किन यति छिट्टै बिच्किए दर्शक ?

२०७४ श्रावण १५ आइतबार १२:१९:०० मा प्रकाशित

 'तिम्रो दाँत अलि नमिलेको रहेछ'

'स्वरमा खासै दम छैन, तर डिम्पल मेरोभन्दा राम्रो छ'

'स्वर राम्रै हो तर बेसुरा भयो'

'खै त मेकअप गरेको!  गीत मात्र गाएर हुन्छ ?

यी प्रतिक्रिया र टिप्पणी ‘एपी वान’ टेलिभिजन च्यानलबाट प्रशारण भइरहेको सांगीतिक कार्यक्रम ‘नेपाल आइडल’ का निर्णायकहरूको हो। निर्णायकका यिनै बोली र सम्बोधनका कारण अहिले यो कार्यक्रम विवादमा तानिएको छ।

पछिल्लो समय नेपाल आइडलको चर्चा बजारमा निकै छ। चर्चा सकारात्मकभन्दा बढी नकारात्मक हुन थालेको छ। निकै ठूलो लगानीमा सुरु गरिएको यो कार्यक्रम यसरी विवादमा तानिनुले सांगीतिक क्षेत्रमा देखिएको एउटा राम्रो कार्यक्रम, जसबाट राम्रो संभावना बोकेका कलाकार उत्पादन हुनेछन् भन्ने अपेक्षा थियो, त्यो निराशामा परिणत हुने खतरा बढेको छ।

प्रतिभाशाली कलाकारहरूको सहभागिता देखेर हौसिएका दर्शक निर्णायकहरूको प्रतिक्रिया र प्रतियोगी कलाकारप्रतिको हेपाहा प्रवृत्तिका कारण खिन्न बनेका छन्। हल्का र सहभागीलाई हतोत्साहित बनाउने खालका टिप्पणी गरेका निर्णायकहरू विवादमा आएका छन्। उनीहरूको मूल्यांकन प्रक्रिया र विधि निष्पक्ष नभएको टिप्पणी पनि हुन थालेको छ।

विराटनगर, वीरगञ्ज, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज र काठमाडौँलगायत ७ वटा शहरहरूमा लिइएको अडिसन पनि विवादमा परेको थियो। निकै तामझामसहित सुरु भएको ‘नेपाल आइडल’ प्रशारण हुन थालेपछि विवादमा तानिएको हो।

निर्णायकका रूपमा नेपालका चर्चित संगीतकार एवं गायक न्ह्यू बज्राचार्य, गायिका इन्दिरा जोशी र गीतकार एवं संगीतकार कालीप्रसाद बाँस्कोटा छन्। उनीहरूको निर्णय र अडिसनमा प्रस्तुत हुने शैली दर्शकले मनपराएका छैनन्। विवादको क्रममा कसैले जातीयताका आधारमा भेदभावपूर्ण व्यवहार गरियो भनेका छन्। कतिपयले बोल्ने शैली भएन, राम्रो गला र कला भएकालाई अवसर नदिएर आफ्ना इष्टमित्र र नजिककालाई मात्र प्राथमिकता दिइयो भन्ने आरोप पनि लगाएका छन्।

सामाजिक सञ्जालहरूमा निर्णायकहरूका यस्ता व्यवहारको  विरोध भएको छ। असन्तुष्ट दर्शकहरूले निर्णायकहरू परिवर्तन गर्नुपर्नेसम्मको आवाज उठाएका छन्। विवाद र नकारात्मक टिप्पणीप्रति ध्यानाकर्षण गराउँदा निर्णायकमध्येका एक कालीप्रसाद बाँस्कोटा आफू यसबारे केही पनि नबोल्ने भनेर पन्छिन खोजे।

अर्की निर्णायक इन्दिरा जोशीले पनि यो विषयमा केही नबोल्नूु भनिएको बताइन्। नेपाल आइडलका बारेमा धेरै कुरा गर्न नमिल्ने सम्झौता भएको बताउने इन्दिराले नेपाल आइडल बन्न राम्रो गायकी भएर मात्रै नहुने तर्क गरिन्। ‘नेपाल आइडल पहिलो पटक नेपालमा भएको छ, यो नै हाम्रो लागि गर्व गर्ने कुरा हो, उनी भन्छिन्,हामी एउटा आइडलको खोजीमा छौँ। नेपाल आइडल हुनका लागि भर्सटाइल हुन जरुरी छ।’

आइडलको पहिलो अडिसन राउण्डको भिडियो यु–ट्युबबाट बाहिर आएपछि केही राम्रो संभावना बोकेका गायकहरूलाई निर्णायकहरूले अवसर नदिएको भन्दै सामाजिक सञ्जाल र मिडियामा आरोप लाग्न थालेका थिए। संगीतसम्बन्धी ज्ञान नै नहुने सर्वसाधारणले पनि भेदभाव गरिएको भन्दै प्रतिक्रिया दिइरहेका छन्।

संगीतमा तीन दशक बिताइसकेका संगीतकार न्ह्यू बज्राचार्य यो आफ्नो व्यक्तिगत निर्णयमा कुरा काट्ने काम भएको बताउँछन्। ‘मैले प्रतिस्पर्धीहरूलाई ‘तपाईं’ नभनी ‘तिमी’ भनेँ भनेर आरोप ममाथि लागेको छ। मलाई नेपाली भाषा बोल्न आउँदैन भन्ने आरोप पनि छु, उनी भन्छन्, तर मलाई के लाग्छ भने नेपालमा विभिन्न भाषाभाषी छन् र सबैलाई उत्कृष्ट शैलीमा नेपाली भाषा बोल्न आउँछ भन्ने छैन।’

भाषाप्रति संकुचित सोच राखिनु नहुने भन्दै सांगीतिक क्षेत्रमा यसै पनि तपाई भन्दा तिमी शब्दकै प्रयोग बढी हुने गरेको उनले सुनाए। ‘गीतहरूमा तपाईं भन्दा तिमी शब्द नै प्रयोग हुन्छ’, उनले भने, ‘त्यसबाहेक मलाई तिमी भनेर सम्बोधन गर्दा अझ बढी आत्मीयता झल्कन्छ जस्तो लाग्छ।’
नेपाल आइडलका प्रोजेक्ट प्रमुख सुरेश पौडेलले भने यी सबै आरोपहरू खासै ठूलो कुरा नभएको प्रतिक्रिया दिएका छन्। ‘प्रतियोगितामा आफू नछानिएपछि निर्णायक नराम्रो लाग्छ, आफू राम्रो गाउन नसक्दा निर्णायकलाई आरोप लगाउने काम हुन्छ’, उनले भने। तर दर्शकहरू भने निर्णायकका व्यवहार र कार्यक्रमको विश्वसनीयताप्रति ढुक्क बन्न सकेका छैनन्।

ताजा खबर