'मिटू'मा परेका अभिनेता आलोक नाथमाथि मुद्दा

२०७५ मङ्सिर ५ बुधबार १६:१९:०० मा प्रकाशित

काठमाडौं, ५ मंसिर । यौन दुर्व्यवहारविरुद्ध ‘मि टू’ अभियानमार्फत अभिनेता आलोक नाथमाथि बलात्कारको आरोप लगाएकी अभिनेत्री एर्व निर्मात्री बिन्ता नन्दाले प्रहरीमा उजुरी गरेकी छन् । उनको उजुरीका आधारमा आलोकविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको मुम्बई प्रहरीले जनाएको छ ।

मुम्बईको ओसिवरा प्रहरी कार्यालयमा आलोकविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको हो । मुम्बई प्रहरीको पश्चिम क्षेत्रका अतिरिक्त कमिसार मनोजकुमार शर्माले भारतीय कानुनअनुसार मुद्दा दर्ता गरिएको द हिन्दुलाई बताएका छन् ।

विन्दाले गत महीना प्रहरीमा उजुरी दिएकी थिइन् । प्रारम्भीक अनुसन्धानपछि प्रहरीले दर्ता गरेको हो । अभिनेता आलोकलाई अर्को साता बनानका लागि बोलाउन तयारी भइरहेको जनाएको छ ।

१९ वर्ष अघि आलोकले बलात्कार गरेको 'मि टू' अभियानमार्फत विन्दाले सार्वजनिक गरेकी थिइन् । मदिरा सेवन गरेको अवस्थामा घरमा छोड्न आएका उनले बलात्कार गरेको विन्दाको आरोप थियो ।

त्यसपछि मि टू मार्फत नै अभिनेत्री सन्या मृदुलले पनि आलोकले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । आलोक भने आफू निर्दोश भएको बताउँदै आएका छन् ।

यस अघि मिटू अभियानमार्फत नै यौन दुर्व्यवहारको आरोप लागेका भारतका केन्द्रीय मन्त्री एमजे अकबरले राजीनामा दिनु परेको थियो । भारतमा चलिरहेको 'मि टू' अभियानले थुप्रै कलाकार, लेखक, पत्रकारलाई पद छोड्न बाध्य पारेको छ ।

अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि शुरु भएको 'मि टू' अभियानले भारतलाई हल्लाइ रहेको छ ।

ताजा खबर