नेवानिले सहकार्यमा ध्यान दिने कि ?

२०७५ कार्तिक २६ सोमबार १२:५९:०० मा प्रकाशित

काठमाडौं । दुईवटा वाइडवडी जहाज भित्र्याएर गन्तव्य बढाउने उद्घोष गरेको नेपाल वायुसेवा निगम (नेवानि) ले हालसम्म कुनै गन्तव्य बढाउन सकेको छैन । 

काठमाडौंबाट सिधै अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया लगायत टाढाको दूरीको यात्रा गराउने घोषणा अनुरुप पूर्व तयारी नगरिएपछि नेवानिको वाइडवडी जहाजहरु हाल दिल्ली, बैंकक र दोहाको यात्रा गर्दै इन्जीनको आयु छोट्याउने काममा उपयोग भइरहेको छ । त्यस्तै न्यारोवडी जहाज र एकमात्र बोइङ अहिले खासै उपयोगमा आउन सकेको देखिँदैन । 

पूर्व घोषित स्थानहरुमा सम्बन्धित देशहरुबाट उडान स्वीकृती नपाएको तथा उडान स्वीकृती पाएको स्थानमा एयरपोर्टको ‘टाइम स्लट’ नपाएको निहुँमा संचय कोष र नागरिक लगानी कोषसँगको ऋणको बढ्दो ब्याजलाई बेवास्ता गर्दै ढुक्कसँग बस्ने छुट नेवानि व्यवस्थापनलाई छैन ।  

उडान भर्न चाहेको गन्तव्यमा स्वीकृती पाउन समय लागेपनि निगमसँग अहिले उपलब्ध गन्तव्यहरुबाट पनि प्रशस्त मुनाफा आर्जन गर्ने अवस्था छ । यस्ता विकल्पहरुसँग निगम व्यवस्थापन जानकार रहेको अहिलेसम्म पुष्टी हुन सकेको छैन । 

कोड शेयर अनि उडान संख्या एक विकल्प

वाइडवडी जहाज आएसँगै नेवानिसँग कुल ५ वटा जहाज छन् । यस्तो अवस्थामा ती जहाजहरुको सक्दो उपयोग गर्नको लागि नेवानिले अन्य एयरलायन्ससँग कोड शेयर गर्ने र हाल उडान भरिरहकै गन्तव्यमा उडान संख्या थप्ने विकल्प देखिन्छ । 

नेपाल सरकारले हालै थाइल्याण्डसँग गरेको हवाइ सेवा सम्झौता अनुसार नेपाल र थाइल्याण्डको एयरलायन्सले सातामा २८ वटासम्म उडान भर्न पाउने भएका छन् । विगतमा सातामा १० उडान रहेकोमा नेपालले सातामा ३ उडान भर्ने गरेको थियो भने थाइल्याण्डको २ एयरलायन्सले सातामा १० उडान भर्दै आएका थिए । 

यस्तोमा नेवानिले थाइल्याण्डको बैंकक एयरवेज र इथियोपियाको इथियोपिएन एयरलायन्ससँग सहकार्य गर्न सकेमा नेवानिको जहाजले थप यात्रु पाउने सम्भावना देखिन्छ । यस्तो हुन सकेमा नेपाली यात्रुहरुलाई यी एयरलायन्स जाने गन्तव्यहरुमा पुग्न थप सहज हुने छ ।

बैंकक एयरवेजले म्यानमार, माल्दिभ्स, लाओस, चीनको ग्वाङझाउ र सेङदु, कम्बोडियाको न्होमपेन र सिम रिप जस्ता शहरहरुमा उडान भर्दै आएको छ । यी देशहरुमा नेपालीलाई यात्रा गर्न हाल बैंककसम्मको छुट्टै टिकट लिइ थाइल्याण्डको ट्रान्जिट भिषा लिएर यात्रा गर्नु परिरहेको छ । एयरलायन्सवीच कोड शेयर तथा सहकार्य नभएकोले पनि नेवानिको यात्रुलाई अन्य एयरलायन्सले ट्रान्जिट भिषा नलिइ उड्न दिने गरेका छैनन् ।
यस्तोमा नेवानिले बैंकक एयरवेजसँग सहकार्य गर्दै कोड शेयर गर्न सके यी क्षेत्रहरुमा जान यात्रुलाई ट्रान्जिट भिषाको आवश्यकता नपर्ने तथा मूल्य पनि सस्तो पर्न जान्छ । यसले नेवानिको बैंककसम्म जाने यात्रुको संख्या उल्लेख्य रुपमा बढ्ने सम्भावना छ । बैंकक एयरवेजले हाल जेट एयरवेज, इत्तिहाद एयरवेज, कतार एयरवेज, टर्किस एयरवेज लगायतसँग सहकार्य गरिरहेको छ । यस्तोमा नेवानिसँग सहकार्य गर्न बैंकक एयरवेजलाई समस्या नहुने बुझ्न सकिन्छ । 

त्यस्तैगरी इथियोपियन एयरलायन्सले हाल अफ्रिकाको विभिन्न शहरहरुको आन्तरिक र बाह्य गरि १२५ स्थानमा उडान भर्दै आएको छ । ती गन्तव्यहरुबाट विभिन्न २९ एयरलायन्सहरुसँग कोड शेयरको माध्यमबाट सहकार्य गर्दै यात्रुहरुलाई सुविधा दिइरहेको छ । 

यसरी तिब्र रुपमा हवाइ बजारमा अघि बढिरहेको इथियोपियन एयरलायन्ससँग सहकार्य गर्न नेपाललाई झनै सजिलो रहेको छ । अघिल्लो हप्ता नेपालका लागि इथियोपियाका राजदुत आस्फ डिंगामो कामेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँग भेटेर नेपाल एयरलायन्स र इथियोपियन एयरलायन्सवीच रणनैतिक साझेदारी गर्न आधिकारीक रुपमै प्रस्ताव राखेका थिए ।  

राजदुत डिंगामोले विस्तृत प्रस्ताव छिट्टै पेश गरिने बताउँदै सहकार्यको लागि पहिला नेपाल र इथियोपियावीच हवाइ सेवा सम्झौता हुनुपर्ने बताएका थिए ।

इथियोपियन एयरलायन्स यात्रु सेवामा अब्बल रहेकोले पनि नेवानिले यसको फाइदा लिन सक्छ । विशेषगरी बैंकक, दिल्ली, दोहा र क्वालालम्पुरको बाटो हुँदै अफ्रिकाको विभिन्न देशसम्म जानको लागि नेवानि र इथियोपियनको संयुक्त टिकटलिँदा यात्रुलाई सहज हुने तथा यी क्षेत्रसम्म जाने यात्रु बढ्ने निश्चित छ । 

यसरी नै इमिरेट्स एयरलायन्ससँग पनि सहकार्य गर्न सकेमा नेपाली यात्रुलाई अमेरिकासम्मको यात्राको लागि नेवानिकै टिकट पर्याप्त हुनसक्छ । इमिरेट्सले हाल सातामा विश्वका विभिन्न ८१ देशमा ३६०० उडान भर्ने गरेको छ । इमिरेट्स नेपालमा भने आउने गरेको छैन । इमिरेट्समा यात्रा गर्न चाहने नेपालबाट यात्रा गर्ने यात्रुले अहिले दुबई शहरसम्म फ्लाई दुबईबाट यात्रा गर्नु परिरहेको छ ।  

यसरी विभिन्न एयरलायन्ससँग कोड शेयर सहितको सहकार्य गर्दा नेवानिले दुबई, दिल्ली, मुम्बई, बैंकक, दोहा जस्ता अहिले पाइरहेको गन्तव्यमा उडान संख्या थप गर्दै यात्रु संख्या बढाउन सक्छ । कम्तीमा १६ घण्टा उडाउँदा मात्र सोचे जस्तो नाफामा जाने वाइडवडी जहाजहरु अहिले ५–६ घण्टा मात्र उडान भरिरहेको अवस्थामा कोड शेयरको विकल्पले जहाजको उडान अवधि बढाउन उपयुक्त विकल्प हुनसक्छ । 

यस्ता विकल्पहरुमा पनि ध्यान दिंदै नयाँ गन्तव्यमा उडान अनुमतिको लागि विशेष पहल कायम गर्दै जाँदा नेवानिको लागि थप जहाज खरिद गर्नु उपयुक्त देखिन्छ । अन्यथा जहाज मात्र थपेर नेवानिलाई ऋणको भार बोकाउने कदम स्थायी हुने देखिँदैन । 

ताजा खबर