‘सर्वेन्द्र खनालको नागरिक अभिनन्दन’

२०७५ मङ्सिर १ शनिबार १२:५८:०० मा प्रकाशित

आहा काठमाडौं । कति रमाईलो यो काठमाडौं । चपला अपलाहरु त पहिले देखि नै थिए यहाँ । गुनकेशरीको फूल पनि फक्रेकै थियो यहाँ । तर किन यति रमाईलो शान्त र अनुशासित थिएन यो काठमाडौं शहर पहिले ! आज त औधी शान्त छ । शान्त मात्र छैन शहर प्रशन्न पनि छ । यो शहर के प्रशन्न होला र म यो भन्दा कता हो कता प्रशन्न छु आज । कतै चोकमा उभिएर यो शहरलाई फन्फनी घुमेर हेरौं अनि कम्मर मर्काई मर्काई नाचौं नाचौं पो लागिरहेको छ मलाई त । आखिर किन यो शहर यस्तो शान्त अनुशासित र सुरम्य भयो । कसको करामत हो यस्तो ? 

हँ हँ हँ !!!

ए कुरा त्यसो पो हो ! 

‘नेपाल प्रहरीले शहरलाई सभ्य र व्यवस्थित गर्न के मात्र पो गरेको छैन र,जब खनाल आए !’ 

यसो पो भन्दैछन् बटुवाहरु त ! 

ए हो त रहेछ नि– उ पर चोकमा महानिरीक्षक आफैं उभिएर ट्राफिक व्यवस्थापन गरिरहेका छन् । उनका सहयोगी प्रहरीलाई उनी सिकाईरहेका छन् नागरिकलाई सहज हुनेगरी ट्राफिक व्यवस्था गर्न । बटुवाहरु भन्दैछन् शहरका कुनै चोक नपुगेका छैनन् उनी । यी अहिले त सिंहदरबार चोकमै पो उभिएका छन् बरा ! कति खट्न सकेका यी । वरपर सबैतिर आँखा घुमाएका छन् । ओठ नउघारीकन हाँसेका छन् । हाकिम हुन् प्रहरीका मुस्कान त छर्नै पर्यो जो उनी छरिहेका छन् मौलिक शैलीमा । 

ध्वनी प्रदुषण हटेको छ,कोही कसैलाई ओभरटेक गर्दैन । पैदलयात्रीलाई पहिलो प्राथमिकता भन्ने मूलमन्त्र नै छ । फुटपाथमा न कुनै पसल छ । न मासु पसल छ कुनै कारखाना नै देखिन्छ । ध्वनी प्रदुषण कम गर्न स्वयं ट्राफिकलेसमेत सिटी फुक्न छोडिदिएको छ । यस्तो उत्पातै सुधार त राजा राम शाह नै आए पनि गर्नसक्ने थिए कि थिएनन् । आज सर्वेन्द्र खनालले एक कर्मठ महानिरीक्षकको हैसियतमा जो गरिदिएका छन् । 

फुटपाथमा ओहोर दोहोर गर्ने मानिसहरु चर्चा गर्दैछन्– ‘यस्ता पो आईजी, पहिले पहिलेका त के आईजी । सबै थिए हाउगुजी, कमाउन मै बिजी । कसो ?’

म काठमाडौं फन्को मार्दैछु धमाधम यो चोकबाट अर्को चोक । कहिले पुग्छु म काठमाडौंको मुटु रत्नपार्क त कहिले यसको फोक्सो भूगोलपार्क । कहिले म पुग्छु यसको आँखा रामशाह पथ त कहिले पुग्छु पहेंलो धातु प्रवेशद्वार अन्तर्राष्ट्रिय विमानघाट । 

म दौडँदै पुग्छु माइतिघर मण्डला । जहाँ हेटौंडामा हटाईएका लोकल मन्त्री केशव स्थापितलाई घेरेर युवाहरु भन्दैछन्– ‘बुझ्यौ स्थापितजी, आज सर्वेन्द्र खनालको नागरिक अभिनन्दन छ । नागरिक अभिनन्दन अघि उनलाई चारघोडे बग्गीमा चढाएर महानगर परिक्रमा गराईने छ । महानगर परिक्रमा पछि उनलाई महानगर प्रहरी प्रभाग अघिल्तिरको प्रांगणमा सयपत्री, मखमली र बेलिचमेली फूलले सजाईएको मञ्चमा आसन ग्रहण गराईने छ । त्यसपछि उनका नाममा चाँदी र सुन मिश्रित अक्षरले लेखिएको स्तुति पत्र वाचन गरेर सुनाईने छ । त्यसपछि हालैका दिनमा तातोपानीमा सेकिएर नशनाडीको उपचारपछि तन्दुरुस्त भएका भावी राष्ट्रपतिका वरद बाहुलीबाट अभिनन्दन पत्र खनाललाई अर्पण गरिने छ । पस्मिना र खादीबाट बुनिएको दोसल्ला पनि ओढाएर उनको सम्मान गरिने छ । त्यसपछि प्रहरी प्रशिक्षण प्रतिष्ठान हटाएर फराकिलो पारिएको शीतल निवासमा उनको सम्मानमा रात्री भोज आयोजना गरिने छ । जहाँ मापसे पूर्णत निषेध गरिएको छ ।’ 

घेराबन्दी गरिरहेका युवा स्थापितलाई यसरी थर्कारहेका छन् । भनिरहेका छन्– ‘नेता भएपछि त यस्तो काम गर्नुपर्छ । यिनले प्रहरी प्रमुख भएर पनि यतिका काम गरेर देखाईदिए । तिमी त सँधैं माईतिघर मण्डला बनाएँ भनेर मात्र कतिदिन तुजूक लगाईरहन्छौ ?’

मलाई पनि थाहा नभएको कहाँ हो र सर्वेन्द्र खनाल नेपाल प्रहरीका महानिरीक्षक हुन् भनेर । योकुरा त सबै बर्गका नेपालीलाई थाहा छ । करोडको गाडीमा कुकुरको छाउरा काखमा बोकेर सपिङ गर्न जाने मैंसाब देखि बाटो छेकेर राखिएको मोटर परिक्रमा गर्दै ओहोर दोहोर गर्ने फुटपाथे नागरिकलाई पनि खनाल को हुन् भन्ने कुरा थाहा नभएको होईन । 

किन नागरिक अभिनन्दन गरियो खनालको भन्ने बारेमा पनि सर्बसाधारण नागरिक जानिफकार नै छन् । किनभने, पहिलो कुरा त उनले सर्बसाधारण नागरिकको पीरमर्का हटाउन साह्रै मेहनत गरेका छन् । समस्या समाधान पनि गरेका छन् । जस्तो कि,शहरका फुटपाथमा कहिँ कतै पनि पैदल यात्रुको बाटो छेकिएको छैन । सबैजना सरासर हिँड्न पाएका छन् । खनाल महानिरीक्षक भएर आए लगत्तै फुटपाथमा जथाभावी पार्किङ्ग गर्ने चलन हटाएका छन् । पैदल यात्रीको ओहोर दोहोर गर्ने बाटो छोडेर मात्र पार्किङ्ग गर्ने बन्दोवस्त मिलाएईको छ । जजसले यो व्यवस्थाको उल्लंघन गरेका छन् । उनीहरु कि त आर्थिक रुपमा दण्डित भएका छन् कि त जेल गएका छन् । 

शहरका सडकमा जहाँ जहाँ पनि जेब्रा क्रसिङ्ग छन् । त्यहाँबाट बाटो काट्न कुनै जोखिम छैन । पैदल यात्रीले फुटपाथमा उभिएर जेब्रातिर हेरेमात्र पनि गुडिरहेका सवारी झ्याप झ्याप रोकिन्छन् र पैदल यात्रीलाई बाटो काट्न दिन्छन् । यो व्यवस्था पनि जनहितका लागि बन्दोवस्त गरिएको छ । 
फुटपाथमा बाटो छेकेर चुरोट फुक्दै कुराकानी गर्न कडाईका साथ निषेध गरिएको छ । के मात्र गरिएको छैन र ! 

हैट यस्तो देश छोडेर अब म कुनै विदेश जाने चक्करमा पर्दिन । जे सक्छु यहीं गर्छु आफ्नै देशमा गर्छु । अठोट गरे सुधार गर्न सकिन्छ भन्ने यस्तो राम्रो उदाहरण आफ्नै आँखाले देख्दादेख्दै किन जानु विदेश ? 

पानी जहाज आउँदै छ । चीन र भारतबाट रेल आउँदैछ । कुनाकाप्चाबाट तेल आउँदैछ । चुलैमा ग्यास,स्वच्छ वातावरण सजिलै श्वासप्रश्वास । अब किन जानु विदेश । 

(ओ हो के भयो यस्तो हँ । फोहोर संकलन गर्ने भाईले चर्को सिटी फुके छ म त सिरक फालेर जुरुक्कै उठें तर्सिएर । हैट सपना पनि कस्तो कस्तो देखिन्छ कहिलेकाहीं त । अरु बेलाका सपनाको कुरा गरी के साध्य । आज त जो राष्ट्रिय स्तरकै सपना देखिएछ । प्रधानमन्त्रीको महावाणी ठीकै रहेछ–‘सपना देख्न पनि जान्नुपर्छ ।’)
 

 

ताजा खबर