फेरिएकी ऋतु

२०७५ मङ्सिर ५ बुधबार २०:४०:०० मा प्रकाशित

काठमाडौं । सानो छँदै गीत संगीत भनेपछि भुतुक्कै हुने ऋतु कँडेलले अहिले चर्चित लोक तथा पप गायिकाको छवि बनाइसकेकी  छिन् । दश वर्षदेखि गीत गाउँदै आएकी उनी यतिबेला आफूलाई अझै परिपक्क गायिका बनाउन शास्त्रीय संगीत पनि पढिरहेकी छिन् ।

 चितवनमा जन्मेहुर्केकी ऋतुले यो बर्षको दशैं जापानमा मनाइन् । झण्डै दुई महिना लामो जापान बसाइ र त्यहाँ रहँदा नेपाली समुदायका माझमा उनको खुशी त्यहाँको लोकप्रिय फूल साकुरा झैं फुल्यो ।

सिंगापुरे फरिया, विदेशी भूमि, बतास जस्ता गीतले उनलाई गज्जबकै चर्चा दियो ।  मायाँजाल, जवानी आयो, आउ न आउ जस्ता गीतले उनलाई स्टेज तताउने गायिका बनायो ।  बतास, ऋतुका फूल, तिजैमा , विदेशी भूमि र सिंगापुरे फरिया गरी पाँचवटा एल्वम निकालेकी ऋतुले केही गीतमा मोडलिङ पनि गरेकी छिन् ।

‘तपाईं त मोडल बन्नुपर्ने होइन र ?’

 प्रश्न गर्न नपाउँदै उनको जवाफ आयो– ‘मोडलिङ गर्ने धेरै अफर आयो । तर आफ्नो गीत बाहेक अरुमा मोडल बन्न मन लागेन ।’

उनलाई गाउन मन पर्ने गीत लोक प्याट्रनकै हो । ‘किन किन मलाई नाच्ने कालको गीत गाउन मन लाग्छ ’ उनी भन्छिन्– ‘कति उदासी बन्नु मान्छे खुशी हुने गीत गाउँदा बढी आनन्द लाग्छ ।’

त्यसो त उनी आधुनिक, लोक र शास्त्रीय सवै खालका गीत गाउँछिन् । गीतले भित्रैदेखि छुनु पर्छ भन्ने उनको मान्यता छ । उनी भन्छिन् – ‘शास्त्रीय संगीत भनेको संगीतको पनि जरा हो त्यसैले आफूलाई पोख्त बनाउन पढ्न सुरु गरें ।’

ऋतु आफूलाई ‘फुल टाइमर सिंगर’ भन्छिन् । नेपालका अधिकांश जिल्लामा उनले कार्यक्रम गरिसकेकी छिन् ।

अहिले जताततै लोक प्याट्रनको म्युजिक  चलिरहेकोमा उनी मख्ख छिन् । उनलाई ट्याक्सी , बसमा यात्रा गर्दा आफ्नो गीत बजिरहेको सुन्दा रमाइलो लाग्छ । भन्छिन् – ‘त्यस्तो बेलाको खुशी अर्कै खालको हुन्छ , शव्दमा कसरी भन्नु ?’ 

एक पटक त उनी एउटा विहेको पार्टीमा पुगेकी थिइन् । नाचगान सुरु भयो । संयोग पनि कति सुखद उनले नै गाएको गीतमा आफैं छमछमी नाचेर घर आइन । उनी खुशी नहुने  कुरै भएन । ‘मनमनै निकै खुशी लाग्दो रहेछ , आफ्नै गीतमा अज्ञात मान्छेको रुपमा नाच्दाको रमाइलो बेग्लै थियो ’ उनले सुनाइन ।

कलाकारको जीवन दिनदिनै एक ठाउँबाट अर्को ठाउँ जान तयार हुनुपर्ने त्यसैले पुरै समय गीतसंगीतको लागि तयारी गर्दागर्दै वित्ने गरेको उनको अनुभव छ । परिवारको पुरा सहयोगले नै आफूमा उर्जा भरिएको उनी सुनाउँछिन । ऋतु तबला, हार्मोनियम, तान्पुरा लगायत अधिकाँश बाजा बजाउँछिन् ।

दिनमा पाँच घण्टा जति उनी संगीत साधना गर्छिन् । केही नयाँ गीतको काममा हिजोआज व्यस्त ऋतु निकट भविष्यमा  म्युजिक स्कूल र स्टुडियो खोल्ने योजनामा छिन् ।  
 

ताजा खबर