नेपाल लिटरेचर फेस्टिभल पुष पहिलो साता

२०७५ मङ्सिर ४ मंगलबार ११:०३:०० मा प्रकाशित

काठमाडौं, ४ मंसिर । नेपाल लिटरेचर फेस्टिभल पुष पहिलो साता पोखरामा हुने भएको छ ।

गतवर्ष भन्दा केही ढिलो गरि फेस्टिभलको सातौ संस्करण ७ देखि १० पुषसम्म पोखरामा हुने तय गरिएको आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ । फेस्टिभलमा स्वदेशी र विदेशी साहित्यकार, लेखक, पत्रकार तथा बुद्धिजीविहरुको सहभागिता रहने छ ।

बुकवर्म फाउन्डेसनका अनुसार, यस संस्करणमा डा. निकोला स्ट्रिटेन (बेलायत), मोहम्मद हनिफ (पाकिस्तान), प्रज्ज्वल पराजुली (भारत), नमिता गोखले (भारत), हरिश नाम्बियर (भारत), मञ्जुश्री थापा (क्यानडा) लगायतका साहित्यकार तथा लेखकको सहभागिता रहने छ ।

यस बाहेक अन्य चर्चित लेखक तथा साहित्यकारसँग पनि कुराकानी भइरहेको फेस्टिभल संयोजक रविन गिरीले बताए । फेस्टिभलमा नेपालका पनि नयाँ र पुराना लेखक, साहित्यकार तथा अनुसन्धाताहरुको सहभागिता रहने छ ।

फेस्टिभलका बारेमा जानकारी दिन नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लेखक खगेन्द्र संग्रौलाले साहित्य महोत्सवलाई लेखक र पाठकबीच प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसरको रुपमा उपयोग गर्नु पर्ने बताए । उनले साहित्यसँगै गैरसाहित्यिक विषयमा पनि फेस्टिभलमा छलफल हुनु पर्ने बताए ।

यसवर्ष फेस्टिभललाई आईएमई ग्रुपले साथ दिएको आयोजक संस्था बुकवर्मका अध्यक्ष अजित बरालले जानकारी दिए । सौता संस्करणमा ‘आईएमई नेपाल लिटरेचर फेस्टिभल’ नाम दिइएको छ ।

लिटरेचर फेस्टिभललाई नेपालकै ठूलो कम्पनीले प्रायोजन गरेकोमा खुशी लागेको बुकवर्मका कार्यकारी निर्देशक निरज भारीले बताए । ‘विदेशमा लिटरेचर फेस्टिभललाई ठूलठूला कम्पनीले प्रायोजन गरेको देख्दा नेपालमा पनि त्यस्ता कम्पनी कहिले होलान जस्तो लाग्थ्यो, आईएमई ग्रुपले साथ दिएपछि त्यो सपना पुरा भएको छ’ कार्यकारी निर्देशक भारीले भने ।

यो महोत्सव सन् २०११ बाट शुरु भएको हो । यस अघि काठमाडौंमा आयोजना हुँदै आएकोमा २०७२ देखि पोखरा सरेको छ ।

ताजा खबर