प्रचण्ड, विप्लव, सेना, राजा र काङ्ग्रेस

२०७५ कार्तिक २८ बुधबार ११:१०:०० मा प्रकाशित

हिजो पनि जन आन्दोलनमा विजयी पक्षले नै आफ्नो विश्वास अनुरुपको संविधान निर्माण गरेका थिए ! मर्म र सारमा जनताका प्रतिनिधिले नै संविधान लेखेका थिए ! २०४७ सालको संविधानले कसैलाई विपक्षी बनाएन, राजा, जनता, पार्टीहरू सबैको प्रतिनिधित्व गराएको थियो, 
सबैका आशा र अपेक्षालाई जोडेको थियो, सबैलाई विश्वासमा लिएको थियो I त्यही संविधान अन्तर्गत प्रचण्डको पक्षले २०४८को आम चुनाव चुनाव लडेर नौ सिटमा जितेर संसदमा पुगेको थियो I 
*****
२०४७ सालको संविधानले मुलुकलाई शान्ति, स्थिरता र समृद्धि दिने सफल अभियान प्रारम्भ गर्यो, शुरूका बर्षहरूमा नेपालले तीव्र आर्थिक विकास आरम्भ गर्यो ! त्यतिखेर दक्षिण एसिया मात्र होइन, दक्षिण पूर्व एसियाका आजका उदीयमान मुलुकहरूको तुलनामा नेपालको आर्थिक विकास उत्साहजनक थियो भन्ने कुरा नेपाल, एडीबी र वर्ल्ड बैंकका त्यतिखेरका अभिलेखले बताउँछन् I नेपाल सफल र समृद्ध मुलुक बन्दै थियो I 
*****
काङ्ग्रेस भित्र छत्तीसे -चौहत्तरे जन्मिए ! संविधानलाई पंगु बनाउने र प्रजातन्त्रलाई उपहासको पात्र बनाउने अभ्यास त्यसपछि शुरूभयो !
प्रचण्ड र बाबुराम संविधान सिध्याउन लागे I मुलुक मध्यावधि निर्वाचनमा जानुसँगै प्रचण्ड-बाबुराम निर्वाचन वहिष्कार गरेर कथित जन युद्धमा जानु संयोग मात्र थिएन ! 
******
२०६२ -६३को आन्दोलनले गणतन्त्र, संघियता र धर्म निरपेक्षता मागेकै थिएन ! राजाको निरङ्कुश शासनको अन्त्य र संसदको पुनर्स्थापना मात्रै खोजेको थियो ! मुलुक फेरी सम्भावना बोकेर अघि बढ्ने लक्षण देखिनासाथ राजाद्वारा पुनर्स्थापित संसद, अन्तरिम संसद र अन्तरिम संविधानद्वारा सिर्जित शक्तिहरू एकैसाथ विभिन्न मुकुण्डो धारणगरेर मुलुकको राजनीतिलाई षड्यन्त्रपूर्वक गणतन्त्र, संघियता र धर्म निरपेक्षताको पासोमा बाँध्न सफल भए र मुलुक आजको स्थितिमा आइपुगेको छ Iराष्ट्रको पहिचान बनेको हिन्दु अधिराज्यका समर्थक ८० प्रतिशत भन्दा बढी जनसंख्यालाई विश्वासमा नलिएर, उनीहरूलाई विपक्षमा राखेर आएको हो यो संविधान ! जनताले न गणतन्त्र मागेका थिए, न संघियता न धर्म निरपेक्षता , त्यो त नेपाल बाहिरकालागि ल्याइएका मूल्य र प्रणाली थिए I
*****
यी सबैको पछाडि प्रचण्ड र बाबुराम यो वा त्यो रूपमा लागेका थिए र छन् I प्रचण्ड र बाबुरामका पछाडि जो थिए र छन् -- सीके राउत, आङ्ग काजी, कुमार लिङ्देन, मोहम्मद लालबाबु राउत, पृथ्वी सुब्बा गुरुङ्ग, सुवास नेम्वाङ्ग वा अन्य जो कोहीका पछाडि तिनै थिए र छन् भन्ने स्पष्ट देखिन्छ I

*****
संविधान सभाको पहिलो चुनावमा त विप्लव - वैद्य पक्षपनि थियो ! दोस्रो संविधान सभा र वर्तमान संसद्को चुनाव उनीहरूले पनि त्यसरी नै वहिष्कार गरे जसरी २०५१को चुनावलाई प्रचण्ड -बाबुरामले वहिष्कार गरेका थिए I २०४७ सालको संविधानलाई प्रचण्डले अस्वीकार गरे जस्तै २०७२ को संविधानलाई विप्लवले वहिष्कार गरिरहेका छन् ! तर विप्लव र वैद्यहरू प्रचण्ड र बाबुराम जस्तै नेपाल विरुद्धको अन्तर्राष्ट्रिय षड्यन्त्रको अङ्ग भैसकेका छन् -छैनन् ? अहिले सम्म प्रष्ट भएको छैन I

*****
एउटा कुरा भन्नै पर्दछ - रूपमा २०७२ सालको संविधान बढी प्रजातान्त्रिक हो तर सारमा २०४७ सालको संविधान नै बढी प्रजातान्त्रिक थियो !
मुलुकको वस्तुगत यथार्थतालाई आत्मसात गरेर आन्तरिक शक्ति सन्तुलनलाई कायम राखेर जनतासँगै अघि बढ्ने लक्ष २०४७ सालको संविधानले बोकेको थियो I

हो राजदरवार र सेनाले इमान्दारीपूर्वक सहयोग गरेको भए त्यो संविधान विरुद्धका मुलुक भित्र र बाहिरका शक्तिहरू त्यसरी २०४७को संविधानलाई च्यातेर फाल्न सक्ने अवस्थामा आउने थिएनन् I दरवारको नाऊमा मुलुकको प्रजातान्त्रिक रुपान्तरणमा सहयोग नगर्ने र माओवादी हिंसालाई काङ्ग्रेसको कुशासनको परिणाम भनेर सो हिंसाको पक्ष पोषणगर्ने सेनाले अन्तत राजदरवारको सुरक्षालाई समेत आफ्नो दायित्व स्वीकार गरेन ! राजसँस्थाको रक्षालाई आफ्नो संगठनको कार्यक्षेत्र भित्रको दायित्व भनेर ग्रहणनै गरेन ! 
*****
अतीतमा राष्ट्रको एकिकरणको अंग बनेको, राष्ट्रको स्वाभिमान, एकता र चेतनाको संरक्षक रहेकैले गरीव जनताले गाँस काटेर पालेको सेनाले वर्तमानमा आएर न राजाको रक्षाको जिम्मा लियो, न जनताको न राज्य अंग र आफ्नै ब्यारेक र हतियारको !

नेपाली जनताले पाल्ने तर नेपाल राष्ट्र र नेपाली जनताको भन्दा लेबनान , कङ्गो , हाइटी र अन्य विदेशी मुलुकको सुरक्षाकोलागि मात्रै अस्तित्वमा रहेको अनुभव गराउने सेनाले मुलुकको शान्ति स्थापनालाई आफ्नो कर्तव्य भनेर बुझ्नै मानेन !
***** 
२०७२ सालको संविधानले देश र जनतालाई पछि छोडेर कुनै मुलुक भित्र र बाहिरका स्वार्थ समूहको निर्देशन अनुरूप तयार भएकैले यति थोरै समयमा नै यो संविधान स्वामित्वविहीन बन्दै गएको देखिन्छ I संविधानले पनि राष्ट्र र जनतालाई आफ्नो स्वामित्व दिन नसकेको देखिन्छ I 
त्यसैले यो संविधान अन्तर्गत मुलुकको एकता, अखण्डता र स्थिरतामाथि सङ्कट माथि सङ्कट थपिदै गइरहेको बुझिन्छ I

*****
संविधानले र त्यसले निर्माण गरेको राज्य संरचना र शासकीयस्वरूप अन्तर्गत मुलुकको एकता, अखण्डता र स्थिरतामाथि सङ्कट बाक्लिदैं गइरहेको अवस्थामा भोलीका दिनमा मुलुकको एकता, अखण्डता र स्थिरताको नारा बोकेर सडकमा विप्लव आए पनि अन्य जो कोही आए पनि जनता सडकमा उनीहरूलाई साथ दिन जनता तयार बन्दै आएका बुझ्न सकिन्छ I मुलुकलाई वारेशविहीन बनाइएको अवस्थामा जनताले कसैलाई परहेज गर्दैनन् ! विप्लवलाई पनि काँधमा बोक्छन् ! 
***** 
हिजो प्रचण्डले ठिक भनेर हिँडेकोबाटो आज विप्लव वा अन्य कसैले ठिक भनेर हिड्न सक्दछन् I हिजो मुलुकमा हिंसा र भयानक मारकाट मच्चाउँदा -मच्चाउँदैका प्रचण्ड र बाबुरामसँग लुकीछिपी वार्ता गर्ने काङ्ग्रेसले आज खासै हिँसा र मारकाटमा नउत्रिएका विप्लवको दलसँग मुलुकको शान्तिपूर्ण राजनीतिक निकासकोलागि वार्ता गर्न हुन्छ र गर्नु पर्दछ I

*****
जव सङ्कट जटील बन्न पुग्दछ - प्रहरी सत्तारूढ राजनीतिक दलको सुरक्षा अङ्ग बन्न पुग्दछ र सेना वाह्य अवशर र व्यापारिक हितहरूको बन्दी बनेर मुलुकको समस्या समाधानमा उदासीन बन्न पुग्ने विगतको अभ्यास दोहोरिदैन भनेर आश्वस्त हुन सकिन्न !

*****

सरकारलाई त्यसकोलागि दवाव दिनु पर्दछ ! प्रचण्ड र बाबुरामहरूको संरक्षणमा शक्ति आर्जन गरेरआएका र रहेका सीके राउत, मोहम्मद लाल बाबु राउत र आङ्गकाजीहरूको विरुद्धको राष्ट्रिय मोर्चामा विप्लव र वैद्यलाई काङ्ग्रेसले जोड्नु पर्दछ ! (नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशबप्रसाद भट्टराईको फेसबुकमा प्रकाशित सामयिक राजनीतिक विश्लेषण ।)

ताजा खबर