अब कैदीबन्दीका लागि पनि विद्युतीय हाजिरी

२०७५ मङ्सिर ६ बिहीबार १२:२९:०० मा प्रकाशित

काठमाडौं, ६ मंसिर । मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा कैदीबन्दीका लागि विद्युतीय हाजिरको व्यवस्था गरिने भएको छ ।

वि.सं. १९७१ मा स्थापना भएको सो कारागारमा प्रविधिको माध्यमबाट हाजिर गर्ने व्यवस्था गर्न लागिएको हो । दुई हजार ८०२ कैदीबन्दी रहेको कारागार परिसरभित्र केन्द्रीय, भद्र र महिला गरी तीन वटा जेल रहेका छन् ।

प्रारम्भमा महिला जेलबाट विद्युतीय हाजिरको एक हप्तापछि शुरुआत गर्न लागिएको हो । महिला जेलभित्र ३१६ कैदीबन्दी छन् । देशैभरि यसप्रकार हाजिरको व्यवस्था गर्ने लक्ष्यअनुसार जगन्नाथदेवलको महिला जेलबाट नमूनाका लागि उक्त व्यवस्था शुरु गर्न लागिएको सो कारागारका जेलर वेदनिधि अधिकारी बताए ।

“नमूनाका लागि केन्द्रीय कारागारबाट शुरुआत गर्न लागेका हौँ, यसको आवश्यकता र औचित्य हेरेर क्रमशः देशभरका कारागारमा उक्त प्रविधि लैजाने विभागको लक्ष्य रहेको छ” उनले भने ।

हाल केन्द्रीय कारागारभित्र रहेका केन्द्रीय, भद्र र महिला जेलमा दैनिक तीनदेखि चार पटकसम्म हाजिरीपुस्तिकामार्फत कैदीबन्दीको हाजिर लिने काम हुँदै आएको छ । कुनै पनि कैदीबन्दी नहराउन भन्ने उद्देश्यले हाजिरी अभिलेख बेलाबेलामा लिने गरिएको जेलर अधिकारीको भनाइ छ ।

नयाँ प्रविधिको हाजिरीको लागि केन्द्रीय कारागारले एक लाख लागतमा तीनवटा मेशिन खरीद गरी जडानसमेत गरिसकेको कारागारका लेखा अधिकृत कुलप्रसाद रेग्मी बताए ।

“महिला जेलभित्र छुट्टाछुट्टै स्थानमा तीन मेशिन जडान गरिएको छ, जसले गर्दा उनीहरुलाई हाजिर गर्न सजिलो हुन्छ”, उनले भने । तीनवटा मेशिन भएपछि सबैलाई तीन भागमा विभाजन गरेर बिहान, दिउँसो र बेलुका हाजिर गर्न लगाउने व्यवस्था मिलाइनेछ ।  रासस

ताजा खबर