेरैले चासोपूर्वक हेरेका छन् ।

दुवै चलचित्र दर्शकले प्रतिक्षा गरेका चलचित्र हुन् । यसरी सानो बजारमा बिग बजेटका चलचित्र जुधाइँदा निर्माण पक्षलाई मात्र नभएर चलचित्रका कलाकारहरुलाई पनि पक्कै राम्रो हुँदैन । चलचित्रले नाफा कमाउने त परको कुरा लगाउनी उठाउने वातावरण पनि नबन्ने स्थिति एकातिर आउँन सक्छ भने अर्कोतिर कलाकार तथा निर्माताहरुबीच नै मननमुटावको अवस्था समेत सिर्जना हुन्छ । 

तर, महाशिवरात्रीको विदामा फिल्म रिलिजका लागि उपयूक्त समय भएको र फेस्टिवलमा नेपाली बजारले दुई वटासम्म फिल्म सहजरुपमा धान्न सक्ने निर्माताको भनाई छ । यसबीच अभिनेता विपिन कार्कीको दुर्घटनामा दाहिने खुट्टा फ्याक्चर भएपछि फिल्म ‘जात्रै जात्रा’ पूर्वनिर्धारित मितिमा नआउने चर्चा थियो ।

प्रमुख अभिनेताको दुर्घटनापछि निर्माता मध्येका रविन्द्र सिंह बानियाँ फिल्मको रिलिज पोस्टपोन्ड गर्ने अन्तिम तयारीमा थिए । तर, चिकित्सकले तीन सातापछि सुटिङ ज्वाइन गर्न सक्ने सल्लाह दिएपछि अब फिल्म पूर्वनिर्धारित मितिमा नै प्रदर्शनमा आउने पक्का भएको छ । अहिले अभिनेता कार्की ‘बेड रेस्ट’ मा छन् ।


निर्माता बानियाँले विपिनको दुर्घटनापछि रिलिज पोस्टपोन्ड गर्ने सोच बनाएपनि अब फागुन १७ मै आउने जानकारी दिए ।  ‘एक–दुई दिनमा नै सुटिङ सुरु गर्दैछौं । तीन हप्ता अगाडिसम्म दयाहाङ राईलगायतका कलाकारको सिन सक्छौं । त्यसपछि विपिनको गर्ने तयारी छ’, उनले भने । अभिनेता विपिनको दुर्घटनापछि फिल्मको छायांकन प्रभावित भएको थियो ।

निर्माता बानियाँले क्लाइमेक्स फाइट भने तत्काल सुट नगर्ने बताए । भन्छन् ‘गाह्रो सिनहरु त लगभग सकिएको छ । क्लाइमेक्स फाइट पनि त्यस्तो हेवी त होइन तर त्यो तत्काल गर्दैनौं ।’ यसका निर्देशक प्रदीप भट्टराई हुन् ।

ताजा खबर