९० औं वर्षमा मिक्की माउस, अझै उत्तिकै लोकप्रिय

२०७५ मङ्सिर ३ सोमबार १२:०३:०० मा प्रकाशित


काठमाडौं, ३ मंसिर । सन् १९२८ मा पहिलो पटक निर्माण गरिएको कार्टुन चरित्र मिक्की माउस आइतबार ९० वर्ष पुगेको छ ।

कार्टुनको इतिहासमा सबैभन्दा सफल मानिएको मिक्कीको चरित्र परिकल्पना देखि अहिले सम्मको यात्रा अत्यन्तै रोचक छ । हसाउन तथा मनोरञ्जनको लागि निर्माण गरिएको मिक्कीको लुगा रातो ट्राउसर, ठुलो पहेंलो जुत्ता र सेता पञ्जाले पनि यो चरित्रलाई विश्वकै सबैभन्दा परिचित कार्टुन चरित्र बनाउन सक्यो ।

मिक्कीको परिकल्पना

वाल्ट डिस्नीले पहिलो कार्टुन चरित्रको रुपमा ओस्वाल्ड द लक्की र्याविट नामक खरायोलाई कार्टुन चरित्रको स्वरुप दिएका थिए । तथापी उक्त चरित्रमा अधिकारको विवाद भइ वाल्टले उक्त मुद्दा हारेपछि मिक्कीको चरित्रको निमार्ण गरेका थिए ।

चित्रकार यूब आइवर्कस र डिस्नीको परिकल्पनामा निमार्ण गरिएको मिक्की चरित्रको नाम सुरुमा मोर्टाइमर राखिएको थियो । डिस्नीकी श्रीमतीलाई उक्त नाम मन नपरेकोले उनले मिक्की राख्न सल्लाह दिएपछि सो चरित्रलाई मिक्कीको नाम प्राप्त भएको थियो ।

पहिलो चलचित्र

सन् १९२८ को नोभेम्बर १८ को दिन स्टीमबोट विली नामक आठ मिनेटको लघु चलचित्र नै मिक्कीको पहिलो चलचित्र हो । संगीत तथा ध्वनीको सम्मीश्रण गरिएको उक्त चलचित्रमा मिनी माउस र मिक्कीका प्रख्यात प्रतिद्वन्दी बिरालोको चरित्र पिट पनि समावेश थिए । सोही समयमा नै मिक्कीको चरित्रलाई असाध्यै मन पराइएको थियो ।

अस्वीकृत मिक्कीको चलचित्र

स्टीमबोट विली आउनु अघिनै मिक्की चरित्रलाई प्रयोग गरी प्लेन क्रेजी नामक चलिचित्र बनाइएको थियो । बजारमा ल्याउनु अघि वितरकहरुमाझ उक्त चलचित्रको प्रदशर्नी गरिएपनि उक्त चलचित्र वितरण गर्न कोही अग्रसर नहुँदा अस्वीकृत नै भएको थियो ।

अमेरिका देखि यूरोपसम्म जहाज चलाउने पहिलो हवाइचालक चाल्र्स लिन्डबर्गको चरित्रमा मिक्कीलाई उक्त चलचित्रमा प्रस्तुत गरिएको थियो । यस चलचित्र बनाउने क्रममा यूब आइवर्कसले एकै दिनमा सात सय वटा चित्र बनाएका थिए । पहिलो पटक अस्वीकृत भएपनि सन् १९२९ मा यसमा ध्वनी सम्मीश्रण गरि पुनः बजारमा ल्याइएको थियो ।

रंगमा मिक्कीको चलचित्र

मिक्कीको चलचित्रहरु सन् १९३५ सम्म ब्ल्याक एण्ड ह्वाइट (श्यामश्वेत) मै आउने गरेको थियो । सन् १९२८ देखि १९४६ सम्म त मिक्कीको लागि पाश्र्वध्वनी वाल्ट डिस्नीले नै दिने गरेका थिए । रंगीन स्वरुपमा सन् १९३८ मा बनेको मिक्कीको चलचित्र द ब्रेभ लिटल टेलर विश्वकै कार्टुन निर्माताको आधुनिक प्रविधिमा बनेको उक्त समयको लागि उदाहरणीय चलचित्र बनेको थियो ।

मिक्कीका साथी

मिक्की माउसका कार्टुनहरु एउटै चरित्रले मात्र प्रख्यात छैन । यसमा सहायक रुपमा अन्य चरित्रहरुको पनि मिक्की लोकप्रिय हुनुमा ठुलो हात रहेको छ ।

प्लुटो नामक मिक्कीको साथी कुकरलाई सन् १९३० मा मिक्कीको कार्टुनमा देखाउँदा रोभर नाम दिइएको थियो । प्लुटोले मिक्कीको रोमाञ्चक जिन्दगीमा केहि समस्या आउन लाग्दा मिक्कीले भन्दा पहिले थाहा पाउने गरेको छ ।

डिस्नीले बनाएका अधिकांस कार्टुन चरित्रहरु बोल्ने भएपनि प्लुटोलाई नबोल्ने जनावरको रुपमा प्रस्तुत गर्ने गरिएको छ । प्लुटोले आफ्नो भावना भुकाइ तथा ङ्वार–ङ्वार जस्ता हाउभाउले व्यक्त गर्ने गरेको छ ।

जादुगरको चेला मिक्की

सन् १९३९ सम्ममा डोनाल्ड डक चरित्रलाई पनि दर्शकले असाध्यै मन पराएका थिए । डिस्नीको तेश्रो एनिमेटेड फिल्म फेन्टासिया मा मिक्कीले जादुगरको चेलाको चरित्र निभाएका थिए । यस चलचित्रले सन् १९४२ मा ओस्कार अवार्ड नै पाएको थियो । धेरै समर्थकले मिक्कीले उक्त फिल्ममा निभाएको भुमिकाले पनि ओस्कार अवार्ड पाउनुपर्ने धारणा राखेका थिए ।

मिक्कीले मनाए क्रिशमस

५० को दशकमा मिक्कीको केहि लघु चलचित्र आएपछि केहि समय कुनै चलचित्र नै बजारमा आउन सकेन । तथापी सन् १९८३ मा बजारमा उत्कृष्ट पुनरागमन गर्ने क्रममा मिक्कीज क्रिशमस केरोल नामक चलचित्रमा पुनः देखिए । सो चलचित्रले ओस्कारको उत्कृष्ट एनिमेटेड लघु चलचित्रको अवार्ड नै पायो र उक्त कुराको घोषणा स्टेजमै आएर स्वयं मिक्की माउसले नै गरेका थिए ।

अभिनेताको रुपमा मिक्की

अभिनेताको रुपमा मिक्कीको द प्रिन्स एण्ड द पपर नामक चलचित्रले ९० को दशका अद्भुद सफलता हात पारेको थियो । कार्टुन चरित्र भएर पनि सन् १९७८ मा हलिवुड वाक अफ फेम पाइसकेका छन् ।

मिक्कीको महान प्रेम

मिनीसँगको सम्बन्धमा मिक्की सधैं सहज नदेखिएपनि यि दुईलाई वास्तवमा अलग नै गर्न नसकिने चरित्र हुन् । यि दुई सन् १९२८ मा पहिलो पटक एउटै चलचित्रमा देखिएका थिए ।

मिनीले सेक्रेटरी र रिपोर्टरको रुपमा काम गर्ने तथा उनी फुलहरु र रातो लुगा भनेपछि हुरुक्कै गर्छिन् । अर्कोतर्फ मिनीलाई खुशी पार्न मिक्कीले हरसम्भव प्रयास गर्ने गरेका छन् । तर यस प्रेममा टमक्याट कार्लो सधैं खलपात्रका रुपमा आउने गरेका छन् । मिक्कीको आत्मीय प्रेमीकालाई फकाउन प्रयास गर्न कहिल्यै छोड्दैन ।

मुसाको 'बेष्ट फ्रेन्ड'

भद्र चरित्रमा सधैं हसिलो देखिने गुफी सन् १९३२ मै मिक्कीको चलचित्रमा देखिइएका चरित्र हुन् । तथापी गुफीको छोरा म्याक्स ठ्याक्कै विपरित चरित्रका छन् ।

मिक्कीको अधिकांस रोमाञ्चक यात्रामा गुफी साथै रहन्छन् । एक अर्कालाई सधैं साथ दिने यि दुईले मुसा र कुकरको मित्रतालाई विश्वसनीय देखाएका छन् ।

कमिक पुस्तकमा पनि सफल

मिक्कीको पहिलो हास्य पुस्तक सन् १९३१ मा प्रकाशित भएको थियो । सो पुस्तकपछि मिक्की अन्तर्राष्ट्रिय स्तरमा पनि प्रख्यात हुँदै गए । इटाली र जर्मनमा समेत मिक्कीको नामबाट पत्रिकाहरु निकाल्नाले मिक्की चरित्र थप प्रख्यात भएको थियो ।

डिस्नील्याण्डका स्टारः मिक्की र मिनी

मिक्की चरित्रको व्यापकतासँगै सन् १९५५ मा अमेरिकाको क्यालिफोर्नियामा डिस्नील्याण्ड पार्क नै शुरुवात गरिएको थियो । अहिले टोकियो देखि पेरिससम्म गरेर कुल ६ वटा डिस्नील्याण्ड भइसकेका छन् ।

साना बाल बालिका मात्र होइन वयस्क देखि वृद्धवृद्धा सम्मले डिस्नील्याण्डमा रमाइलो गर्ने गरेका छन् । अनेक मनोरञ्जनात्मक गतिबिधीका बावजुद डिस्नील्याण्डको मुख्य आकर्षण मिक्की र मिनी माउस नै हुन् ।

साम्राज्य नै बनाएका ती मुसा

हालसम्मका वर्षहरुमा मिक्की १ सय ३० भन्दा बढि चलचित्रमा देखिइ सकेका छन् । यसरी प्रख्यात भएका मिक्की नै वाल्ट डिस्नी कम्पनीको आधिकारीक मस्कट हुन । उनको चित्रभएका सामानहरु अझै पनि उत्तिकै प्रचलित छन् । सन् १९५४ मा वाल्ट डिस्नीले भनेका थिए , ‘एउटा मुसाले सुरुवात गरेको सबै कुराहरु हामी बिचबाट नहराओस् भन्ने कामना गर्दछु ।’

यति लामो समयसम्म मानिसको मानसपटलमा अमिट छाप छोड्न सफल मिक्कीको चरित्रको ९० औं वार्षिकोत्सव भव्य मनाइएको छ । उनको नामसँग जोडिएका हरेक वस्तु अझै पनि उत्तिकै प्रख्यात हुनुले पनि मिक्की अमर नै भइसकेको भन्दा अतिशयोक्ति नहोला । (एजेन्सीको सहयोगमा)

 

ताजा खबर