चीनले कृत्रिम सूर्य बनाउँदै, १० करोड डिग्रीको तापक्रममा काम गर्न सक्ने

२०७५ कार्तिक २८ बुधबार ०९:४६:०० मा प्रकाशित

बेइजिङ,२८ कात्तिक ।
विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रान्ति हासिल गर्ने होडमा चीनले केही समय अगाडि मात्र आफ्नै ‘कृत्रिम चन्द्रमा’ लन्च गर्ने बताएको थियो । त्यसैगरी सोमबार भने चिनियाँ एकेडेमी अफ साइन्सेजसँग सम्बद्ध इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सले,‘इस्ट’ नामक ‘कृत्रिम सूर्य’ निर्माणमा भइरहेको प्रगतिबारे जानकारी दिएको छ ।

चिनियाँ वैज्ञानिकहरुले स्वतन्त्र रुपमा आफैँले डिजाइन गरेको यस कृत्रिम सूर्य अर्थात न्युक्लियर रियाक्टरमा १० करोड डिग्रीसम्मको तापक्रममा काम गर्न सक्ने क्षमता विकास गरिएको चिनियाँ राष्ट्रिय संचार सिजिटिएनले जनाएको छ । जसपछि यस उपकरणमा पनि सूर्य जस्तै (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने बताइएको छ । तरपनि यो सूर्य कुनै शहरलाई प्रकाश दिनका लागि नभएर सफा ऊर्जा उत्पादन गर्नमा मद्दत गर्ने बताइएको हो । 

वास्तवमा यसले चीन, रुस, अमेरिका लगायत ३५ देशहरुको संयुक्त ग्लोबल रिसर्च कार्यक्रम ‘इन्टरनेस्नल थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रियाक्टर’ मा ठूलो सहायता पुर्याउने अपेक्षा गरिएको छ । न्युक्लियर फ्युजनबाट ऊर्जा संकलन गर्नकै लागि रियाक्सनलाई स्थिर राख्ने प्रयास  अन्र्तगत वैज्ञानिकहरुले लामो समयदेखि इस्टको तापमानमा काम गरिरहेका थिए ।

हाल विद्युत्तको बढ्दो मागसँगै वातावरणमा परिरहेको लगातार असरका कारण विज्ञहरु ऊर्जा उपभोगबारे ठूलो द्विविधामा छन् । यसैबीच चीन भने लगातार फ्युजन परियोजनामा काम गरिरहेको थियो जसले वायुमण्डललाई हानि पुर्याउने किसिमका कुनैपनि ग्यास उत्पादन नगरि स्वच्छ ऊर्जा निकाल्न सक्छ ।

इस्टका उपनिर्देशक सङ युनताआले बताए अनुसार यो उपकरण नियन्त्रण गर्न सहज छ र कुनैपनि समय पावर सप्लाइ बन्द गर्दा यन्त्रले पूर्ण रुपमा काम गर्न बन्द गर्ने हुँदा परमाणु विस्फोटन वा अन्य भयानक दुर्घटना हुने खतरा हुँदैन ।

तर यसका धेरै फाइदा भएपनि प्राविधिक आवश्यकता पूरा गर्न अत्यन्तै कठिन हुने गरेको पाइएको छ । जस्तै सयौँ करोड डिग्रीसम्मको तापक्रममा लामो समयसम्म काम गर्नुपर्ने हुन्छ । यस्तोमा चीनले उपकरणको ताममान क्षमता १० करोड डिग्री पुर्याइ केही हदसम्म पहिलो चुनौति पार गरेको बताइएको हो ।

ताजा खबर