एक दशकपछि नहर मर्मत

२०७५ कार्तिक २६ सोमबार १०:०४:०० मा प्रकाशित

पाल्पा,२६ कात्तिक ।  एक दशकसम्म बन्द रहेको नहर बल्ल मर्मत गर्न थालिएको छ । तनहुँको घिरिङ गाउँपालिकास्थित अत्रौली पुट्टार सिँचाइ आयोजनाको नहर एक दशक अघि पहिरोले भत्काएको थियो । नहर भत्केपछि यहाँका बासिन्दा खेतमा सिँचाइ गर्नबाट वञ्चित हुँदै आएकामा अहिले नहर निर्माण अन्तिम चरणमा पुगेपछि खुशी भएका छन् ।

‘खेतीयोग्य जमीन सबै बाँझो भइसकेको थियो’, स्थानीयवासी उमा भट्टराईले भने्,‘ नहर बनेपछि जमीन पहिलाको जस्तै हराभरा बनाउँछौँ।’ नहरको अवस्था हेर्दा स्थानीयवासीले पहिलाको जस्तै खेत सिँचाइ गर्न पाइएला भनेर कल्पनासमेत गरेका थिएनन् ।  अत्रौली पुट्टार जल उपभोक्ता समितिको पहलमा नहर मर्मत कार्य थालिएको हो । पुट्टारफाँट तनहुँ जिल्लाको अन्नको भण्डार मानिन्छ । यहाँका खेतमा अन्नबाली र तरकारी उत्पादन गरी बासिन्दाले पर्याप्त आम्दानी गर्दै आएकामा जगैदेखि नहर भत्केपछि उनीहरूले धान लगाउने खेतमा मास र बोडी लगाउने गरेका थिए ।

धान बालीका लागि अत्यन्तै उर्बरशीलभूमि रहेको यस पुट्टारफाँटमा नहरमा पानी आउँदासम्म प्रशस्त धान फल्ने गरेकाले स्थानीयवासी यसकै भरमा जीविका लाउँदै आएकोे कृषक भट्टराईले बताए । ‘ नहरको जगबाटै पहिरो गएपछि सबै जमीन बाँझै रह्यो’ उनले भने,‘अहिले नहर मर्मत धमाधम भइरहेको छ, अब बाँझो भएका जमीन सदुपयोग हुने भएपछि निकै खुशी लागेको छ ।’
वैदेशिक रोजगारमा रहेका सोही ठाउँकै टीका सिग्देलले अहिले नहर मर्मत भई पानी आउने आशाले गाउँमै बसेर कृषि व्यवसाय शुरु गर्न थालेका छन् । दश वर्ष वैदेशिक रोजगारमा रहेका उनी   छुट्टिको समयमा घर आएको बखत नहर मर्मतको काम भइरहेको देखेपछि अन्ततःवैदेशिक रोजगारी छाडेर कृषि व्यवसाय शुरु गर्न लागेका हुन् ।

विसं २०५१ देखि यहाँ नहर सञ्चालनमा आएको थियो । नहरमा प्रशस्त पानी आउँदा पुट्टारफाँटका खेत बाह्रै महीना हरियाली हुने गरेको स्थानीयवासी कमलप्रसाद अधिकारी बताए । ‘नहरमा पानी आएपछि पहिले यहाँका कृषकले खेती लगाएर नै जीविकापार्जन गर्थे, बीचमा नहर बन्द हुदा हरियाली बनेका खेत बाँझिए” अधिकारीले भने‘अहिले नहरको मुहानदेखि पुछारसम्मका सबैजसो भागमा मर्मत गरिएको छ ।’

भीमाद नगरपालिकाअन्तर्गत डुम्रीबेँसीदेखि झण्डै १८ किलोमिटर लम्बाइ रहेको सो नहरबाट यसअघि घिरिङ गाउँपालिकाका बैडी, अत्रौली, पुट्टार क्षेत्रको करीब छ हजार ६०० रोपनी जमीन सिञ्चित हुने गरेको थियो ।बैडी र अत्रौली क्षेत्रमा सानो मात्रामा पानी आए पनि पुट्टार क्षेत्रमा सिँचाइका लागि पानी नआएको दश वर्ष भयो । नहरबाट लाभान्वित ८६० घरधुरीमध्ये पुट्टारफाँट क्षेत्रका करीब तीन हजार ५०० रोपनी जमीनमा दश वर्षअघिदेखि नहर भत्किँदा यहाँका कृषक मारमा परेका थिए ।

जलस्रोत मन्त्रालय, सिँचाइ विभाग र अत्रौली पुट्टार जल उपभोक्ता समिति तनहुँबीच २०७२ सालमा सम्झौता भइ सिएम आइए एसपी एफको आर्थिक सहयोगमा विसं २०७२ माघदेखि रायमाझी कन्टक्सन प्रालिले नहर मर्मतको काम थालेको सो आयोजनाका अध्यक्ष रामजी अर्यालले बताए । नहरको काम करीब ६५ प्रतिशत सम्पन्न भइसकेको छ । विसं. २०७६ जेठ २० भित्रमा आयोजनाको काम सम्पन्न गर्ने अन्तिम समय रहेको उनको भनाइ छ । बाह्र वटा शाखा रहेको सो नहर रु १३ करोडको लागतमा मर्मत हुन लागेको हो ।  (रासस)

ताजा खबर